s

विदेशबाट फर्किंदा छोराले चिनेन

सन्जिता देवकोटा

नौ महिनापछि साउदीबाट नवलपारासीकी गीता घर फर्किनुभएको थियो । साँझ पर्नै लाग्दा आइपुगेकी आमालाई देख्दा छोरी निशा र छोरा अमितले कुनै खुसी मानेनन् । हेरिरहे । उनीहरु गीतासँग बोलेनन् । 

छोराछोरी छाडेर परदेशिएको लामो समय नभएपनि छोराछोरीले नचिने जस्तै गरेर हेरिरहँदा उहाँ छक्क पर्नुभयो ।‘छोरालाई काखमा राख्न खोजेको चिच्याउँदै रोयो, फकाएँ तर मरिगए मानेनन्,’ काँखमा बसेको छोराको कपाल सुमसुम्याउनुभयो ।
 
दूधे बालक छाडेर कमाउन विदेश लाग्दा गीता मन नकुडिएको हैन् । झन फर्किंदा छोराछोरीले  आमाको काख नचिन्दा उहाँलाई ठूलै पाप गरेंछु भनेर ग्लानी भयो ।गीताकी छोरी पाँच वर्ष अनि छोरो तीन वर्ष टेक्नै लागेका थिए । छोराछोरीको उमेर एक वर्ष बढ्न् लागेको थियो । सँगै गीतासँग पनि टाढिँदै थिए ।
 
गीता विदेश गएपछि उनीहरुले हजुरआमाको साथ पाएका थिए । हजुरआमाको मायाले गिताको माया र स्नेहलाइ धमिल्याएको थियो त ? गितालाई बालख बच्चालाई समय र आफ्नो अनुपस्थितीले भुलायो भन्ने लाग्छ  । विरामी परेर फर्किनुभएकी गीताको घरबाट जाँदाको भन्दा रुप पनि फेरिएको थियो ।
 
हुन त बालखा छोराछोरी छाडेर कमाउन परदेशिनु गिताको बाध्यता थियो । त्यसमा अलिअलि कमाइएला भन्ने रहर पनि । उहाँलाई रहरले सहर त पुर्‍यायो तर सपना पूरा हुन दिएन ।
 
२५ वर्षकी गीता छाेराछोरीको काखमा सुख नभएपछि खुसी हुनुहुन्थ्यो । समयकै खेल थियो । पैसा कमाएर छोराछोरीका लागि केही गरौंला भन्ठानेकी गीतालाई बेचेर दलालले पो पोल्टो भरे ।
 
२०७३ कात्तिको कुरा हो । विदेश जाने कुरा पहिलेबाट चलेपनि त्यतिबेला मात्रै सबैकुरा मिल्यो । गाउँकै दिदी पर्नेले गीतालाई कुवेतबाट राम्रो अवसर आएको बताइन । ‘विदेश जाने नै भए यो भन्दा राम्रो अवसर मिल्दैन है,’ विदेश पठाउने दिदीले यसै भनेकी थिइन गितालाई । 
 
घर सल्लाह भयो । गीताले पासपोर्ट बनाउनुभयो । त्यसको एक हप्तापछि गीता श्रीमान् सानु चमार र सँगै जाने अरु महिलासँगै नेपालगञ्जबाट दिल्ली जाने बस चढ्नुभयो । दिल्ली पुगेपछि श्रीमानले विदा मागे । 
 
दिल्लीसम्म श्रीमान् पनि साथमै भएकाले गीतालाई कुनै डर लागेन । उहाँ दिल्लीबाट श्रीलङ्का पुग्नुभयो । ‘श्रीलङ्कामा म जस्ता धेरै जना थिए । हामीलाई राखेको ठाउँ साह्रै नराम्रो थियो । गन्हाउने, त्यहाँको माछा त यस्तो नमिठो कि । भातमा पनि के के राखेर पकाउँदा रहेछन्,’ गीताले तीन दिनको श्रीलङ्का  बसाइलाई एक वाक्यमा समेट्नुभयो ।
 
दिल्लीबाटै गीतालाई दलालले कुवेतका कुनै साहुले किनिसकेका रहेछन् । जुन कुरा उहाँले पत्तो पाउनुभएन । नेपालबाट दिल्ली अनि दिल्लीबाट कुवेत । गीता कुवेत पुग्दा दुई ठाउँमा बेचिइ सक्नुभएको थियो ।
 
घरबाट सपनाका भारी उठाएर हिँडेकै दिन उहाँका छोराछोरी पढाउने र कमाउने सपना पनि बेचिइसकेका थिए । यो कुरा गिताले निकैपछि मात्रै थाहा पाउनुभयो ।
 
कुवेतमा गीताले एक महिना १८ दिन काम गर्नुभयो । घरमा काम गर्ने अरु कामदार पनि थिए । सबैजना मिलेरै काम गर्नुहुन्थ्यो । घरको काम बाडफाँड गर्दा उहाँलाई काम गर्न गाह्रो भएन । एक महिना १८ दिन साहुनीले बहिनीको घरमा लागिन् । धेरै पछिसम्म त गीताले कुन ठाउँमा लगे भनेर पनि पत्तो पाउनुभएको थिएन्  ।
 
गीताले काम गर्ने घर मात्र हैन देशनै फेरिएको थियो । कुवेतबाट उहाँलाई साउदी सारिएको थियो । देश र साहु परिवर्तन भएसँगै गीता जीवनमा धेरैकुरा फेरिए । 
 
‘पहिलाका साहुले त नराम्रो गरेनन् । तर उनीहरुले पु¥याइदिएको ठाउँका साहु त साह्रै नराम्रो परे । न खान पाइयो न त सुत्न । त्यो माथि उनीहरुको गाली र पिटाइ,’ गिता साउदी पुगेपछिका दुःख सुनाउनुहुन्छ ।
 
डाडुले टाउकोमा हिर्कए, त्यसपछि विर्सने रोग लाग्यो 
 
घरमा पाहुना आएका थिए । काम गर्ने गीता मात्रै । हतार थियो । हतारको काम लतार भनेझैं काम गर्दा गर्दै सिसाको एउटा भाडो फट्यो । ‘लप्सीको अचार चलाउने ठूलो डाडु थ्यो, त्यसैले टाउकोमा हाने । म त बेहास भएँछु । त्यसपछि म त एक छिनको कुरा एक छिनमै विर्सिंन्छु,’ गीता अहिले पनि यो समस्याबाट मुक्त हुनुहुन्न् । 
 
विर्सने उहाँको रोग नै बनेको छ । गीतालाई अहिले सबै कुरा सम्झिन नसक्ने, रिंगटा लाग्ने र टाउँको दुख्ने भइरहन्छ । अरु कुरा बिर्सिएपनि त्यतिबेला पाएको पीडा भने गीताले बिर्सिनुभएको छैन । ‘खान त कहिले पाइएन्, खान नपाएपछि जिउमा शक्ति नहुने, सुकेको रोटी खाएरै सास जोगाएँ,’ गिता सुनाउनुहुन्छ । 
 
काम र साहु साहुनीका गाली त छँदै थियो त्यसमाथि खान पनि नपाएपछि गीताको ज्यानको मासु सुक्तै गयो । कमाउने सपना बाँकी रहेन । गीताले बाँचेर घर फर्कन्छु भन्ने आश पनि मारिसक्नुभएको थियो । घरमा आफूलाई परेका समस्या सुनाउनुहुन्थ्यो । श्रीमानले गीतालाई घर फर्काउन हरदम प्रयास गरिरहनुभएको थियो ।
 
‘फोहोर फाल्न  जाने निउँले घरबाट भागें’
 
गीतालाई श्रीमानले साउदीमा रहेको दूतावासको नम्बर दिनुभएको थियो । दूतावासका कर्मचारीसँग उहाँको कुरा भयो । राती दूतावासबाट गीताको उद्धारका लागि आउने भए । ‘राती सबैजना सुतेपछि फोहोर लिएर बाहिर निस्कें ।
 
फोहोर फाल्न बाहेक घरबाट निस्कन पाइँदैनथ्यो । दूतावासबाट फोहोर फल्ने ठाउँमै आएर बस्नुभएको थियो,’ गीताले साहुको पञ्जाबाट फुत्किँदाको क्षण सुनाउनुहुन्छ ।
 
गीता दूतावासमा तीन महिना बसेर घर फर्कनुभयो । गिता २०७४ साउनमा विमानस्थल झर्दा श्रीमान सानु चमार विमानस्थल मै पुग्नुभएको थियो । ‘बुढो रुँदै, भोकै लिन पुगेछन् । उसलाई देखेपछि मात्रै मलाई बाँचे जस्तो लाग्यो,’ गीता भन्नुहुन्छ ।
 
गीताका श्रीमान् घर बनाउने मिस्त्रीको काम गर्नुहुन्छ । गीता फर्किएपछि छोराछोरी र घर व्यवहार सम्हाल्नुभएको छ । छोराछोरीले आमा पाएका छन् । भन्नुहुन्छ, ‘अब त खान नपाए मर्र्छु तर विदेश जाँदिन ।’
 
Published on: 20 February 2018 | Ujyaaloonline

Back to list

;