s

विदेशमा हात नचल्ने गरी घाइते भएपछि बीमाको पैसा खोज्दै

जुना केसी

बीमाबाट पाइने पैसा कसरी पाइएला,’ कास्कीको सिल्दुजुरेका सिने कामीले घाउ भएको हात देखाउँदै सोध्नुभयो । युएईमा काम गर्दा गर्दै सिसाले काटेर सिनेको दाहिने हात चल्दैन । त्यसैले उहाँ बीमाबाट पाइने क्षतिपूर्ति बापतको रकमबारे बुझ्न सूचना केन्द्रमा आइपुग्नुभएको थियो ।

सेतो हाफ टिसर्टले कुइनोसम्म मात्रै ढाकेको थियो । पाखुराको झण्डै एक बित्ता लामो दाग देखाउँदै सिने भन्नुहुन्छ, ‘पैसा जोगाउन विदेश गएको थिएँ, गरिखाने हात नै नचल्ने भयो ।’ 
 
विदेश जानुअघि गाउँघरमै गरिखानुभएको थियो सिनेले । मिस्त्रीको काम गर्नुहुन्थ्यो । दिनको आठ सयदेखि एक हजार रुपैयाँसम्म दैनिक कमाउनुहुन्थ्यो । सिनेलाई जति कमायो दिनकै सकिने समस्या भयो ।
 
मिस्त्रीको काम गरेर महिनाको २५ हजारभन्दा माथि कमाएपनि महिना मर्दा हात खाली हुन्थ्यो । त्यसैले सिनेले पैसा जोगाउने बाटो खोज्नुभयो । महिनामा पैसा जोगाउँने बिकल्पमा उहाँले विदेश भन्दा अरु देख्नुभएन । हातमा भएको सीप छाडेर धेरै कमाउने सोच्दा सिनेले सीप भएको हात नै नचल्ने भयो ।
 
२०७२ सालमा कतार उड्दा सिनेलाई लाग्थ्यो फर्किदा त पैसा टन्न कमाएको हुन्छु । कमाउने, जोगाउने सपनाले उडाउँदै कतार लगेपनि सिनेले काम नै पाउनुभएन । २ वर्षको सम्झौता गरेर कतार पुगेका सिने दुई महिनामै कतारबाट फर्किनुभयो ।
 
‘त्यहाँ दुई महिना बसेँ, तर काम केहि पाइन, खोटो मोहोर फर्किदा झैं फर्के,’ सिने सुनाउनुहुन्छ । कमाउन गएका सिनेलाई कामै नपाएर रित्तो हात फर्किनुपर्दाको पीडा सम्झदा अहिले पनि मन पोल्छ ।
 
सिनेलाई जसरी पनि कमाएर जोगाउनु थियो । त्यसैले कतारमा राम्रो कमाइ नभए अर्को देशमा त होला भन्ठान्नुभयो । पोखराकै एक म्यानपावरमा भिसा लगाइदिन पासपोर्ट दिनुभयो । पासपोर्ट बुझाएको छ महिनामा युएईको भिसा आयो ।
 
कम्पनीमा हेल्परको कामका लागि भिसा आएको थियो । यो पाली भने सिने काम पाइनेमा ढुक्क हुनुहुन्थ्यो । ८५ हजार रुपैयाँ ऋण खोज्नुभयो युएई उड्नका लागि । त्यो बेला सिनेलाई ऋण काढ्न पनि कुनै डर लागेन । फेरि विदेश जाने भनेपछि विदेश ऋण नदिने पनि कुरै भएन् । 
 
सिने २०७३ भदौमा युएई उड्नुभयो । ‘कतारमा पो ठगिएँ, दुवईमा त त्यस्तो नहोला भनेको यो पाली दलालबाट हैन भाग्यले नै ठग्यो,’ युएईका कुरा सम्झन थालेपछि सिनेको अनुहारको रंग फेरियो ।
 
जानेबेलामा म्यानपावरले ८ घण्टा काम गरेकै ८ सय दिर्हाम हुन्छ भनेका थिए । त्योसँगै चिल्ला कुरा त कतिकति । म्यानपावरकै कुरामा भर पर्दा यो युएईमा पनि राम्रो भएन ।
 
१० घण्टा काम । तलब भने ८ सय दिर्हाम मात्रै । ‘खाना बस्न कम्पनीले नै दिन्थ्यो, तर एउटै कोठामा भेडा बाख्रा झैं धेरै जनालाई राख्ने,’ सिने सम्झनुहुन्छ । कमाउने भनेर परदेशिएका सिने दुवईमा पाएका दुःख एकादेशको कथा झैं सुनाउन थाल्नुभयो ।
 
‘घर फर्किन पनि ऋण तिर्नुपर्ने बाध्यता थियो, महिनाभरी दुःख गर्‍यो हिसाव गर्दा त दुवईमा भन्दा नेपालमै धेरै कमाउदो रहेछु,’ सिनेले भन्नुभयो । सिनेको हिसाबमा आफ्नो खर्च कटाउँदा दुबईमा १५ हजार मात्रै हुन्थ्यो । तर नेपालमा कमाइ भएन भन्दा पनि २५ हजार माथि थियो । ‘चोक्टा खान गएकी बुढी झोलमा डुवेर मरी भने झैं भयो मलाई त,’ सिने पछुतो मान्नुहुन्छ ।
 
जस्तो भएपनि काम गरिरहनुभएको थियो । १ वर्ष बितिसकेको थियो । सधै झैं काममा जानुभएको थियो । तर त्यो दिन उहाँ सधै झैं सकुशल क्याम्प फर्किन पाउनुभएन । 
 
‘सधै काम गरेकै हो, एकदिन सुपरभाइजरले अफिसको झ्याल सफा गर्न लगायो, भर्याङमा चढेर सिसा पुछ्दै थिएँ, भर्याङ पल्टियो,’ सिनेलाई त्यो भर्याङ पल्टिएको दिन सम्झन मन लाग्दैन ।
 
किनकी, भर्‍याङ पल्टिएसँगै विदेशमा कमाउने सपनाले नमज्जाले बल्ड्याङ्ग खाए । भुईंमा पछारिदासम्मको क्षण सिनेलाई याद छ । ‘सिसाले मेरो दाहिने हातको नसा समेत चुटाएर काट्यो, रगतको भेल बगेछ, पानी पानी भन्दा कसैले पानी दिएनन्, म बेहोस भएछु,’ सिनेका गला अवरुद्ध भए । सिसाले पाखुराको नसा मात्र चडढाएको थिएन् । सिनेका गरिखाने सीप पनि चुडाएको थियो ।
 
होसमा आउँदा सिने अस्पतालमा थिए । विदेश नजादा बरु त्यही हातमा ज्यान पाल्ने सीप थियो । दुई महिना लाग्यो सिनेको हात उपचार गर्न । ऋण पनि नतिर्दै श्रीमान्को त्यस्तो खबर आउँदा परिवारमा बज्रपात पर्‍यो ।
 
सिनेका श्रीमती चन्द्राले काम गरेर घर खर्च त पुर्‍याउनुहुन्थ्यो । तर मियो नै ढलेपछि दाँई कसरी हाल्नु । यस्ते भयो उहाँलाई पनि । ‘बुढोसँग दुई महिना पछि बोलेको, मलाई त यतिको फर्किनुहोला भन्ने पनि लागेको थिएन,’ चन्द्रा श्रीमानतिर हेर्दै भन्नुहुन्छ । 
 
सिने कम्पनीमा चार महिना बस्नुभयो । ‘उपचार खर्च त कम्पनीले नै दियो तर के गर्नु बाँचे भनेर चित्त बुझाउन पर्यो,’ सिने भन्नुहुन्छ, ‘आधाकल्चो भएर फर्किनु पर्यो, न भने जति पैसो कमाउन सके न त ज्यान सग्लो ल्याउन सके ।’
 
झण्डै छ महिना घाइते जीवन बिताएर सिने घर फर्किनुभयो । ‘दाहिने हातले केही काम गर्दैन, औंला त काटे पनि दुख्दैन,’ औला चिमोट्दै सिने घाउ देखाउनु हुन्छ । सिने हात नचल्ने भएर फर्किनुभयो ।
 
उहाँका कमाएर जोगाउँने सपना बाकसमा प्याक भएर फर्किए । जुन अब कहिल्यै बिउँझिदैनन् । सिनेलाई हात नचल्ने हुनुको पीडा त थियो नै त्यो भन्दा बढी पीडा त गरिखाने सीप गुमेकोमा थियो ।
 
सिनेलाई वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले बीमा कम्पनीलाई पत्र लेखिदिएको छ । बीमा बापतको रकम पाए सिनेलाई ऋण चुत्ता गर्थें भन्ने छ ।
 
Published on: 27 February 2018 | Ujyaaloonline

Back to list

;