s

विदेशबाट फर्केका महिला अपमानित

अमृता अनमोल  

घरपरिवारको मीठो खाने र राम्रो लाउने सपना पूरा गर्न रोजगारका लागि २ वर्षसम्म मलेसियाको रिहादमा बसेर फर्केकी टिकुलीगढ ७ की रीता चौधरीले घरपरिवारमै बस्न पाइनन् । बिहे गरेको वर्षदिन नबित्दै कमाउन गएर ४ लाख रुपैयाँसहित फर्केकी उनलाई श्रीमान् र घरपरिवारले चरित्रमाथि अनावश्यक शंका गर्ने र अलग्याउने गरे । त्यो सहन नसक्दा उनी बाध्य भएर माइतीको शरणमा पुगेकी हुन् । 'घर आउँदा रूघा लागेको थियो । श्रीमान् र घरपरिवारले एचआइभी भएर आई भनेर अपमान गरे,' माइतीघर मधौलिया ७ मा बस्दै आएकी उनले ५ वर्षअघिको घरपरिवारको दुव्र्यवहार सुनाउँदै भनिन् । 

रीताले घरपरिवारको चित्त बुझाउन त्यति बेलै भैरहवामा गएर एचआईभी रक्त परीक्षण पनि गराएकी थिइन्् । रिपोर्टमा उनमा एचआइभी भेटिएन । तैपनि घरपरिवारको शंका मेटिएन । 'लामो समयको प्रयासमा श्रीमान्ले एक दिन फेरिएको बहाना गर्दै एकपटक शारीरिक सम्बन्ध राखेका थिए,' रीताले भनिन्, 'सम्पर्क गर्दा अर्कैसँग सम्बन्धको अनुभव भयो भनेर त्यस दिनपछि त कोठामा पस्न पनि दिएनन् ।' सहारा कोही नभए पनि विदेश जानुअघिको जस्तै मायाममता खोज्दै सासू र जेठानीसँग रुँदै ८ महिना घरमा बिताए पनि सफल हुन नसकेपछि कमाएको ४ लाख रकममात्र होइन, घरै छोडेर रित्तै हात माइती आएको उनले बताइन् । उनका श्रीमान्ले भने उनले छोडेको महिना दिनपछि नै अर्को बिहे गरेका छन् । रीता जस्तै वैदेशिक रोजगारमा गएर फर्केका रूपन्देहीका धेरै महिला घरपरिवारमा समायोजन हुन सकेका छैनन् । रोजगारका लागि गएर दुःख पाएर बीचमै र्फकने महिलाको समस्या अझ कहालीलाग्दो छ । खाडी मुलुकमा महिलामाथि यौन र शारीरिक शोषण हुने भन्दै घरपरिवार र समाजले उनीहरू धेरैको चरित्रमाथि शंका गर्ने गरेका छन् । 
 
एचआइभी भएर आएकी र वेश्यावृत्तिमा लागेकी भनेर अपमान गर्ने गरेका छन् । कतिपयका श्रीमान्ले अर्कैसँग प्रेम र बिहे गरेर बसेका छन् । यसले गर्दा उनीहरू घर न घाटको हुने अवस्था छ । 'उहाँ त दुःख पाइयो, पाइयो । यहाँ आएपछि आफ्नै घरपरिवारले पनि उस्तै दुःख दिँदा सहन गाह्रो पर्दो रैछ,' वैदेशिक रोजगारमा १४ महिना कुवेत बसेर फर्केकी रूपन्देहीको मधौलिया ७ की उषा आचार्य क्षेत्रीले गुनासो गरिन् । उनी ३ वर्षअघि डेढ वर्षकी दुधे बालिकालाई सासूको जिम्मा लगाएर कुवेत गएकी थिइन् । 
 
समस्या बढेपछि वैदेशिक रोजगारमा गएर फर्केका महिलालाई घरपरिवारमा पुनःस्थापना गर्न र सुरक्षित वैदेशिक रोजगारमा जान सहयोग गर्न भन्दै महिलाको क्षेत्रमा कार्यरत एबिसी नेपालले रूपन्देहीका १० गाविससहित बुटवल र सिद्धार्थनगरमा विभिन्न कार्यक्रम सञ्चालन गरेको छ ।
 
Published on: 20 December 2011 | Kantipur

Back to list

;