s

विदेशबाट फुत्केर दसैं मान्न

राम्रो तलब र सजिलो जागिर खोज्दै तीन महिनाअघि कुवेत पुगेकी थिइन्, बाँके कोहलपुरकी हरिमाया घर्तीमगर । श्रीमान्को उपचार गर्दा लागेको ऋण तिर्ने आशा मनमा थियो । तर न उनले राम्रो काम पाइनन् न त पैसा कमाइन् । भागेर ज्यान जोगाएर दूतावासको शरणमा पुगेकी उनी रित्तो हात स्वदेश फर्केकी छन् । अरू सपना भताभुंग भए पनि दसंैमा घर फर्किन पाएकोमा भने उनी खुसी छिन् । उनी भन्छिन्, 'विदेशी भूमिमा रोएर बस्नुभन्दा घर फर्किन पाइयो । त्यसैलाई भाग्य ठानेकी छु ।'

वैदेशिक रोजगारीबाट जसोतसो पढ्दै गरेका छोराछोरीलाई उच्च शिक्षा दिलाउने उनको सपना थियो । त्योभन्दा धेरै आफूले दुःख गरेर घरको आर्थिक अवस्था सुधार्ने हिम्मत लिएर उनी कुवेत पुगेकी थिइन् । चार वर्षअघि उनका अवकाश प्राप्त सैनिक श्रीमान् भूपालसिंहको मुटु रोगले निधन भयो । उपचार गर्न पाँच लाख ऋण काढेकी हरिमायाले जाजरकोटमा खोलेको छापाखाना उद्योग पनि बेच्नुपर्योग । चार छोरी र एक छोराको लालनपालन गर्न सहज हुने सपना बोकेर उनी असार १७ गते कुवेत पुगेकी थिइन् । तर तीन महिना नपुग्दै असोज ३ गते नेपाल ओर्लिंदा उनका आँखा एकाएक रसाए । 'मन गह्रौं भयो,' उनी भन्छिन्, तैपनि जिउँदै फर्किन पाएकोमा सन्तोष लाग्यो । कुवेत पुग्नुअघि हरिमायालाई लाग्थ्यो, त्यहाँ घरेलु कामदार हुनु आफ्नै घरमा घरधन्दा गर्नुझैं हो । तर भइदियो उल्टो । न उनले सोचेजस्तो काम पाइन्, न त राम्रो तलब । उनले त्यहाँ सुख हैन, पसिनासँगै आँसु बगाउनुपर्यो् । दिनहुँुको यातना र सम्मानविहीन रोजगारीबाट पहिलो महिनादेखि नै उनी दिक्क भइन् । 'स-साना निहुँुमा मरुन्जेल पिट्छन् । तलब दिन्नन् । फोन गरेको देखे हातपातमै उत्रिन्छन्,' उनले कुवेत अनुभव सुनाइन्, 'लोग्ने मान्छेहरू तिमीलाई किनेको हो भनेर समात्न आउँछन् । मैले त पिटेर हिँडे ।'

उनले त्यही घरमा काम गर्ने मोरङकी २८ वषर्ीया दिलकुमारी श्रेष्ठको उद्धार गरिन् । श्रेष्ठ ७ वर्षदेखि त्यहाँ बँधुवा मजदुरझैं थिइन् । उनी आफैंले पनि उम्किन ठूलै संघर्ष गर्नुपर्यो  । 'भान्सामा बाउ समात्न आउँथ्यो । राति १८ वर्षे छोरा ढोका ढक्ढक्याउन जान्थ्यो,' उनले भनिन्, घरेलु कामदारसँग जस्तोसुकै व्यवहार गर्ने अधिकार छ भन्छन् । हरिमाया खाडी मुलुक नेपाली कामदार महिलाका लागि असुरक्षित रहेको बताउँछिन् । 'अनेक सपना बुनेर गयो, भताभुंग हुन्छ । बेकार छ जान,' उनले भनिन् ।

हरिमाया एक्लै आएकी छैनन् । उनले थुप्रै नेपाली महिलाका दुःखका सन्देश बोकेर आइन् । घर फर्किंदा कुवेतमा अलपत्र गरेका दर्जनौं महिलाका चिठीपत्र र घरका फोन नम्बर ल्याएकी छन् । असोज महिनाभर उनीहरूका घरमा खबर पठाउनमै उनलाई भ्याइनभ्याई भयो ।

तीन वर्षअघि वैदेशिक रोजगारी गर्न कुवेत पुगेकी भैरहवाकी ३८ वषर्ीया सुरज्योति थापा चौध महिनादेखि नेपाली दूतावासको सेल्टरमा छिन् । घरेलु कामदारका रूपमा त्यहाँ पुगेकी उनलाई गत वर्ष घरधनीले कुटपिट गर्ने क्रममा झ्यालबाट खसाल्यो । उनी गम्भीर घाइते भएको र अलपत्र परेको परिवारलाई थाहा छैन । चार महिना अस्पतालमा उपचारपछि सुरज्योति दूतावासको सेल्टरमा बस्दै आएकी छन् ।

रोजगारीकै लागि कुवेत पुगेकी हरिमायाले त्यहाँ दुःख पाएर अलपत्र परेका सुरज्योतिजस्ता थुप्रै महिलाका खबर लिएर फर्केकी हुन् । सोमबार उनले सुरज्योतिका पति मोहनसिंहलाई फोन गरेर सन्देश सुनाइन् । 'सम्पर्कविहीनझैं रहेछन् । राम्रो खबर सुनाउन पाइएन । जस्तो भए पनि, खबर पाउँदा उनको परिवार खुसी भयो,' उनले भनिन् ।

सुरज्योतिले पत्रकारहरूलाई नै सम्बोधन गरेर आफ्नो दुःखको कथा चिठीमा उतारेकी छन् । पाल्पाकी गंगा बुढामगरका परिवारलाई हरिमायाले फोन गरेर हालखबर बताइन् । त्यस्तै, काठमाडौंकी सुशीला लामा सकुशलै दूतावासको सेल्टरमा बसेको भाउजू तारालाई खबर दिइन् ।

बाँके बनियाभारकी ललिता परियारको घरमा पनि खबर पुग्यो । विराटनगरकी मञ्जु खड्काका छोराले आमाको अवस्था थाहा पाए । उमेर बढाएर भारतीय बाटो हुँुदै पुगेकी वीरगन्जकी गंगा तामाङले ठूलो यातना बेहोर्नुपर्योा । घरधनीले उनलाई कुटपिट गरेर फोहर फाल्ने कन्टेनरमा अलपत्र छाडेका थिए । दूतावासले उनको उद्धार गरेको थियो । त्यस्तै, झापाकी १८ वषर्ीया फूलमाया तामाङ अलपत्र छिन् ।

त्यस्तै इटहरीकी मञ्जु श्रेष्ठ र चोरीको अभियोगमा विमानस्थलबाटै फर्काइएका समीक्षा परियारका खबर पनि उनीसँग छन् । कतिपयका परिवारसँग सम्पर्क हुन सकेको छैन । '१५/१६ जनाको सन्देश लिएर आएको छु । घरी फोन लाग्दैन, घरी उठ्दैन । पक्का हुलाकी भएँ,' हरिमायाले भनिन् । विभिन्नखाले समस्यामा परेर कुवेतस्थित नेपाली दूतावासको सेल्टरमा अहिले २ सय ८० कामदार महिला शरण लिएर बसेका छन् । 

खोटाङेले कतारमा कार्यक्रम नगर्ने

वैदेशिक रोजगारीका लागि कतार पुगेका तीन साथीको ज्यान गुमेको शोकमा खोटाङ सेवा समाजले दसैंको अवसरमा गर्दै आएको 'दसैं मिलन समारोह' स्थगित गरेको छ । कतारमा दुई महिनाको अवधिमा तीन सहकर्मीको ज्यान गुमेको शोकमा यसपल्ट शुभकामना आदानप्रदान तथा 'दसैं मिलन समारोह' स्थगित गरिएको खोटाङ सेवा समाजका महासचिव नारायण बस्नेतले कतारबाट टेलिफोनमार्फत जानकारी दिए । खोटाङ बतासे ३ का कविन राई, छितापोखरी ४ का तीर्थ खड्का र मात्तिम ७ का पर्शुराम खड्का 'कैलाश' को निधन भएको दुःखद् घडीमा यसपल्टको शुभकामना तथा दसैं मिलन समारोह स्थगित गरेको महासचिव बस्नेतले जनाए ।

३० वषर्ीय कविनको गत असार पहिलो साता कतारको रैयानस्थित आफ्नै कोठामा र सनैय २६ स्थित सन्पोक कम्पनीमा कार्यरत पर्शुरामको टिभी हेरिरहेकै अवस्थामा गत भदौ अन्तिम साता ज्यान गएको थियो । कविन र दुवैको हृदयाघातका कारण ज्यान गएको थियो । यस्तै कतारको सनैयास्थित पिनेल्को कम्पनीमा चौकीदारका रूपमा कार्यरत तीर्थबहादुरको गत साउनमा शंकास्पद हत्या भएको थियो । उनको हत्या अझै रहस्यमय बनेको छ । समाजले मृतक आत्माको चिरशान्तिको कामना गर्दै शोकाकूल परिवारप्रति धैर्यधारणका लागि कामना गरेको छ ।

Published on: 20 October 2012 | Kantipur

Back to list

;