s

विदेशबाट आउनेले पीसीआर परीक्षणसहित अनिवार्य होटल क्‍वारेन्टाइनमा बस्नुपर्ने

कान्तिपुर संवाददाता

काठमाडौँ — विदेशमा अलपत्र परेका कुनैपनि नेपाली नागरिकले पीसीआर परीक्षणसहित सात दिनसम्म होटल क्‍वारेन्टाइनमा बस्ने लिखित प्रतिबद्धता जनाएपछि मात्रै नेपाल आउन टिकट पाउने भएका छन् । 

उनीहरुले पीसीआर परीक्षण गरेपछि मात्रै नेपाल आउनका लागि टिकट खरिद गर्न पाउनेछन । यस्तै नेपालमा आएपछि अनिवार्य सात दिन सम्म होटल क्वारेन्टाइनमा बस्नुपर्ने र त्यसको खर्च आफैंले तिर्ने लिखित प्रतिबद्धता समेत टिकट खरिद गर्दाको अवस्थामै जनाउनु पर्नेछ । त्यसपछि मात्रै स्वदेश फर्किनका लागि अनुमति पाउनेछन् ।

यसअघि उद्धार गरी ल्याइएका केही व्यक्तिहरुले होटलमा बस्न दररेटमा बार्गेनिङ गरेकाले अबदेखि विदेशमा नै होटल र होम क्वारेन्टाइनमा बस्ने सम्मको लिखित प्रतिबद्धता गर्नुपर्ने व्यवस्था गरिएको काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए ।

जहाजको टिकट खर्च विदेशमा नै तिर्नुपर्ने र सात दिनसम्म होटलमा बसेको खर्च, घरसम्म पुग्दा लाग्ने खर्च र होम क्वारेन्टाइनमा बस्नुपर्ने विषयमा लिखित प्रतिबद्धता जनाउन नसक्नेहरु नेपाल आउन नपाउने दाहालले स्पष्ट पारे ।

काठमाडौं उपत्यकामा क्वारेन्टाइन र आइसोलेसन सेन्टरको प्रयाप्त व्यवस्था नहुँदा सरकारले गृह सचिवको संयोजकत्वमा एकीकृत क्वारेन्टाइन निर्माण व्यवस्थापन समिति निर्माण गरेको छ । त्यसमा पालिका, स्वास्थ्य मन्त्रालय र सहरी विकास मन्त्रालयका प्रतिनिधि र प्रमुख जिल्ला अधिकारीहरु रहेका छन् । 

समितिले होटल क्वारेन्टाइनहरुको स्थल पहिचान गर्ने, अनुगमन गर्ने, खर्चको व्यवस्थापनका लागि सिफारिस गर्ने लगायतका काम गर्ने प्रजिअ दाहालले बताए । काठमाडौं जिल्ला संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)ले काठमाडौं उपत्यकामा रहेका होटलहरुलाई क्वारेन्टाइन प्रयोजनार्थ प्रयोग गर्नका लागि होटलहरुको सूची र दररेट सार्वजनिक गरिसकेको छ । 

तरपनि उद्धार गरी ल्याइएका कतिपय नेपाली नागरिकहरुका लागि राख्ने क्वारेन्टाइन सेन्टरमा हुने खर्चको व्यवस्थापन वैदेशिक रोजगार कोष र कोरोना उपचार तथा रोकथाम कोषबाट हुने प्रजिअ दाहालले बताए । क्वारेन्टाइनहरुको सुरक्षा नेपाली सेनाले गर्ने छ भने व्यवस्थापनको काम स्थानीय सरकारले गर्नेछ । 

होटल व्यवासयीद्वारा तयारी सुरुः 

सरकारले विदेशबाट हवाईमार्ग हुँदै नेपाल आउने नागरिकलाई अनिवार्य होटल क्वारेन्टाइनमा राख्ने व्यवस्था गरेपछि होटल व्यवसायीहरुले तयारी सुरु गरेका छन् । होटल क्वारेन्टाइनमा बस्ने व्यक्तिको होटलमा पुग्नासाथ सम्पूर्ण विवरण राख्ने, ज्वरो नाप्ने, ह्याण्ड सेनिटाइज गर्ने, लगेज सेनिटाइज गर्ने, फारम भराउने र कोठामा जाने व्यवस्था मापदण्ड अनुसार गर्ने होटलहरुले बताएका छन् । 

एयरपोर्ट होटलका व्यवस्थापक रामकुमार बन्जराले नेपाल पर्यटन बोर्डले तोकेको मापदण्ड अनुसार नै व्यवस्थापन गर्न लागिएको बताए । स्वास्थ्य सुरक्षाको मापदण्डलाई पूर्ण रुपमा पालना गर्ने र गेष्टलाई समेत पालना गर्न लगाउने उनले बताए । त्यस्तै कुनै व्यक्तिले होटल छाडेपछि ४८ घण्टासम्म कोठा बन्द नै रहने छ । त्यसपछि उक्त कोठालाई पूर्णरुपमा निसंक्रमण गरेपछि मात्रै अर्को गेष्टलाई प्रवेश गराइने बन्जाराले बताए । 

होटलमा रहँदा कसैले पनि रुम सर्भिस भने पाउने छैनन् । खाजा र खाना होटलकै रेस्टुरेन्टबाट लिनुपर्ने व्यवस्था होटलहरुले गरेका छन् । रेस्टुरेन्टमा पनि भौतिक दूरीलाई कायम गरिएको बन्जाराले बताए ।

सरकारले पीसीआर परीक्षण सहज भएका देशहरुबाट शर्त सहित नियमित उडान गर्ने निर्णय गरेको छ । दैनिक ५ सय भन्दा बढी यात्रु नकटने गरी उडान सञ्चालन गर्न दिने निर्णय सरकारले गरेको थियो । यो प्रयोजनका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उडान तालिका बनाउने जिम्मेवारी पाएको छ । टिकट खरिदका लागि कुनैपनि यात्रुको ७२ घन्टाभित्र पीसीआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको हुनुपर्ने छ ।

Published on: 23 August 2020 | Kantipur

Link

Back to list

;