s

विदेशबाट फर्केका युवा अन्योलमा

सविता शर्मा

लामो समय वैदेशिक रोजगारीमा रही स्वदेशमै केही गर्ने सोच बनाएर नेपाल फर्किएका कतिपय युवा अन्योलमा परेका छन् । यहाँको वातावरण र व्यवसायका लागि आवश्यक जानकारीको अभावमा उनीहरू अन्योलमा परेका हुन् । वैदेशिक रोजगारीमा गएका नेपाली युवाको पुँजी, सीप र श्रमलाई स्वदेशमै उत्पादनशील क्षेत्रमा लगाउने खास योजना नबन्दा स्वदेशमै व्यवसाय गर्ने योजना बनाएर फर्किएका कतिपय युवा पुनः विदेशिनुपर्ने अवस्था उत्पन्न भएको छ । 

स्वदेश फर्केर व्यवसाय गरेका धेरै युवाको व्यवसाय पनि सफल हुन नसकेको बताउनुहुन्छ, व्यवसायी उत्तम अधिकारी । उहाँ भन्नुहुन्छ, “व्यवसायको अनुभव छैन, उताको सीप यता काम लाग्दैन, नयाँ क्षेत्रमा लगानी गर्दा कति बेला डुबिन्छ थाहा हुँदैन, यस्तो अवस्थामा कसरी काम गर्ने ?” अधिकारी स्वयं विदेशमा काम गरेर पर्कनुभएको हो । 
 
काभ्रेका अच्युत पौडेल सात वर्ष बहराइन बसेर नेपालमै व्यवसाय गर्ने योजनासहित फर्केको डेढ वर्ष भयो तर उहाँले अझै केही गर्न सक्नुभएको छैन । उहाँ भन्नुहुन्छ, “डेढ वर्षमा दुई÷तीन लाख सकियो तर नयाँ व्यवसाय गर्न सकेको छैन, ‘लस’ भइरा’छ ‘प्लस’ छैन, अझै पनि अन्योलमै छु । उताको सीप यता काम लागेन, सटर भाडामा लिन जाँदा अलग्गै पनि पैसा तिर्नुपर्छ भन्छन् । उताबाट यसो गरांँला भन्ने सोचेको थिएँ, यता आउँदा त्यति सम्भव लागेन । ”
 
उहाँका अनुसार पहिले र अहिलेको समय र अवस्थामा ठूलो फरक आइसकेको रहेछ । खाडीबाट फर्कनेले आठ÷दस वर्षमा औसतमा १५ देखि २० लाख रुपियाँ ल्याएका हुन्छन् । ‘‘त्यति लगानीले काम सुरु गर्न नै पुग्दैन । व्यवसाय सञ्चालन गर्नु प¥यो, त्यसको पनि सुरक्षाको प्रत्याभूति छैन”, उहाँ भन्नुहुन्छ । 
 
कोरियाबाट स्वदेशमै व्यवसाय गर्ने सोच बनाएर नेपाल फर्केका इन्द्र कट्टेलको अनुभव पनि उस्तै छ । “पाँच वर्ष कोरिया बसेर नेपालमै नयाँ व्यवसाय गर्छु भनेर आएको थिएँ । फेरि लामो समय अलमल भयो र पुनः कोरिया फर्कें र दुई वर्षपछि अब त गर्न सकिन्छ होला भनेर आएको सात महिना भइसक्यो, फेरि पनि त्यस्तै भइरहेको छ । अर्काको देशमा पसिना बगाउनुभन्दा बरु आफ्नै देशमा रगत बगाउँछु भन्ने सोचेर आएको हुँ तर सोचेजस्तो भइरहेको छैन”, उहाँ भन्नुहुन्छ । 
 
विदेशबाट फर्केकाहरूलाई व्यक्तिगत रूपमा सहजीकरण गरिरहनुभएका अधिकारी भन्नुहुन्छ, “प्रवासबाट फर्केकाहरू पुनः नजाऊन् भन्नका लागि सरकारले नीति र सहज वातावरण बनाउनुपर्छ । वैदेशिक रोजगारीबाट आएको लगानीका लागि परियोजना र स्वदेश फर्कनेलाई व्यावसायिक तालिमको व्यवस्था गरिदिएमा धेरैले यहीँ बसेर काम गर्ने थिए । ” 
 
नेपालमै नयाँ काम गर्ने योजनासहित दुबईबाट नेपाल फर्किएका सिन्धुपाल्चोकका दिनेश बोहोरालाई पनि लगानी डुब्ने हो कि भन्ने डर छ । उहाँ भन्नुहुन्छ, “वैदेशिक रोजगारीमा भएका अधिकांश साथी नेपाल फर्कन चाहिरहेका हुन्छन् तर चट्टै छोडेर आउन डराउँछन् । यता न उता भइन्छ कि भन्ने डर हुन्छ । यहाँको सम्भावना र बजारको बारेमा बुझाइदिने कुनै निकाय भइदिए हामी जस्तालाई सजिलो हुन्थ्यो । कति त नेपालमा आऊँ के गर्ने, कसरी गर्ने ? उतै गरौँ दिक्दार भइरहेका हुन्छन्, त्यही भएर आत्महत्या गर्छन् । ”
 
Published on: 5 May 2018 | Gorkhapatra

Back to list

;