s

विदेशबाट फर्केर कृषि सहकारीमा

सुजित महत

जापानमा कृषि सहकारीको विकास हेरेपछि मीनबहादुर श्रेष्ठको अगुवाइमा  सिन्धुलीको ढु्ंग्रेबासमा सहकारीमार्फत सुरु भएको कृषि फार्म हेर्नलायक छ । फार्ममा कुखुरा, बंगुर र माछापालनका साथै थरीथरीका तरकारी खेती गरिएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य श्रेष्ठ गत वर्षको डिसेम्बरमा जापान पुगेका थिए । र्फकने बित्तिकै उनले कृषि फार्मको तयारी सुरु गरे । पुँजी र सीप एकीकृत गर्न सकिने भएकाले सहकारीलाई माध्यम बनाइयो । सिन्धुली बजारका २५ जनाले २/२ लाख रुपैयाँ लगानी गर्ने गरी कृषि फार्म सुरु गरिएको हो । श्रेष्ठको अध्यक्षतामा स्थापित  सिद्धिविनायक सहकारी संस्थाले ढुंग्रेबासमा १८ बिघा जग्गा भाडामा लिएर फागुनदेखि  बहुउद्देश्ययीय कृषि फार्म सुरु गरिहाल्यो । फार्ममा अहिलेसम्म ४० लाख रुपैयाँ लगानी भएको छ । 'जापानमा सहकारीबाट व्यावसायिक कृषि देखेपछि यहाँ पनि सुरु गर्न सकसक लाग्यो,' श्रेष्ठ भन्छन् ।

कृषि फार्ममा अहिले एकचोटिमा ५ हजार कुखुरा पाल्न सकिने खोर बनाइएको छ । यस्तै १ सय बंगुर पालन गरिएको छ । पोखरी खनेर माछा पालिएको छ । कुखुरा र बंगुरको बजार काठमाडौं भए पनि बीपी राजमार्गको कारण ढुवानीमा समस्या छैन । माछा र तरकारी त स्थानीय बजारमै खपत हुन्छ । आलु, लसुन र थरीथरीका  बेमौसमी तरकारी खेती गरिएको फार्ममा अझ उच्च मूल्यका तरकारी खेती गर्ने योजना छ ।

सहकारीलाई जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले प्राविधिक सहयोग उपलब्ध गराइरहेको छ । जापानमा ठूल्ठूला सहकारीको माध्यमले कृषिको व्यवसायीकरण भएको जाइका स्वयंसेवक खाजुनोरी गोतो बताउँछन् ।  'यहाँ ठूलो स्तरका सहकारी त सुरु भएका छैनन् तर सानै भए पनि सहकारीको पनि सुरुवात उत्साहजनक छ,' उनी भन्छन् ।

जुनार सहकारी केन्द्रीय संघ सरकार, सहकारी र निजी क्षेत्रको साझेदारीमा ढुंग्रेबासमा १० करोड रुपैयाँको लगानीमा जुनारको प्रशोधन केन्द्र स्थापना गर्ने तयारीमा छ । सरकारले १० लाख रुपैयाँ अनुदान दिएको केन्द्रमा बाँकी लगानी स्थानीय सहकारी र कृषकका साथै उद्योग वाणिज्य महासंघले लगानी गर्न थालेका छन् । संघका अध्यक्ष दीपक कोइरालाका अनुसार आउँदो जुनारको मौसमदेखि सञ्चालन गर्ने लक्ष्य राखिएको उद्योगको वाषिर्क ५ हजार टन जुनार प्रशोधन क्षमता हुने छ । सिन्धुलीमा वाषिर्क ८ हजार टन जुस उत्पादन हुन्छ । यहाँको जुनारको भारतीय बजारमा पनि माग छ । 'म्यानुअल मेसिनबाट उत्पादित जुसको बजार विस्तार हुन नसकेकाले अत्याधुनिक उपकरणबाट प्रशोधित जुस उत्पादन गर्न लागिएको हो,' उनी थप्छन्, 'यसले जुनारको मूल्य अभिवृद्धि गरी सिन्धुलीमा थप पैसा भित्र्याउने छ ।' स्थानीय जुनारको माग अन्तर्राष्ट्रिय बजारमा बढिरहेकाले संघले गुणस्तरीय जुनार उत्पादनमा पनि सिन्धुली र रामेछापका चार गाविसमा गुणस्तरीय जुनारको परीक्षण उत्पादन भइरहेको छ । जाइकाले बीपी राजमार्गसँगै बजारमा पहुँच पुगेको सिन्धुलीमा व्यावसायिक कृषिका लागि प्राविधिक सहयोग उपलब्ध गराइरहेको छ । 

काभ्रेको देवीटारका किसान धर्मबहादुर तामाङ वैदेशिक रोजगारीका लागि खाडी पुगे । तर अहिले सहकारीकै कारण पुनः पसिना बगाउन विदेश जान पर्ने अवस्था नरहेको बताउँछन् । आफ्नो २२ रोपनी जग्गाबाट उनी अहिले वाषिर्क १ लाख ५० हजार रुपैयाँ मुनाफा गरिरहेका छन् । 'मेहनत गरे खाडीको भन्दा बढी कमाइ यहीँ हुने रहेछ,' उनको अनुभव छ । देवीटारमा जाइकाको सहयोगमा लवगि्रन जापन र लवगि्रन नेपालअन्तर्गत किसान जैविक खेती र जैविक पशुपालनमा आबद्ध छन् । लवगि्रनले सहकारी संस्थामार्फत व्यावसायिक खेतीका साथै बजार प्रवर्द्धनमा पनि किसानलाई सघाइरहेको छ । यसबाहेक स्वास्थ्य, सरसफाइ, वातावरण संरक्षणमा पनि स्थानीय सक्रिय छन् । घरघरमा गोबरग्यास प्लान्ट र शौचालय बनाउने लहर सुरु भएको छ ।

सहकारी विभागका वरिष्ठ कृषि अर्थविद् विष्णु घिमिरे कृषि सहकारीले राम्रो नतिजा हासिल गरिरहेको बताउँछन् । ग्रामीण भेगका र अझ महिलाले सञ्चालन गरेका सहकारीले गाउँमा परिवर्तन ल्याएको उनले बताए ।

Published on: 28 December 2012 | Kantipur

Back to list

;