s

विदेशबाट फर्केका कामदारको रेकर्ड राखिने

मुना कुँवर

वैदेशिक रोजगारीबाट फर्केका कामदारकोे पनि सरकारले रेकर्ड राख्ने भएको छ । वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिले विदेशमा कमाएको पुँजी, सीप, प्रविधिलाई स्वदेशमा उपयोग गर्न सरकारले ‘वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिका लागि पुनः एकीकरण कार्यक्रम निर्देशिका २०७९’ जारी गरेको छ ।

वैदेशिक रोजगार बोर्डको सचिवालयले प्रस्ताव गरेको पुनः एकीकरण कार्यक्रम कार्यविधिलाई मन्त्रिपरिषद्को बैठकले परिमार्जन गरी पारित गरेको बोर्डका प्रमुख कार्यकारी राजन श्रेष्ठले जानकारी दिए । निर्देशिका कार्यान्वयनमा चुनौती भए पनि कामदारलाई बाध्यकारी श्रमबाट जोगाउन यस्तो कार्यक्रम आवश्यक भएको उनको भनाइ छ ।

वैदेशिक रोजगारीबाट फर्किएको मुलुक, कामको प्रकृति, आर्जन गरेको ज्ञान, सीप, अनुभव, देशभित्र रोजगारी वा स्वरोजगारी गर्ने सम्बन्धमा व्यक्तिको इच्छा, आवश्यकता, प्राथमिकता, योजनालगायतका विवरणको रेकर्ड राखिनेछ । यसका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र अन्य आगमन बिन्दुमा वैदेशिक रोजगार बोर्डको सचिवालयले विवरण संकलनको सहायक कक्ष राख्नेछ । संंकलन गरेको कामदारको विवरण राष्ट्रिय, प्रादेशिक र स्थानीय आप्रवासी प्रोफाइल तयार पारी अद्यावधिक गरिनेछ । तर, सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालका अध्यक्ष हरिबहादुर थापाले भने सरकारले सम्बन्धित निकायसँग छलफल नै नगरी निर्देशिका जारी गरेको बताए । निर्देशिकामा पुनः एकीकरणका धेरै आयाम छुटेको गुनासो गरे ।

सहुलियत ब्याजदरमा उद्यमी कर्जा

वैदेशिक रोजगारीबाट फर्केका कामदारलाई उद्यमी बनाउन वैदेशिक रोजगार बोर्डको सचिवालयले सहुलियत ब्याजदरमा उद्यमी कर्जा दिने भएको छ । बोर्डका प्रमुख कार्यकारी राजन श्रेष्ठका अनुसार सहुलियत कर्जाका लागि नेपाल राष्ट्र बैंकसँग सहकार्य गरिनेछ ।

निर्देशिकाअनुसार उद्यमशीलता प्रवद्र्धन हुने कार्यक्रम सञ्चालन गर्दा प्रदेश सरकार र स्थानीय तहसँग समन्वय गरिनेछ । ज्ञान र सीपमा आधारित व्यवसाय स्थापना र सञ्चालनका लागि वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिलाई अनुदान र सहुलितय ब्याजदरमा उद्यमी कर्जा प्रवाहका लागि समन्वय गरिनेछ । साथै, त्यस्ता व्यक्तिले उत्पादन गरेका वस्तु वा सेवालाई प्रदर्शनी वा बिक्री–वितरणका लागि औद्योगिक मेला, विशेष आर्थिक क्षेत्र, औद्योगिक वा औद्योगिक ग्राममा प्राथमिकता प्रदान गरिने भएको छ ।

त्यस्तै, सामाजिकीकरण कार्यक्रम सञ्चालन गर्दा वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिलाई समाजमा अन्तर्घुलन गराउन परिवारका सदस्यसमेतको सहभागितामा गराइनेछ । पारिवारिक तथा सामाजिक मेलमिलाप, मनोसामाजिक परामर्श, नेतृत्व विकास, सामाजिक सञ्जाल निर्माण तथा स्वयंसेवक परिचालनजस्ता कार्यक्रम सञ्चालन गरिने निर्देशिकामा उल्लेख छ ।

विदेशी मुलुक वा संस्थाले पनि कार्यक्रम सञ्चालन गर्न सक्ने

वैदेशिक रोजगारीबाट फर्केका नेपाली कामदारका लागि विदेशी मुलुक वा संस्थाले पनि पुनः एकीकरणको कार्यक्रम सञ्चालन गर्न सम्भावना रहेको छ । सरकारले जारी गरेको निर्देशिकाअनुसार द्विपक्षीय श्रम सम्झौता भएका मुलुक वा कूटनीतिक सम्बन्ध स्थापना भएका मुलुक, संयुक्त राष्ट्रसंघीय निकाय, विकासका साझेदार वा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले कार्यक्रम सञ्चालन गर्न सक्नेछन् । कार्यक्रम सञ्चालन गर्न चाहने मुलुक, निकाय वा संस्थाले सरकासँग सम्झौता गर्नुपर्नेछ । यस्ता संस्थाले सम्झौताको अधीनमा रही कार्यक्रम सञ्चालन गर्नुपर्नेछ ।

त्यस्तै, कार्यक्रम सञ्चालनका लागि यस्ता संस्थाले कार्यक्रमको विस्तृत विवरण खुलाई मन्त्रालयमा प्रस्ताव पेस गर्नुपर्नेछ । नेपाली कामदारका लागि उपयोगी लागेमा मन्त्रालयले प्रस्ताव स्वीकृति गर्न सक्नेछ । यसैगरी, कुनै राष्ट्रिय गैरसरकारी संस्थाले समेत कार्यक्रम सञ्चालन गर्न सक्नेछन् । तर, यस्ता संस्थाले पनि सरकारबाट अनुमति लिनुपर्नेछ ।

यसका अतिरिक्त नेपाल सरकारका निकाय, प्रदेश सरकार वा स्थानीय तहले पनि कार्यक्रम सञ्चालन गर्न सक्नेछन् । आफ्नो स्रोतको उपयोग गरी वैदेशिक रोजगार बोर्डको सचिवालयसँगको समन्वयमा आफ्नो कार्यक्षेत्रभित्र कार्यक्रम सञ्चालन गर्न सक्नेछन् । कार्यक्रम सञ्चालन गर्ने मुलुक, निकाय वा संस्थाले आफूले सञ्चालन गरेको कार्यक्रमको प्रगति प्रतिवेदन सचिवालयले तोकेको समयभित्र सचिवालयमा पेस गर्नुपर्नेछ ।

वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिले पुनः एकीकरण कार्यक्रममा सहभागी हुनका लागि लाभग्राहीमा सूचीकृत हुनुपर्नेछ । निर्देशिकाअनुसार लाभग्राही सूचीकृत नभएका व्यक्तिलाई कार्यक्रममा सहभागी गराइनेछैन । लाभग्राहीमा सूचीकृत हुन चाहने वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिले रोजगार सेवा केन्द्रसमक्ष निवेदन दिनुपर्नेछ । केन्द्रमा आइपुगेको निवदेनको आवश्यक जाँचबुझ गरी रोजगार सूचना व्यवस्थापन प्रणालीमा प्रविष्टि गरिनेछ ।

Published on: 18 July 2022 | Naya Patrika

Link

Back to list

;