s

विदेश मोहले ठगिने बढे

काठमाडौँ, साउन २५ गते । प्रतिष्ठित कम्पनीमा कम्तीमा एक लाख रुपियाँ पाउने प्रलोभन देखाएर गिरीले पीडित राजकुमार (नाम परिवर्तन) सँग दुई लाख रुपियाँ लिएर सम्पर्कबिहीन बने । यस्तैमा वैदेशिक रोजगारीमा साइप्रस पठाइदिने भन्दै ठगी गरेको आरोपमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार सिन्धुली सुनकोशी–३ का राजन गिरीलाई काठमाडौँबाट पक्राउ ग-यो ।

गैरकानुनी बाटोबाटै साइप्रस पुग्ने सपना बोकेका राजकुमारलाई साइप्रस जान के के आवश्यक कागजपत्र चाहिन्छ भन्नेसम्म पत्तो छैन ।

यति मात्र होइन साइप्रस, क्रोएसिया र पोल्यान्डमा मासिक दुई लाख रुपियाँभन्दा बढी आम्दानी हुने काममा लगाइदिने प्रभोलनमा परी तीन जना युवासँग जनही छदेखि आठ लाख रुपियाँसम्म असुल गरियो । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सो घटनामा संलग्न सुनसरी बराहक्षेत्र–७ का मौसम मग्राती, सिन्धुपाल्चोक त्रिपुरा सुन्दरी–५ का अनन्त प्रकाश श्रेष्ठ र उदयपुर ताप्ली–४ का प्रचलन राईलाई यही साउन ११ गते नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ। प्रहरीले श्रेष्ठलाई काठमाडौँ जोरपाटीबाट, मग्रातीलाई काँडाघारीबाट र राईलाई ललितपुरको नखिपोटबाट नियन्त्रणमा लिएको हो।

अर्को घटनामा माल्टामा मासिक दुई लाख रुपियाँको जागिर लगाइदिने प्रलोभन देखाएर पीडितसँग नौ लाख रकम ठगी गरी फरार रहेका मुगु छायानाथ रारा–३ का प्रवीन खड्का गत जेठ २८ गते कुलेश्वरबाट पक्राउ परे। सोही दिन उदयपुर चौदण्डीगढी–७, बेलटारकी सुनिता न्यौपाने श्रेष्ठलाई प्रहरीले पुल्चोकबाट पक्राउ ग-यो। अमेरिका पठाएर मोबाइल सफ्टवेयर कम्पनीमा मासिक तीन लाख रुपियाँ आम्दानी हुने जागिर लगाइदिने प्रलोभन देखाएर सुनिताले पीडितसँग छ लाख २१ हजार रुपियाँ ठगी गरेको उजुरीपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।

यी केही प्रतिनिधि घटना मात्र हुन्। वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गर्ने घटना पछिल्लो समय बढेका छन्। काठमाडौँ उपत्यकामा मात्र एक वर्षमा वैदेशिक रोजगारीका नाममा ठगी गर्ने २२० जनाविरुद्ध पक्राउ पुर्जी जारी गरी ८१ जनालाई नियन्त्रणमा लिइएको छ। पक्राउ पर्नेमा ६४ पुरुष र १६ जना महिला छन्। अपराध अनुसन्धान कार्यालयले पक्राउ परेका ८१ जनाविरुद्ध २२ करोड २२ लाख ८७ हजार बिगो माग गरी अदालतमा मुद्दा दर्ता गरेको छ।

अपराध अनुसन्धान कार्यालयको टोलीले उपत्यका बाहिरबाट थप छ जना पुरुष र एक महिलालाई नियन्त्रणमा लिई मुद्दा चलाएको छ। वैदेशिक रोजगारका नाममा ठगीका घटना बढ्न थालेपछि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले अनुसन्धान र कारबाहीलाई तीव्रता दिन वैदेशिक रोजगारी ठगी अनुसन्धानका लागि एकाइ नै खडा गरेको छ।

अपराध अनुसन्धान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक डा. मनोज केसीले वैदेशिक रोजगारी ठगीमा विभिन्न समूहमा गिरोह सक्रिय रहेकाले सो एकाइले उनीहरूमा निगरानी बढाएको जानकारी दिनुभयो।

उहाँले भन्नुभयो, “अमेरिका, युरोपमा पठाउने भने पनि तत्काल रकम बुझाउन तयार हुने तर ती देशमा जान आवश्यक कागजपत्र र प्रक्रिया नै नबुझी ठगिनेको सङ्ख्या उल्लेख्य छ।”

उहाँले यस प्रकारको ठगी रोकथामका लागि प्रहरीको अपरेसनसँगै आवश्यक जनचेतना जगाउनुपर्ने बताउनुभयो। अपराध अनुसन्धान विभागले गरेका पछिल्ला अपरेसनमा पक्राउ परेका व्यक्ति र पीडितको सम्पर्क कतिपय वैदेशिक रोजगार कम्पनीमा भएको समेत पाइएको छ। तर रकम ठगेपछि प्रहरीसँग उजुरी आइपुग्दासम्म पीडक ती कार्यालयका सम्बन्धित व्यक्ति नै नभएको समेत पाइएको छ।

प्रहरी वरिष्ठ उपरीक्षक डा. केसीले कतिपय ठगी गर्ने समूहले आफ्नो वास्तविक परिचय लुकाएर ठगी गर्ने, कुनै पनि प्रमाण नदेखिने गरी योजनाबद्ध रूपमा प्रलोभनमा पारेर रकम असुली गर्ने र कतिपय विदेशमा बसेर समाजिक सञ्जालबाटै सम्पर्क गरी रकम ठग्ने जस्ता घटना पछिल्लो समय बढेको बताउनुभयो।

Published on: 10 August 2023 | Gorkhapatra

Link

Back to list

;