s

विदेश पठाउने समातिए

मनी ट्रान्स्फर सञ्चालन गरी गैरकानुनी रूपमा विदेश पठाउने गिरोहलाई प्रहरी पक्राउ गरेको छ । प्रहरी प्रधान कार्यालयको केन्द्रीय अनुसन्धान ब्युरोले बालाजु माछापोखरीमा रहेको कन्काई मनी ट्रान्स्फरका सञ्चालक दुर्गा निरौला र उनका छोरा सोमथानलाई पक्राउ गरेको हो ।

कामदार जान र पठाउन प्रतिबन्धित मुलुक अफगानिस्तान, इराक लगायतका चार देशमा गैरकानुनीरूपमा कामदार पठाएर मोटो रकम असुल्ने गरेको सिआइबी प्रमुख डिआइजी राजेन्द्रसिंह भण्डारीले बताए । उनका अनुसार दक्षिण कोरिया र पोल्यान्डमा कामदार पठाउने गरेका थिए । 'श्रम स्वीकृतिको पत्र, प्रहरी रिपोर्ट, मेडिकल रिपोर्ट सबै नक्कली बनाएको देखिएको छ' डिआइजी भण्डारीले भने, 'प्रतिबन्धित देशमा पनि कामदार पठाउने गरेको रहेछ ।'

दुर्गा निरौला ७ वर्ष मलेसिया बसेर फर्किएका व्यक्ति हुन् । ब्युरोका अनुसार उनीहरूले इराकमा प्रतिव्यक्ति १ लाख १० हजार रुपैयाँका दरले २२ जना र अफगानिस्तानमा प्रतिव्यक्ति २ लाख ५० हजार रुपैयाँका दरले १६ जनालाई पठाइसकेका छन् ।

बाबुछोरा दुवै जनालाई मंगलबार वैदेशिक रोजगार विभाग तीनकुनेमा बुझाएको छ । प्रहरीले त्यहाँबाट २० वटा मेसिन रिडेबल पासर्पोट (एमआरपी) सहित १ सय ७५ वटा राहदानी, प्रहरी रिपोर्ट १७ वटा, मेडिकल रिपोर्ट १८, ३२ वटा भिसा, विभिन्न १७ व्यक्तिको नाममा होटल तथा कम्पनीबाट जारी भएका नक्कली अनुभव पत्र बराद गरेको छ ।

Published on: 10 August | 2011 | Kantipur

Back to list

;