s

विदेश जानेहरू हुम्लातिर

जयबहादुर रोकाया

सीप र दक्ष युवाका लागि हुम्लामा पनि विदेशमा सरह रोजगारी मिल्न सक्छ भन्ने उदाहरण मानबहादुर सारू बनेका छन् । पाल्पा कसेरी ३ ओलेखका उनी रोजगारीका लागि मध्यपश्चिमी हिमाली जिल्ला हुम्ला आएका हुन् । मलेसियाबाट फर्केर हुम्ला आएका सारूले कान्तिपुरसित भने, 'स्वदेशमै रोजगारी पाउँदा सन्तुष्ट छु ।'

सारू राम्रा डकर्मी हुन् । उनको मासिक आम्दानीबाट खान, बस्न पुगेर कम्तीमा १६ हजार बचत हुने गरेको छ । स्वदेशमै रोजगारी सिर्जना गर्ने सारू एक्ला होइनन् । वषौर्ंदेखि पाल्पाबाट रोजगारीका लागि हुम्ला आउनेको संख्या ठूलै छ । सारूका अनुसार ६० भन्दा बढी पाल्पाली मजदुर हुम्लामा काम गर्न पुगेका छन् । तीमध्ये धेरैजसो विदेश काम गरेर फर्केका युवा हुन् । 'विदेशभन्दा देशकै विकट जिल्लामा पुगेर काम गर्न ठीक लाग्यो,' सारूले भने ।

पहिलोपटक २०६० सालमा मलेसिया पुगेका सारूले त्यहाँ मासिक १४ हजार रुपैयाँ बचाउँथे । प्लास्टिक उद्योगमा काम गरेपछि उनी साउदी पुगे । त्यहाँ मार्बल कम्पनीमा मासिक १२ हजार जागिर पाउँथे । 'त्यति तलबले ऋण तिर्न सकिएन । न त बचाउनै सकियो,' उनले भने, त्यहाँबाट बंगलादेश र बहराइन हुँदै नेपालमा फर्के । हुम्लामा सिकर्मी, डकर्मीको माग धेरै रहेको थाहा पाएपछि साथीहरूसँगै सिमकोट पुगेको उनले बताए ।

विदेश जाँदा हजारौं ऋण काढ्नुपर्छ । स्वदेशमै काम गर्दा भाषामा सजिलो र घरपरिवारसँग नजिकै बस्न पाइने भएकाले हुम्ला आएको उनले बताए । पाल्पाबाट हुम्ला आउन २० हजारमात्र खर्च लाग्छ । आफूले चाहेका बेला घर जान पाइन्छ । 'घर भाडा, खाना खाएर १६ हजार बच्दा सन्तोषै मान्नुपर्छ,' उनले भने ।

पाल्पाबाट हुम्ला पुगेका मध्ये १५ जना वैदेशिक रोजगारीबाट फर्केका व्यक्ति हुन् । मलेसियाबाट फर्केका २, दुबईबाट फर्केका ३, कतारबाट फर्केका ४, साउदीबाट फर्केका ६ जना हुम्लामा विभिन्न पेसा गरेर बसेका छन् । उनीहरूले घर फर्किंदा कम्तीमा एक लाख लिएर फर्किने गरेका छन् । '६/७ महिनामा एक लाख लिएर घर गइन्छ,' सारूले भने ।

कणर्ालीमा रोजगारीका अवसर नभएको भन्दै सरकारले कणर्ाली रोजगार कार्यक्रम सञ्चालन गर्दै आएको छ । तर हुम्लामा अहिले रोजगारीका अवसर बढ्दै गएकाले बाहिरी जिल्लाबाट सर्वसाधारण आएका छन् ।

Published on: October 2012 | Kantipur

 

Back to list

;