s

विदेश पठाउने भन्दै १ हजार जनाबाट २ करोड ५० लाख ठगी, ६ जना पक्राउ

३० जेठ, काठमाडौं । विदेश पठाउने भन्दै करिब एक हजार जना व्यक्तिबाट २ करोड ५० लाख ठगी गर्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ ।

कन्सल्टेन्सी खोलेर पोल्यान्ड, पोर्चुगल, फ्रान्स, माल्टा, रोमानिया, क्रोएसियालगायत देश पठाउने भन्दै ठगी गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको हो ।

सुर्खेतका रेशम रावल, प्रेमबहादुर रावल, काभ्रेका सुरेन्द्र तामाङ, मोरङका सन्तविर घिमिरे, डडेलधुराका राजेश साउद र अछामका टंकराज खनाललाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको छ ।

उनीहरूले काठमाडौंको तीनकुनेमा युनिक कन्सल्ट्स, वर्ल्डवाइड कन्सल्ट्स, ग्लोबल ह्युमेन म्यानेजमेन्ट, रायन इजुकेसन कन्सल्टेन्सी र रावल टार्भल एन्ड टुर्स कम्पनी स्थापना गरेका थिए ।

यी कम्पनीका नाममा उनीहरूले सामाजिक सञ्जालमा विज्ञापन गर्ने र विदेशी पठाउने आश्वासनमा सक्कली कागजपत्र लिने गरेका थिए । हरेक व्यक्तिसँग ३५ हजार रुपैयाँ असुलेर १७ हजार रुपैयाँको मात्रै रसिद दिने गरेको प्रहरीले जनाएको छ ।

सक्कली कागज फिर्ता माग्दा प्रतिव्यक्ति डेढ लाखदेखि २ लाखसम्म मागेको प्रहरीले जनाएको छ । यसरी करिब एक हजार जनाबाट २ करोड ५० लाख जति ठगी गरेको प्रहरीले प्रारम्भिक निष्कर्ष निकालेको छ ।

Published on: 13 June 2024 | Onlinekhabar

Link

Back to list

;