s

विदेशबाट कति आए नेपाली ?

रविन भट्टराई

विराटनगर : प्रदेश १ मा कोरोना भाइरस संक्रमितको संख्या ३१ पुगेको छ। यीमध्ये १२ जना भारतीय नागरिक छन्। प्रदेश सरकारले भारतको उत्तर प्रदेश र यूएईको दुबईबाट फर्किएकामध्ये एक नेपालीले संक्रमण फैलाएको निष्कर्षमा पुग्न लागेको बताउँदै आएको छ।

'भारतीय नागरिकले नेपाल आएर सारेका होइनन्', सामाजिक विकासमन्त्री जीवन घिमिरेले हालै उदयपुरको संक्रमित क्षेत्र भुल्केमा भने, 'नेपालीले विदेशबाट कोरोना बोकेर ल्याएको निष्कर्षमा प्रदेश सरकार पुग्न लागेको छ।' उनको भनाइलाई आधार मान्ने हो भने प्रदेश १ मा संक्रमण भित्र्याउने विदेशबाट फर्किएका नागरिक हुन्। 

कति नेपाली विदेशबाट फर्किएर कहाँ बसिरहेका छन् भन्ने यकिन तथ्यांक भने छैन। यो विषयमा न प्रदेश सरकारले अध्ययन गर्‍यो न त स्थानीय तहले नै। उदयपुर हुँदै पहाडी जिल्ला भोजपुरसम्म कोरोना फैलिएपछि स्थानीय र प्रदेश सरकार विदेशबाट फर्किएका नागरिकको खोजीमा लागेका छन्। 

बढी संक्रमित भेटिएको उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केमा भारत र दुबईबाट दुई युवक फर्किएका थिए। त्यहाँ उनीहरूबाटै संक्रमण फैलिएको दाबी प्रदेश सरकारको छ। साउदी अरबबाट फागुन ३० मा काठमाडौं हुँदै चैत ११ गते भोजपुर पुगेका युवकमा पनि कोरोना देखिएको छ। दुबईबाट चैत ६ गते नेपाल आएका झापा दमकका युवकबाट उनका बुवामा कोरोना सरेको प्रदेश सरकारले जनाएको छ। 

उदयपुर, भोजपुर र झापा दमकका संक्रमित युवकजस्तै धेरै नागरिक प्रदेश १ मा भित्रिएका छन्। ती सबै घर–घर पुगेका छन्। कोही त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै प्रदेश १ मा भित्रिए, कोही भारतीय बाटो भएर। विराटनगर र काँकडभिट्टा नाकाबाट ठूलो संख्यामा नेपाली आएका थिए। ससाना नाकाबाट पनि यो प्रदेशमा थुप्रै भित्रिएका छन्। उनीहरू कहाँबाट आए र कहाँ पुगे भन्ने यकिन तथ्यांक छैन। लकडाउन सुरु भएपछि सिमानामा आएकाबाहेक कोही क्वारेन्टाइन बसेनन्। उनीहरूको पहुँचमा द्रुत परीक्षणसम्म पुगेको छैन। 

प्रदेश १ का दुई नाका मोरङको रानी विराटनगर र झापाको काँकडभिट्टामा फागुन २५ गतेयता ज्वरो जाँचेर कागजमा धर्का कोरेका भरमा संख्या टिपोट गर्ने कामसम्म भयो। तर, उनीहरूको नाम, ठेगाना र सम्पर्क नम्बर कतै राखिएन। यो गल्ती स्थानीय तह र प्रहरी प्रशासनमा पनि दोहोरियो। यसका कारण कोरोना संक्रमण रोक्ने पहिलो पाइलामै सरकारलाई ठेस लागेको प्रस्ट छ। 

फागुन २५ देखि चैत १० सम्म प्रदेश १ का भारतसँग जोडिएका विभिन्न नाकाबाट २ लाख ५ हजार ७ सय ८४ जना भारतसहित तेस्रो मुलुकबाट नेपाल फर्किएका थिए। लकडाउन सुरु भएपछि चैत ११, १२ र १३ गते भारतबाट ७ सय ८५ जना नेपाल भित्रिए। यो तथ्यांक सिमानामा रहेको हेल्थ डेस्क र प्रदेश १ प्रहरी कार्यालयको हो। यो तथ्यांकमा सीमा बजारमा सामान किन्न गएर फर्किएका नागरिक पनि जोडिएका छन्। 

'सामान्य कामले नजिकैको बजार पुगेर आउने नेपाली पनि यो तथ्यांकमा परे। कति फर्किए भन्ने मात्रै राखियो। कहाँबाट कुन ठाउँका फर्किए तथ्यांक भएन', प्रदेश प्रहरी प्रवक्ता सुमनकुमार तिम्सिना भन्छन्। 

सामाजिक विकास मन्त्रालय तथ्यांकमा कमजोर देखिएको छ। कोरोना फैलिन थाल्दा सिमानामा हेल्प र हेल्थ डेस्क उद्घाटन र कर्मचारी खटाउन दौडिने मन्त्रीले तथ्यांकमा ध्यान दिएनन्। स्थानीय जनप्रतिनिधिले पनि बेवास्ता गरे। मन्त्री घिमिरे प्रदेशका क्वारेन्टाइनमा बसेका नै भारतसहित तेस्रो मुलुकबाट भित्रिएकाको तथ्यांक भएको दाबी गर्छन्। 'यो तथ्यांकका लागि क्वारेन्टाइन नै हाम्रो स्रोत हो', उनी भन्छन्, 'विदेशबाट आएका धेरै क्वारेन्टाइनमा बसेका हुन्।' 

प्रदेश १ मा लकडाउनअघि २ हजार ८ सय ८८ जना क्वारेन्टाइन बसेका थिए। त्यसमा होम क्वारेन्टाइनमा २ हजार ६ सय ५२ र सार्वजनिकमा बस्नेको संख्या २ सय ३६ थियो। लकडाउनपछि होम क्वारेन्टाइनमा ३ हजार ७ सय ५४ र सार्वजनिकमा १ हजार २८ गरी ४ हजार ७ सय ८२ जना बसेको प्रदेश प्रहरीको तथ्यांक छ।

मन्त्री घिमिरेले भने भारतसहित तेस्रो मुलुकबाट आएका ५ हजार जनालाई क्वारेन्टाइनमा राखेको दाबी गर्दै आएका छन्। प्रहरी र मन्त्रीको तथ्यांकमा मेल खाने देखिँदैन। 

यकिन तथ्यांक नहुँदा प्रदेश १ मा कोरोना संक्रमण अझै फैलिने आशंका छ। लकडाउनका बेला काठमाडौंसहित विभिन्न जिल्लामा रोकिएका नागरिकलाई फर्काउँदा, जिल्लामा उनीहरुलाई क्वारेन्टाइनमा नराख्दा संक्रमण गाउँ–गाउँसम्म पुग्ने उत्तिकै सम्भावना छ।

Published on: 28 April 2020 | Annapurna Post

Link

Back to list

;