s

विदेशबाट आउनेको होटल खर्च प्रतिदिन २ हजारदेखि १० हजार रुपैयाँसम्म

होम कार्की 

काठमाडौँ — सरकारले वैदेशिक रोजगारीबाट नेपाल आउने कामदारको लागि होटल खर्चबापत प्रतिदिन २ हजार देखि १० हजार रुपैयाँसम्म लाग्ने जनाएको छ ।

कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्रले सोमबार खाडी तथा मलेसियास्थित नेपाली दूतावासलाई पत्र पठाउँदै यसबारे जानकारी दिइएको हो । अब होटल खर्च तिर्नसक्ने कामदारलाई मात्रै स्वदेश आउन पाउने भएका छन् ।

विदेशबाट आउनेलाई ६ प्रकारको होटल खर्च तय गरिएको हो । केन्द्रका अनुसार पर्यटक मापदण्डको होटलमा एक्लै बस्नेलाई ३ हजार र दुई जना (सेयरिङ) बस्दा २ हजार रुपैयाँ, रिसोर्टमा एक्लै बस्नेलाई ४ हजार र दुई जना बस्दा २५ सय, टु स्टार होटलमा एक्लै बस्नेलाई ५ हजार र दुई जना बस्दा ३५ सय, थ्री स्टार होटलमा एक्लै बस्नेलाई ६ हजार र दुई जना बस्दा ५ हजार, फोर स्टार होटलमा एक्लै बस्नेलाई ८ हजार र दुई जना बस्दा दुई जना बस्दा ५५ सय, फाइभ स्टारमा एक्लै बस्नेलाई १० हजार र दुई जना बस्दा ८ हजार रुपैयाँ लाग्नेछ ।

केन्द्रले होटल क्वारेन्टाइनका लागि होटल व्यवस्था भएको जानकारी प्राप्त नभएकोले तत्कालका लागि उडान अनुमति स्थगित गरिएको जानकारी दूतावासलाई दिइएको छ । 

जेठको अन्तिम सातादेखि नेपाली कामदार स्वदेश आउन थालेको हो । हालसम्म झन्डै ५० हजार जना स्वदेश आइसकेका छन् । स्वदेश फिर्न खाडी र मलेसियास्थित नेपाली दूतावासमा झन्डै एक लाख जनाले आवेदन दिएका थिए । 

गैरआवासीय नेपाली संघका प्रवक्ता डीबी क्षेत्रीले रोजगारी गुमाएर स्वदेश फिर्ने कामदारको होटल खर्च निकै महँगो भएको वताए । ‘यहाँ दैनिक खाना जुटाउन नसक्ने कामदारहरु धेरै छन् । उनीहरुले निकै सस्तो भनिएको २ हजार रुपैयाँ १४ दिनसम्म कसरी तिर्न सक्छन् ? कहाँबाट ल्याएर तिर्ने ?,’ क्षेत्रीले भने, ‘दैनिक ५ सय रुपैयाँमा होटल पाइने अवस्था छ ।’ 

सरकारले तोकेको होटल खर्चमा बस्दा चियानास्ता, बिहानको खाना र बेलुकाको खाना मिल्छ ।

Published on: 18 August 2020 | Kantipur

Link

Back to list

;