s

बिदेसिँदै योग्य नेपाली पाइलट

नेपालमा दक्षता हासिल गरेर बिदेसिने नेपाली पाइलटको संख्या बढ्न थालेको छ। विदेशमा दुई सय घन्टाको कमर्सियल पाइलट लाइसेन्स (सीपीएल) लिएर नेपालको हवाई उड्डयन क्षेत्रमा प्रवेश गरेका पाइलट कोपाइलट हुँदै क्याप्टेन बनेर बिदेसिने क्रम बढेको छ। यसरी बिदेसिनेमा बुद्ध एअर र नेपाल वायुसेवा निगमका पाइलट बढी छन्। 

निगममा अन्तर्राष्ट्रिय उडान सुरु गर्ने करिब ७५ प्रतिशत क्याप्टेन दक्षता हासिल गर्दै बिदेसिने गरेका छन्। पछिल्लो सयम एटीआर जहाज उडाउने बुद्ध एअरका क्याप्टेन पनि बिदेसिएका छन्। बुद्ध एअरका एक प्रशिक्षक क्याप्टेनका अनुसार भर्खरै विवेक ताम्राकार इन्डोनेसिया गएका छन। अन्य तीन जनाले पनि इन्डोनेसिया जाने तयारी गरिरहेका छन्। डेढ वर्षअगाडि क्याप्टेन प्रकाशबहादुर श्रेष्ठ र ६ महिनापहिला अञ्जन ताम्राकार पनि न्युजिल्यान्ड गएका थिए। 

बुद्ध एअरमा दक्षता हासिल गरेका क्याप्टेनले विदेशमा अवसर पाएर जानुलाई सकारात्मक रूपमा नै लिनुपर्ने बुद्धका एक वरिष्ठ पाइलटको भनाइ छ। उनका अनुसार नेपाली पाइलटले पाउने यस्तो अवसरले अन्तर्राष्ट्रिय समुदायमा नेपालको छविलाई निकै सकारात्मक रूपमा लिइन्छ। बुद्धको एटीआर जहाज उडाउने क्याप्टेनले विदेशमा अवसर पाउने गरेका छन्। हाल बुद्धमा २२ जना पाइलट छन्। यीमध्ये एक्जामिनर चार जना छन्। यी चार जना भने कसैको पनि बिदेसिने तयारी नभएको बुद्धका एक पाइलटले बताए। उनका अनुसार क्याप्टेन भने रोलक्रमअनुसार नयाँ आउने भएकाले कुनै समस्या नभएको बुद्ध एअरले बताएको छ। 

पाइलट बाहिरिनुले नयाँले अवसर पाउने, कोपाइलटलाई क्याप्टेन बन्ने अवसर आउने र बजारमा रहेको बेरोजगार पाइलटले पनि मौका पाउनसक्ने बुद्ध एअरका मानव संसाधन विभागका प्रबन्धक खगेन्द्र बस्नेत बताउँछन्। 

नेपालमा मासिक चारपाँच लाख रुपैयाँ पाउने प्रशिक्षक क्याप्टेनले विदेशमा कम्तीमा १५/१६ हजार डलरसम्म पाउँछन्।

उनका अनुसार पाइलटले एअरलाइन्ससँग गरेको पाँचवर्षे सम्झौताअनुसार बीचैमा छोड्नु परे तोकिएको शुल्क तिर्ने गरेका छन्। यो शुल्कसँगै कुनै पनि पाइलटले एअरलाइन्स छोड्नुपर्दा तीन महिनाअगाडि जानकारी दिनुपर्ने भएकाले यो समयसम्म नयाँलाई तालिम दिएर योग्य बनाउन सकिन्छ। 'कुनै पनि पाइलटले आफ्नो व्यक्तित्व विकासका लागि विदेशमा पाएको अवसरलाई हामीले रोक्ने गरेका छैनौं', बस्नेतले भने। यसका लागि पूर्वसूचना गरेको अवस्थामा पाइलट तथा एअरलाइन्स दुवैलाई सहज हुने गरेको उनको भनाइ छ। 

एअरलाइन्सले पाइलटसँग सामान्यतया पाँचवर्षे सम्झौता गरेका हुन्छन्। यस्तो सम्झौताअनुसार तीन वर्ष नपुग्दै वायुसेवा छोड्नु परे तोकिएको शुल्क एअरलाइन्सलाई दिनुपर्छ। यस्तो शुल्क सामान्यतया पाइलट उत्पादनका लागि एअरलाइन्सले गरेको लगानी र पाइलटले पाएको अवसरमा आधारित हुन्छ। पाँचवर्षे करार सझौता अवधि नसकिँदै छोड्ने पाइलटका लागि तीन वर्षपछि वार्षिक २० प्रतिशत अफ गरेर शुल्क तिरे पुग्छ भने त्योभन्दा कम समयमै छोड्न चाहनेले पूरै शुल्क तिर्नुपर्ने व्यवस्था एअरलाइन्सले गरेको छ। 

नेपालमा मासिक चारपाँच लाख रुपैयाँ पाउने प्रशिक्षक क्याप्टेनले विदेशमा कम्तीमा १५/१६ हजार डलरसम्म पाउने भएकाले पनि बिदेसिने गरेका छन्। हाल नेपालमा दुर्गम क्षेत्रमा उडान गर्ने निजी वायुसेवाका क्याप्टेनले औसतमा चारपाँच लाखसम्म पाउने गरेका छन्। अन्यको भने डेढदुई लाखमात्रै पारिश्रमिक हुने गरेको एक पाइलटले जानकारी दिए। हाल बुद्ध एअरबाट बाहिर जाने क्याप्टेनमा भारतको किङफिसर हुँदै जेट एअरवेजमा पुगेका ज्ञानेन्द्र गौचन, जेटमै पुगेका विक्रान्त प्रधान, कतार एअरमा प्रदीप मल्ल, इत्तिहादमा उत्सवजंग शाह रहेको बुद्ध एअरले जानकारी दिएको छ। 

बुद्धबाट अझै तीन जनाले बाहिर जाने इच्छा देखाए पनि औपचारिक जानकारी भने दिएका छैनन्। यी पाइलट बिदेसिने भएमा बुद्धले आगामी दुईतीन महिनामा नै क्याप्टेन तयार पार्नसक्ने पाँचछजना कोपाइलट लाइनमा रहेकाले कुनै समस्या नहुने पनि बस्नेतको भनाइ छ। नेपालबाट विदेशमा क्याप्टेनले पाउने अवसर व्यक्तित्व विकासमात्रै नभएर उसले आफ्नो क्षमता विदेशसम्म पु:याउन सक्नु भएको नेपाल वायुसेवा निगमका वरिष्ठ क्याप्टेन केबी पौडेल बताउँछन्। उनका अनुसार सन् १९८१ मा क्यानडाबाट पाइलट तालिम लिएर आएकामध्ये २४ जनाले निगममा अवसर पाएका थिए। यीमध्ये हाल तीन जनामात्रै छन्। बाँकी सबै विदेशी वायुसेवामा अवसर पाएर गएका छन्। 

निगमको आन्तरिक र अन्तर्राष्ट्रिय उडानमा रहेका करिब एक सय ५० जना पाइलटमध्ये करिब एक सयजनाले निगम छोडेर अन्य आन्तरिक वायुसेवा हुँदै विदेशका विभिन्न वायुसेवासम्म पुगेको निगमको भनाइ छ।  निगमका पाइलट यूएईको एअर अरेबिया, भारतको ब्लुडार्ट र इन्डियन एक्सप्रेसमा पुगेका छन्। निगमबाट बाहिरिएका पाइलट तान्नकै लागि निगमले गत अक्टोबरदेखि एकैपटक नवौं तहमा वरिष्ठ पाइलट ल्याउन सकिने व्यवस्था गरेको छ। यसअघि निगममा सातौं तहसम्म मात्र पाइलट लिन पाउने व्यवस्था थियो। 

Published on: 19 December 2014 | Annapurna Post

Back to list

;