s

विदेश जानेको संख्या घट्यो, रेमिट्यान्स २३ प्रतिशत बढ्यो

पछिल्लो समय वैदेशिक रोजगारीमा जानेको संख्या निरन्तर घट्दो छ । वैदेशिक रोजगारीमा जानेको संख्या घटे पनि रेमिट्यान्स (विप्रेषण) आप्रवाह भने बढ्यै छ । चालु आर्थिक वर्षको माघ मसान्तसम्म २८ प्रतिशतभन्दा बढीले बढेको रेमिट्यान्स चैस महिनामा पनि २३.४ प्रतिशतले बढेको छ ।
 
चालु आर्थिक वर्षको तेस्रो त्रैमास अर्थात चैत मसान्तसम्म विभिन्न देशहरुबाट ५ खर्ब ८२ अर्ब १९ करोड रुपैयाँ भित्रिएको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ ।अघिल्लो आर्थिक वर्षको तुलनामा विप्रेषण आप्रवाह २३.४ प्रतिशतले वृद्धि भइ ५ खर्ब ८२ अर्ब १९ करोड पुगेको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ४.९ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ११.६ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ९.५ प्रतिशतले बढेको थियो ।
 
यसैगरी चैत मसान्तसम्म खुद ट्रान्सफर आय २२.९ प्रतिशतले वृद्धि भई ६ खर्ब ६२ अर्ब ७० करोड पुगेको राष्ट्र बैंकले जानकारी दिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ०.७ प्रतिशतले घटेको थियो । रेमिट्यान्स बढे पनि वैदेशिक रोजगारीमा जानको संख्या भने घटेको छ । राष्ट्र बैंकका अनुसार अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) का आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा अवधिमा ३८.३ प्रतिशतले घटेको छ ।
 
अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ५.४ प्रतिशतले घटेको थियो । साथै, पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा अवधिमा ४.६ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १.३ प्रतिशतले घटेको थियो ।
 
Published on: 16 April 2019 | Onlinekhabar

Back to list

;