s

विदेश जानेको नामावली संकलन

राजेन्द्र नाथ

वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउन बाँकेका गाउँमा विदेश जानेको नामावली संकलन थालिएको छ । जोखिम विश्लेषण सहितको नामावली लिइएको हो । गाउँमा स्थापना भएका सुरक्षित बसाइसराइ सञ्जालले विदेश जानेको नामावली र त्यहाँ जाँदा अपनाइएको प्रक्रिया र जोखिम विश्लेषण सहितको नामावलीले स्थानीयवासीलाई सावधानी अपनाउन मद्दत पुग्ने बताएका छन् ।

'हाम्रो गाविसमा ४० जनाको नाम संकलन भएको छ । उनीहरू रोजगारीका लागि पुगेको मुलुक र त्यहाँ भोग्नुपरेको दुःख बारे मासिक प्रतिवेदन बनाउने र छलफल चलाउने गरेका छौं,' बेतनी गाविस सञ्जाल अध्यक्ष मोहम्मद साबिर खानले भने । वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित तथा व्यवस्थित बनाउन विश्लेषणसहित नामावली संकलनमा जोड दिइएको हो ।

यो काममा पुरुषसँगै गाउँका महिला समेत खटिएका छन् । बेलभारकी मन्जु तिवारीले विदेश जानुअघि गाउँमा परामर्श दिइनुका साथै त्यहाँ काम गर्न थालेपछिका गाह्रा र अप्ठेरासमेत गाउँमा छलफल हुन थालेको बताइन् । 'दलालमार्फत अवैद्य ढंगले विदेश गएकाहरूले त्यहाँ दुःख पाइरहेका छन्,' उनले भनिन्, 'परिवारका सदस्यहरूसँग कुरा गरेर त्यसको जानकारी स्थानीय प्रशासनलाई समेत दिन थालेका छौं ।'

इच्छुकलाई सही सूचना र जानकारी दिएर कानुनी बाटो मार्फत विदेश जान समेत परामर्श दिन थालिएको हो । सुरक्षित बसाइसराइ सन्जालले निःशुल्क रूपमा त्यसरी कानुनी तथा व्यावहारिक परामर्श दिन थालेको छ । साथी संस्थाको समन्वयमा गठन भएका सन्जालहरूले सुरक्षित बसाइसराइमा जोड दिँदै गाउँघरमा भइरहेका अन्य घरेलु हिंसा लगायतका सामाजिक समस्या समाधानमा समेत अगुवाइ गरिरहेको संस्थाका शंकर न्यौपानेले बताए ।

विदेश जानेहरूलाई रोक्न नसकिने तर जाँदा कानुनी र सुरक्षित तवरले जान सल्लाह दिने गरिएको साथीकी कार्यक्रम संयोजक कमला पन्तले बताइन् । 'हाम्रो लक्ष्य भनेको रोक्ने होइन । सुरक्षित वैदेशिक रोजगारको वातावरण तयार पार्ने हो ।' उनले भनिन् । दलालहरूले भारतीय बाटो भएर गैरकानुनी ढंगले विदेश पठाउने घटना बढेपछि सन्जाल गठन गरेर सल्लाह दिन थालिएको उनको भनाइ छ ।

पछिल्ला दिनमा दलालले आकर्षक पारिश्रमिक तथा विभिन्न प्रभोभनमा पारेर भारतीय बाटो हुँदै नेपाली महिलालाई खाडी तथा अन्य मुलुकमा जोखिमपूर्ण तरिकाले पठाउने गरेका छन् । वैदेशिक रोजगारमा जाने प्रक्रिया तथा त्यहाँ पुगेपछि काम गरेबापत पाइने सेवा सुबिधाबारेमा अनभिज्ञ हुँदाहुँदै पनि धेरै त्यसरी जाने गरेको पुरैनीका होलिराम साहुले बताए । जानकारी अभावले त्यहाँ पुगेपछि अझ महिलाले शारीरिक, मानसिक तथा यौनिक हिंसा सहन बाध्य हुनुपरेको छ । त्यसरी लगिएका महिलाको उद्धार पनि सम्भव हुँदैन ।

Published on: 27 March 2014 | Kantipur

Back to list

;