s

विदेशबाट फर्किएर व्यवसाय

पैसा कमाउन विदेश नै जानुपर्छ र नेपालमा केही गर्न सम्भव छैन भन्नेहरूका लागि उदाहरण यहाँका एक युवकले देखाएका छन् ।  

एक दुई वर्षअघि कामको खोजीमा कतार लगायतका विभिन्न मुलुकमा भौतारिंदै हिंडिरहेका हिलेटक्सार ९ चितुवावनका ४२ वर्षीय प्रेम तामाङ अहिले आफ्नै जन्मथलोमा रेस्टुरेन्ट व्यवसाय सञ्चालन गरी मनग्य आम्दानी गर्न थालेका छन् । विदेश गएर कमाउन नसक्ने पैसा र आत्मसन्तुस्टी उनले अहिले नेपालमै बसेर कमाउन थालेको बताए । 

पैसा त छँदैछ, सन्तोष पनि कमाएको छु, तामाङले भने । सदरमुकाम बेंसीसहरमा रहेको उनको नमस्ते तन्दुरी रेस्टुरेन्ट अहिले बेंसीसहर बजारमा मात्र होइन गाउँ-गाउँमा समेत चर्चामा छ । विषेशगरी उनले बनाएको नान खान बजारका युवायुवती मात्र होइन गाउँ-गाउँबाट पनि बूढापाकाहरू आउने गर्छन् । 
एक वर्षअघि मात्र रेस्टुरेन्ट व्यवसाय थालेका उनले अहिले महिनामै ५० हजारदेखि एक लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेका छन् । भन्छन्, 'मिहेनत गर्ने हो भने नेपालमै पैसा कमाउन सकिंदोरहेछ ।' बिहान मिर्मिरेदेखि रातिसम्म खट्नु परे पनि परिवारसँगै बसेर कमाइ गर्न पाउँदा उनी निकै खुसी छन् । नान र तन्दुरी पकाउँदा पोलेको हातका फोकाहरू देखाउँदै उनले भने, 'हतारमा जोगाउनै गाह्रो हुन्छ, दुःख धेरै छ तर आफ्नो जहानपरिवारसँगै आफ्नै देशमा बस्न पाउनुको मज्जै बेग्लै छ ।' उनकी श्रीमती उमादेवी पनि दुःख गर्नु परे पनि श्रीमान्सँगै बसेर काम गर्न पाउँदा मख्ख छन् । 'श्रीमान् साथमा हुँदा र नहुँदाको पीडा त कति हो कति भनेर साध्यै छैन, उनले थपिन्, अहिले कामको दुःख छ तर जीवन आनन्द छ ।' 
पहिले सदरमुकाममै घडी-रेडियो मर्मत तथा बिक्री पसल सञ्चालन गर्दै आएका प्रेम पनि अरूको देखासिकी र धेरै पैसा कमाउने होडमा खाडी मुलुक र बेलायतसम्म पुगेका थिए । तर, जहाँ गए पनि दुःख नगरी नहुने र त्यही काम नेपालमा गरे किन हुँदैन र भन्ने सोचेर नेपाल र्फकेको उनले बताए । 
बेलायतमा रेस्टुरेन्टमा काम गर्ने मौका पाएका उनले त्यहीं सिकेको सीप अहिले व्यवहारमा उतारेका छन् । पेसावरी नान, प्लेन नान, बटर नान, चिकेन तन्दुरी, सेकुवा लगायतका विभिन्न स्वदेशी तथा विदेशी परिकारहरू उनले बनाउने गर्छन् । 
अहिले काम गर्न सहयोगीसमेत राखेका छन् । अब कहिल्यै नजाने सोच बनाएका उनले व्यवसाय अझ बढाउने बनाएका छन् । भन्छन्, अब म पनि कहिल्यै विदेश जान्नँ र नेपाली दाजुभाइलाई पनि नेपालमै व्यवसाय गर्न आग्रह गर्छु ।' तामाङ दम्पतीले आफ्नै आम्दानीबाट दुई छोरा र छोरीलाई काठमाडौंमा क्याम्पस भर्ना गराएका छन् । अहिलेसम्म रेस्टुरेन्टमा गरेको लगानीसमेत करिब उठाइसकेका छन् ।

Published on: 20 October 2011 | Kantipur

Back to list

;