s

विदेश जाने श्रमिकको संख्या ३.६८ गुणाले वृद्धि

काठमाडौँ — वैदेशिक रोजगार विभागका महानिर्देशक शेषनारायण पौडेलले आर्थिक वर्ष २०७८/०७९ मा विदेश जाने श्रमिकको संख्या ३.६८ गुणाले वृद्धि भएको बताएका छन् । शुक्रबार विभागमा वैदेशिक रोजगार विभागको आर्थिक वर्ष २०७८/०७९ को वार्षिक समीक्षा तथा छलफल कार्यक्रममा महानिर्देशक पौडेलले यस्तो बताएका हुन् ।

उनले चालु आर्थिक वर्षमा विदेश जाने श्रमिकको संख्या ३ दशमलब ६८ गुणाले वृद्धि भएर ६ लाख २८ हजारभन्दा माथि पुगेको बताए । चालु आर्थिक वर्षमा अहिलेसम्मकै धेरै श्रम स्वीकृति दिइएको पनि उनको भनाइ छ । महानिर्देशक पौडेलले अहिले पनि अन्तर्राष्ट्रिय मुलुकमा वैदेशिक रोजगारी कोभिडभन्दा अगाडिको लयमा नआइसकेको भए पनि नेपालको वैदेशिक रोजगार अवस्था पूर्ण रुपमा लयमा फर्किएको बताए ।

यस्तै २०५१ सालदेखि नेपालमा श्रम स्वीकृत जारी गरेर यो वर्षसम्म ७१ लाख २० हजारभन्दा बढी श्रम स्वीकृत भइसकेको तथ्यांक महानिर्देशक पौडेलले दिए । यस क्रममा ७१ लाख श्रम स्वीकृतमा ६७ लाख पुरुष र ३ लाख महिलालाई श्रम स्वीकृति दिएको उनले जानकारी दिए ।

महानिर्देशक पौडेलले चालु आर्थिक वर्षमा मात्रै गत आर्थिक वर्षको भन्दा ४ लाख ६१ हजार बढी रहेको बताए । ‘अहिलेसम्मको सबैभन्दा धेरै श्रम स्वीकृत यो आर्थिक वर्षमा भएको छ । अहिले अन्तर्राष्ट्रिय देशहरुको चिन्ता के छ भने वैदेशिक रोजगारी कोभिड भन्दा अगाडिको लयमा आउन सकेको छैन । २०५१ सालदेखि नेपालमा श्रम स्वीकृत जारी गरिरहेका छौं । अहिलेसम्म ७१ लाख २० हजार भन्दा बढी श्रम स्वीकृत भएको छ । यो भनेको रि इन्ट्री समेतको गरेर हो । यसमा ६७ लाख पुरुष र ३ लाख महिला हुनुहुन्छ । श्रम स्वीकृति २०७३ देखि निरन्तर ओरालो लागि रहेको छ,' महानिर्देशक पौडेलले भने ।

Published on: 18 July 2022 | Kantipur

Link

Back to list

;