s

विदेश पठाउने भन्दै, ठग्दै

पर्वत पोर्तेल

इलाम गोदकका मनोज दुलाल पुस १० गते राति १० बजेअगावै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगिसकेका थिए । उनलाई विदेश लैजान खोजेका अनुप सुब्बाले भनेका थिए, ‘टिकट तयार छ, १० बजेअगाडि एयरपोर्ट पुगिसक्नु ।’

दुलाल हतार गर्दै विमानस्थल पुगे । चेक इन गर्न खोज्दै थिए । अध्यागमनका कर्मचारीले टिकट जाँच गर्दा थाहा पाए, उनको नामको टिकट क्यान्सिल गरिसकिएछ । राति विमानस्थलमै अलपत्र परे । कतारको राम्रो कम्पनीमा काम लगाइदिने भनेर २ लाख रुपैयाँ असुलेका सुब्बा त्यसयता सम्पर्कविहीन छन् ।
 
झापा, गौरीगन्जका सभालाल ताजपुरियाको कथा पनि उस्तै छ । भद्रपुर ७ का खकन सरकारले माल्दिभ्स पठाइदिने भन्दै पटक–पटक गरी २ लाख ७८ हजार असुले । गत फागुन १९ मा सरकारले उनलाई जहाजको टिकट र भिसा पनि थमाए तर साँझ ६ बजेतिर दलालले फोनमा भने, ‘एयरपोर्टमा सेटिङ मिलेको छैन, आजको फलाइट क्यान्सिल भयो, एक(दुई दिनमा उडाइदिन्छु ।’ ताजपुरिया छाँगाबाट खसेझैं भए ।
 
वैदेशिक रोजगार विभागमा उजुरी दिन गए, लिन मानेन । प्रहरीको मुख्यालयमै उजुरी दिए । फसेको रकम उठाउन उनलाई हम्मे परेको छ । झापा भद्रपुर ६ का यामबहादुर मगरले पोल्यान्ड जानका लागि दमक १ का कमल कट्टेललाई ३ लाख रुपैयाँ बुझाएको दुई वर्ष भयो । कट्टेल रकम लिएर बेपत्ता भए । २०७४ माघ १२ मा आमा मनमाया र दाजु वेणु कट्टेलले रकम तिर्ने सहमति गरे, मुद्दा नहाल्ने सर्तमा । मगरले पीडकविरुद्ध कतै उजुरी गरेनन् । सहमतिको १४ महिना बितिसक्दा पनि उनले रकम पाएका छैनन् । वैदेशिक रोजगार विभाग पुगेर ठगिएको उजुरी दिन खोज्दा कर्मचारीले हप्काएर पठाएको उनले बताए ।
 
यी प्रतिनिधि घटना हुन् । झापामा वैदेशिक रोजगारीसम्बन्धी ठगीका घटना बढिरहेका छन् । वैदेशिक रोजगारीका लागि सुरक्षित आप्रवासन सामी परियोजनाका अनुसार साउनयता विभिन्न देश लैजाने बहानामा ४१ जना सर्वसाधारणबाट करोडौं रुपैयाँ ठगिएको छ । खासगरी माल्दिभ्स, पोल्यान्डसहित खाडी मुलुकमा पठाइदिने बहानामा ठगिने धेरै छन् । सामी परियोजनामा कार्यरत दुर्गा खनालले ठगीका घटना बढे पनि सम्बन्धित निकायको बेवास्ताका कारण पीडितले न्याय पाउन नसकेको बताए । ‘न्यायका लागि प्रहरीलाई गुहार्छन्,’ खनालले भने, ‘तर कुनै सहयोग पाउन सक्दैनन् र निराश भएर फर्किन्छन् ।’ प्रहरी वैदेशिक रोजगारीमा हुने ठगीको उजुरी लिन मान्दैन ।
 
गौरीगन्जका सभालाल ताजपुरियाले आफूलाई ठगी गर्ने भद्रपुर ७ का खकन सरकारलाई पक्राउ गरी रकम फिर्ताका लागि पटक–पटक प्रहरीलाई अनुरोध गरे तर प्रहरीले चासो दिएन, पीडित आफैंले समातेर बुझाएका पीडकलाई पनि छाडिदियो । ‘लामो समयदेखि प्रहरीले पक्राउ नगरेपछि आफैंले खोजेर बुझाएका थियौं,’ सभालालले भने, ‘पछि प्रहरीले छाडिदिएछ ।’ इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी सुवास खडकाले खकनलाई ‘बोलाएका बेला उपस्थित हुने’ सर्तमा छाडिएको बताए ।
 
झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले पछिल्लो समय वैदेशिक रोजगारीमा हुने ठगीका उजुरी बढेको बताए । उनले भने, ‘उजुरी आउने क्रम बढ्दोछ । कारबाहीका लागि तत्काल प्रहरीलाई पठाउँछौं ।’श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले हालै सञ्चालनमा ल्याएको कल सेन्टरकी कर्मचारी स्नेहा राईले श्रमस्वीकृति नभएका कारण कतिपय पीडितलाई न्याय लिन नसकिएको बताइन् । उनले भनिन्, ‘श्रमस्वीकृति नलिईकन विदेशपठाउने क्रममा ठगिएकालाई सम्बन्धित जिल्ला प्रशासनमा पठाउने गरिएको छ ।’
 
Published on: 15 April 2019 | Kantipur

Back to list

;