s

विदेशमा बस्ने नेपालीलाई मताधिकार दिन सुझाव

विदेशमा रहेका नेपाली मतदातालाई भोट हाल्ने अधिकार दिन राजनीतिक दलका प्रतिनिधि, कानुन व्यवसायी, पर्यवेक्षक, प्राध्यापकलगायतले सुझाव दिएका छन् । निर्वाचन आयोगमा ‘दोस्रो निर्वाचन दिवस’को अवसरमा आइतबार आयोजित अन्तक्र्रिया कार्यक्रममा सहभागीहरूले करोडौँ खर्च गर्ने उम्मेदवारको उम्मेदवारीलाई आयोगले रद्द गर्न नसकेको, चुनावले भ्रष्टाचार बढाएको, समानुपातिक निर्वाचन प्रणाली विकृत भई आफ्नै श्रीमती र नाता गोतालाई सांसद बनाएको भन्दै निर्वाचन प्रणालीमा सुधार हुनुपर्ने सुझाव दिनुभयो । 
 
२०१५ साल फागुन ७ गते पहिलो प्रजातान्त्रिक निर्वाचन भएको दिनलाई आयोगले निर्वाचन दिवसका रूपमा मनाउने गरेको छ । सोमबार आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा आयोगमै मूल समारोहको आयोजना गरेको छ । 
 
अन्तरक्रीयामा प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले निर्वाचनकै क्रममा बाहेक उम्मेदवारको उम्मेदवारी खारेज गर्ने अधिकार आयोगसँग नभएको र त्यो अदालतले मात्रै गर्न सक्ने बताउनुभयो । उहाँले उम्मेदवारले बढी खर्च गरेको पर्याप्त आधार नभई आयोगले उम्मेदवारी खारेज गर्न नसक्ने समेत स्पष्ट पार्नुभयो । 
 
नेकपा (एमाले) का नेता एवम् पूर्वमन्त्री अग्नि खरेलले निर्वाचन प्रणाली, प्रक्रिया र पद्धतिमा परिमार्जन गर्नुपर्ने खाँचो रहेको बताउनुभयो । त्यसका लागि राजनीतिक दलले नै बढी पहल गर्नुपर्ने बताउँदै उहाँले निर्वाचन सुधारका लागि मतदाता परिचयपत्र लागू गर्नु आयोगको राम्रो कदम भएको बताउनुभयो । 
 
नेता खरेलले राहदानी बनाएर विदेशमा रहेका नेपालीलाई मतदाताधिकार सुनिश्चित गर्न सजिलो भए पनि भारतमा रहेका नेपालीलाई मताधिकार प्रदान गर्ने विषयमा समस्या रहेको बताउनुभयो । काँग्रेसका केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय ‘डिना’ ले विदेशमा रहेका लाखौँ नेपालीको मताधिकार सुरक्षित हुनुपर्ने, मतदानको दिन यातायात चल्न दिनुपर्ने बताउनुभयो । उहाँले हालको निर्वाचन प्रणालीले भ्रष्टाचार बढाएको र समानुपातिक प्रणालीले विकृति फैलाएको गुनासो गर्नुभयो । 
 
नेकपा (माओवादी केन्द्र) का नेता रामनारायण बिँडारीले उद्योगपति विनोद चौधरी र डोको बोकेर हिँड्ने साधारण व्यक्तिले निर्वाचनमा सँगै प्रतिस्पर्धा गर्न सक्ने निर्वाचन प्रणाली आवश्यक छ भन्नुभयो । उहाँले समानुपातिक निर्वाचन प्रणालीको समावेशी समूहबाट निर्वाचित कतिपय उम्मेदवार धनबल र नेताकहाँ पहुँच भएका मात्रै आउने खतरा बढेको बताउनुभयो । 
 
अन्तरक्रीयामा पूर्वसांसद खिमलाल देवकोटा, पर्यवेक्षक डा. गोपाल सिवाकोटी, संविधानविद् डा. चन्द्रकान्त ज्ञवाली, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, डा. सुरेन्द्र केसी लगायतले निर्वाचनको मिति घोषणा गर्ने अधिकार आयोगलाई दिनुपर्ने बताउनुभयो । उहाँहरूले विदेशमा रहेका नेपालीको मताधिकारको व्यवस्था हुनुपर्ने, निर्वाचन खर्चिलो र भड्किलो भएको भन्दै निर्वाचन प्रणालीमा 
सुधार गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । 
 
आयोगका सचिव बेगेन्द्रराज शर्मा पौड्याल र सहसचिव सुशील कोइरालाले आयोगद्वारा सम्पन्न चारवटा निर्वाचन र अब हुने राष्ट्रपति एवम् उपराष्ट्रपतिको निर्वाचनको तयारीबारे जानकारी दिनुभयो । 
 
यसैगरी, आइतबार नै आयोगमा ‘लैङ्गिक सहभागिता बढाउने’ विषयक परिसंवाद कार्यक्रममा स्थानीय तहमा ४० प्रतिशत र प्रदेश तथा प्रतिनिधिसभामा महिलाको प्रतिनिधित्व ३३ प्रतिशत सुरक्षित भएको जानकारी दिइयो । 
 
प्रमुख आयुक्त डा. यादव, आयुक्त निर्वाचन आयुक्त इला शर्मा, नेतृ पुष्पा भुसाल, शशी श्रेष्ठ लगायतले महिलाको सहभागिता र प्रतिनिधित्व बढाउन गाउँ तहबाटै सहभागिता बढाउनुपर्ने विचार राख्नुभयो । 
 
यसैगरी, आइतबार नै निजामती कर्मचारीको आधिकारिक ट्रेड  युनियन, निर्वाचन आयोगले कृति वाचन कार्यक्रमको आयोजना गर्यो  । युनियनका अध्यक्ष सुमन घिमिरेका अनुसार, कार्यक्रममा १४ जना स्रष्टाले रचना वाचन गर्नुभयो । यसैगरी, आयोगले आइतबार बिहान प्रभातफेरी र वृक्षरोपण कार्यक्रमको आयोजना गर्यो। 
 
Published on: 19 February 2018 | Gorkhapatra
 
 

Back to list

;