s

विदेश लहरको रमिता

कतिका रहर होलान्, कतिका बाध्यता। हरेक दिन गौशालादेखि सिनामंगलसम्म भीडभाड। यी दुई ठाउँको बीचमा पर्ने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुग्नासाथ धेरै किसिमका घटना र दृश्य देख्न सकिन्छ। हरेक दिन सामाजिक सञ्जालमा आज मेरो फलानोको यात्रा सफल होस् भनेर १०÷२० थान फोटो पोष्ट गरेको देखिन्छ। त्यस्ता स्टाटसमा ‘शुभ यात्रा’ लेखिदिन्थे तर आफूनजिक भएर त्यहाँको घटना परिघटना नियाल्दा साँच्चै नै मन तितो भएर आउँदोरहेछ। त्यहाँ दैनिक लगेजका ठेली सकी नसकी उचाल्दै कतिबेला देश छोडेर उडौं भन्ने कतिपय यात्रुमा छ भने कतिपय यात्रीलाई आफूसँग भएको पैसा घुमेर मनोरञ्जन गरेर खर्च गर्न मन छ।

कतिलाई जसोतसो विमानस्थल पुगे भने विदेश गएर काम गर्न थाल्छु, अनि त घरपरिवारलाई पैसा पठाउँछु भन्ने सपना बोकेर हिँडेका छन्। यही सिलसिलामा कोही व्यापारी कोही अन्य सरकारी काम तालिम आदिमा पनि छन्। गाउँघर रित्तिएको छ, गाउँघरमा त्यही खेती किसानी गरेर जीविकोपार्जन गर्ने बाउआमालाई त्यही गाउँ प्यारो भएको छ। छोराछोरी नातिनातिना र बुहारीलाई गाउँ देख्नसम्म नपरेहुन्थ्यो जस्तै हुँदैआएको छ। विमानस्थलमा देख्न सकिन्छ। कहाँ जाने ? भन्दा फलानो देशमा को हुनुहुन्छ भन्दा मेरो श्रीमान्, हामी पहिलेदेखि नै त्यही बस्छौं। अर्को समूह हुन्छ– ज्येष्ठ नागरिक आमा बुबा, कहाँ जाने, त्यहाँ को हुनुहुन्छ ? छोरा बुहारी छन् भेट्न जान लागेका के गर्नु नानी उनीहरू नआउने भन्छन् अब हामी नै जान लागेका।

अर्को थरी समूह छ। खाडी मुलुकमा कामको सिलसिलामा हिँडेका रोजगारीका लागि जुन कतिपय अविवाहित छन्। जाने समयमा त खुसी नै होलान् तर फर्किने समयमा के सकुसल फर्केलान् त ? के ती नारीहरू अहिले आफ्नो स्वदेशमा दुःख गर्न नसकेर अर्काको देशमा गएका बिनाशोषण आफ्नो देशमा सकुसल फर्किन पाउलान् त ? पक्कै सबैले पाउँदैनन्। घुमफिर, कमाइ र इज्जतसाथ फर्किन सक्लान् ? यसका उदाहरण केही समय अगाडि एउटी चेलीले नवजात शिशुलाई एयरबसको चर्पिमा जन्म दिएर बच्चा मरेको खबरले पनि पुष्टि हुन्छ।

जापान, अमेरीका, अष्ट्रेलिया, क्यानडा, बेलायत, जर्मनजस्ता मुलुक जो आफैंमा धनी देश जहाँ जान धेरैले पाएका हँुदैनन्। एकातिर दुरदराजमा जन्मेका बा–आमा, हजुरबा, हजुरआमा पिटिक पिटिक पड्काउने चप्पलसम्म किन्न नसक्नेलाई राजधानी कस्तो हुन्छ ? कस्ता–कस्ता मान्छेको बसोबास हुन्छ ? भनेर घरबाहिर टोलसमाजबाट टाढा ननिस्किएका ति नागरीक आफन्त परिवार सदस्य देश छोडेर जाँदैछन् भन्दा पनि यति धन कमाएर ल्याउँछ अरे। धेरै पैसा कमाउने जागीर पाइन्छ अरे भन्नेमा मख्ख छन्। थाहा छैन अर्काको देश दुःख विदेश जानेबेलामा घेरा लागेर फोटो खिच्न मख्ख हुन्छन्। के थाहा त्यो मरुभुमीको पिडा के थाहा ?

आफ्नो घरमा आमा हजुरआमाले घडीको सुईले नौ बजाइसक्दा पनि नउठेपछि नानीबाबु उठ खाना खान, खाना तयार भयो भन्दै उठाएर ख्वाएको वातावरण अर्काको देशमा पनि पाउलान् ? आफ्नो देशमा सानो बारीको पाटो गाईभैसीको गोठ सफा गर्न छोराले गर्न हुँदैन उमेरले बीस वर्ष कट्दा पनि बालखै छ भन्दै संरक्षण पाएका छोराछोरी नातीनातिनाले अर्काको देशको श्रम र खटाई मेसीन जसरी काम गर्न सक्लान् त ? त्यहाँ ध्यान जान नसकेर आज धेरैको काख रित्तिएको छ। धेरै नारीको सिउँदो पुछिएको छ। पठाउने समयको रंगिन फोटो थाहा छैन, सपनाको मलामी बन्ने हो की ? धनको धनी धेरै थरीको सपना बन्ने क्षमता बेच्न हिँडेका यात्री सायद धेरै कमाइने बुझेका हुन्छन्। बिमानस्थलमा एक थरीमात्र हैन, हजारौं थरीका सपनाका यात्रीको मन पढ्न नसकेर बाहिरै गएका हुन्छन्।

अर्कोथरि भेटिन्छन् खाडी मुलुकमा। साथी वा आफन्तको कमाई देखेर आ... जाबो नेपाल बसेर के नै हुन्छ र ? बरु विदेश जान्छु। ४÷५ वर्ष बसेर आएँ भने त मेरो जिन्दगी बन्छ भन्नेहरू छन्। यी कुरा सुन्दा लाग्छ मानौं– विदेशमा त पैसा फल्छ। टपटप टिपेर झोला भरेर ल्याउन मात्र जाने हो। यति समम ज्ञान लिँदैन कि मेरो कुन एयरलाइन्स हो। कुन समयमा मैले पुग्नु पर्छ। मैले यात्रा गर्दा के के कागजात चाहिन्छ ? कतिसम्म अध्ययन गरेपछि जान पाइन्छ। केही थाहा हँुदैन। कुन देशमा जाँदै छु ? मलाई त्यहाँ पुग्न कति बजे जाने कति सामान लान पाइन्छ ? के के लान हुँदैन आदि सामान्य जानकारीको अध्ययन समेत नगरी जाँदा कसरी काम र जिम्मेवारी अर्काको देशमा निभाउलान् ? यसको जिम्मेवार को त ? स्थानीय तह, सरकार वा स्वयं नागरीक, नागरीकलाई लाग्दो हो। हाम्रो गुनासो एयरलाइन्सले अन्यले सुनेन। हामीलाई अनावश्यक कुरा सोधेर दुःख दियो। उहाँहरूको सोचाई गलत त नहोला तर उहाँहरू जिम्मेवार सरकारले तोकेका कर्मचारीलाई आफ्ना सुचना लुकाएर जाँदै हुनुहुन्छ भने यहाँबाट जानुहोला। तर, अर्काको देशमा उहाँहरूलाई कसले सहायता गर्ला ? त्यसतर्फ पनि सोच्न जरुरी होला नि ? एकातिर भाषाको अभाव अर्को पर्याप्त सूचनाको अभाव। स्वदेशमा फर्किनुको विकल्प नहोला कि ?

सधैं अर्काको देशमा सहायता कसले गर्छ ? अन्य मुलुकमा नियम कानुन तौरतरिकामा चल्ने देशमा कसरी उहाँहरूको समय बित्ला ? रोजगारी पाउनु होला त ? सबैलाई लागु नहोला जो सरकार परिवार सबैलाई ठगेर जानुभएकोे छ, पक्कै सजिलो नहोला। एक साँझ विमानस्थलमा त्यतिकै बसिरहेकी थिएँ। ५÷६ जना युवाको समुह आयो। कुरा गर्दै थिए। आज फलानो अष्ट्रेलिया गयो यार नगएर पनि के गर्नु ? यहाँ रोजगारी छैन। बुढीआमा भएको ठाउँमा गएँ, उमेरले उहाँ ७० वर्षको हाराहारीमा हुनुहुन्थ्यो। उहाँले सधैं साग व्यापार गर्नु हुँदोरहेछ। जाडोमा तातो मिठो चिया, चना, अण्डा उसिनेको, दुनोट, चुरोट माग्दै उहाँले गोजिबाट पैसा दिनुभयो।

रातीको २ बजेसम्म ती आमा व्यापार गरेर सुत्नु हुन्छ। फेरि दिउँसो अन्य काम पनि गर्नु हुन्छ। उहाँले लगभग रातीमा मात्र ३ हजार÷३५ सयको व्यापार गर्नुहुँदो रहेछ। एउटी ७० वर्षकी आमाले आफ्नै देशमा काम गर्न सक्नु हुन्छ भने २२–२३ वर्षको युवाले काम गर्न सक्दैन ? सबै अरू माथी समस्या गुनासो कम गर्ने धैर्यतापूर्वक विदेशमा जस्तो कामको सम्मान गर्ने हो भने जीवीकोपार्जनका बाटाहरू प्रसस्त छन्। विदेश जाने समयका फोटो र भिडीयो सामाजिक सञ्जालमा राख्न नपाउँदै, काठको बाकसमा आफन्तको लास आउँदा कस्तो होला ? यही अवस्थाको चित्रण देख्दा साच्चै नै मन पोलेर आउँछ। विदेश प्रस्थान गर्नुअघि पशुपतिमा दर्शन गरेर हिँडेका त्यही हुन्। केही सक्रियपछि त्यही अन्त्येष्ठी गर्न बाध्य भएका हुन्छन्।

Published on: 8 April 2024 | Annapurna Post

Link

Back to list

;