s

विदेशबाट फर्केका १०७ ले पाए सहुलियत ऋण

आवेदक १८ हजार ७ सय ६७ युवामध्ये सबैभन्दा धेरै ६ हजार ४ सय १७ जना मलेसियाबाट फर्केका छन्

काठमाडौँ — विदेशबाट फर्केकामध्ये एक सय ७ जनाले मात्र सहुलियत दरको युवा परियोजना कर्जा पाएका छन् । यो गत मंसिरसम्मको तथ्यांक हो । कात्तिकसम्म ८७ जनाले यस्तो कस्तो पाएका थिए । ऋण प्राप्तिका लागि परेको आवेदनको तुलनामा प्रवाह भएको रकम निकै कम हो ।

रोजगारीका लागि बिदेसिएका नेपालीलाई स्वदेशमै उद्यममा लगाउने उद्देश्यले सरकारले विदेशबाट फर्केका युवा परियोजना ऋण कार्यक्रम ल्याए पनि अपेक्षित ऋण प्रवाह हुन सकेको छैन । यो कर्जामा ऋणीले सरकारका तर्फबाट ५ प्रतिशत ब्याज अनुदान पाउँछन् । बैंकले पनि आधारदर (बेस रेट) मा अधिकम २ प्रतिशतभन्दा धेरै थप्न पाउँदैनन् । यसरी तय भएको ब्याजदरमा ऋणीले ५ प्रतिशत घटाएर मात्र तिर्नुपर्छ । गत मंसिरसम्म १ सय ७ जना युवाले यो शीर्षकमा ७० करोड ४३ लाख रुपैयाँ ऋण लिएका छन् । गत असारसम्म ४९ जना ऋणीले बैंक तथा वित्तीय संस्थाबाट ३ करोड २९ लाख रुपैयाँ ऋण लिएका थिए ।

विदेशबाट फर्केका युवा परियोजनालगायत सहुलियत ब्याजदरसम्बन्धी कार्यक्रम लागू भएपछि वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले आवेदन संकलन गरेको थियो । त्यति बेला १८ हजार ७ सय ६७ आवेदन प्राप्त भएका थिए । सहुलियत कर्जाका लागि ऋण लिन चाहनेमध्ये विदेशबाट फर्केका युवामध्ये प्रायःले कृषि तथा पशुपालनसम्बन्धी परियोजना पेस गरेका थिए । ‘परेका आवेदनमध्ये ७ हजार ६ सय ७५ जनाले कृषि तथा पशुपालन व्यवसायमा लगानी गर्न चाहेको देखिन्छ,’ बोर्डको तथ्यांक छ, ‘कुखुरापालन गर्न चाहनेको संख्या २ हजार ८ सय ९५, गाई, भैंसी, बंगुर र बाख्रापालन गर्न चाहने २ हजार ६ सय ३७, खेतीमा २ हजार २९ जना र माछापालनमा १ सय १४ जनाले काम गर्ने चाहेका छन् ।’

होटल व्यवसाय, यातायात, उद्योग र अन्य व्यवसायमा युवाले विभिन्न खाले परियोजना (प्रस्ताव) पेस गरेका छन् । कुल परेका आवदेनमा १७ हजार ८ सय ७४ जना पुरुष र ८ सय ९३ जना महिला छन् । आवेदन दिने युवामध्ये सबैभन्दा धेरै ६ हजार ४ सय १७ जना मलेसियाबाट फर्केका छन् । साउदी अरबबाट फर्केकाको संख्या ४ हजार ३ सय ९९ र कतारबाट ३ हजार ६ सय १६ जना छ । यूएई, कुवेत, ओमान, बहराइन, जोर्डन, जापान, दक्षिण कोरियालगायत देशमा श्रमको अनुभव बटुलेका युवाले स्वदेशमा काम गर्ने इच्छा देखाउँदै आवेदन दिएका छन् । उनीहरूले होटल व्यवसाय, यातायात, उद्योग र अन्य व्यवसायमा युवाले विभिन्न खाले परियोजना पेस गरेका छन् ।

आवदेनमा १७ हजार ८ सय ७४ जना पुरुष र ८ सय ९३ जना महिला छन् । यीमध्ये सबैभन्दा धेरै ६ हजार ४ सय १७ जना मलेसियाबाट फर्केका छन् । साउदी अरबबाट फर्केकाको संख्या ४ हजार ३ सय ९९ र कतारबाट ३ हजार ६ सय १६ जना रहेको विभागको तथ्यांक छ । यो शीर्षकमा हालसम्म प्रवाह भएको ऋण र संख्या हेर्दा निकै कम भएको राष्ट्र बैंकले पनि स्विकारेको छ । यही कारण राष्ट्र बैंकले कृषिबाहेकका सहुलियत ब्याजको कर्जा प्रवाह गर्न बैंक तथा वित्तीय संस्थालाई संख्या नै तोकेको छ । जसमध्ये ०७७ असारसम्म वाणिज्य बैंकले न्यूनतम ५ सय, विकास बैंकले न्यूनतम २ सय र वित्त कम्पनीले न्यूनतम १ सय वटा कर्जा प्रवाह गर्नुपर्नेछ ।

बिदेसिएका युवालाई स्वदेश फर्काएर उद्यमशीलतामा प्रोत्साहन गर्ने उद्देश्यले सरकारले सहुलियतपूर्ण कर्जा कार्यक्रम ल्याएको हो । कार्यक्रमअन्तर्गत विदेशबाट फर्केका युवाले १० लाख रुपैयाँसम्म ऋण पाउने व्यवस्था छ । यस्तो कर्जाका लागि कुनै पनि देशमा कम्तीमा छ महिना काम गरी नेपाल फर्केको हुनुपर्नेछ । यसअघि सम्बन्धित विषयमा तालिम वा सीप प्राप्त गरेको, विदेशबाट फर्केको तीन वर्ष ननाघेकोलगायत व्यवस्था थियो । कार्यविधिको दोस्रो संशोधनमार्फत ती व्यवस्था हटाइएर ऋण प्राप्ति प्रक्रिया सहज बनाइएको हो ।

कृषि तथा पशुपन्छी, शिक्षित युवा स्वरोजगार, विदेशबाट फर्केका युवा परियोजना, महिला उद्यमशील, दलित समुदाय व्यवसाय विकास, उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा र भूकम्पपीडितको निजी आवास निर्माण कर्जासहित सात प्रकारका कर्जाका लागि सरकारले ५ प्रतिशत ब्याज अनुदान दिँदै आएको छ । कृषि कर्जा पुरानै हो । व्यावसायिक कृषि तथा पशुपन्छी कर्जामा ब्याज अनुदान दिने कार्यक्रम ०७३ मै आएको हो । सरकारले उक्त कर्जालाई पनि एकै ठाउँमा समेटेर गत वर्ष सात वटा कर्जामा सहुलियत दिने एकीकृत कार्यक्रम बनाएको थियो । सोही कार्यक्रममा पछि २ वटा क्षेत्र ‘कपडा उद्योग र सीटीईभीटीबाट तालिम प्राप्त गरेका’ लाई थपेर नौ वटा पुर्‍याइएको हो ।

Published on: 29 January 2020 | Kantipur

Link

Back to list

;