s

विदेश जाने लोभमा ठगिए युवा

नविन अर्याल
 
दाङ घोराहीकी अञ्जु डाँगी जागिर गर्दै स्नातक पढिरहेकी थिइन् । एक्कासी लमहीका तीन युवाले अस्ट्रेलिया जाने सपना देखाइदिए । चिनजानका प्रवीन भुसाल र बिक्रम कौशडियाले आफूहरू अस्ट्रेलियामा आइसकेको बताउँदै सामाजिक सञ्जालमा म्यासेज पठाउँथे । अस्ट्रेलिया आउने भएमा राम्रो मान्छे (डाक्टर, रातो पासवर्ड भएको, ३९ मुलुक हेर्ने, इन्डियामा बसेर काम गर्ने) चिनेको बताएपछि अञ्जु र उनको ठूलो ममीको छोरीको मनमा अस्ट्रेलिया जाने भूत चढ्यो ।
 
दलालसँग चिनजान गराउने काम लमहीकै अमित कौशडियाले गरे । उनले दिल्ली हुँदै अस्ट्रेलिया पुगेर फर्किसकेको बताएका थिए । तर, वास्तवमा तीनै जना अस्ट्रेलिया गइसकेका थिएनन् । प्रवीन र बिक्रमले दिल्लीमा बसेर अस्ट्रेलियामा रहेको अभिनय गरिरहेका रहेछन् । दिदीबहिनी युवाको विश्वासमा परिसकेका थिए । अञ्जुलाई पछिमात्र थाहा भयो, उनीहरू पनि सोही दलालको फन्दामा परेर दिल्लीमा रहेछन् ।
 
गत साउनमा अञ्जु र उनको दिदी कागजपत्र र पैसा बोकेर अमितसँग दिल्लीको पहाडगन्ज पुगे । त्यहाँ थिए, धनुषा नकटाजिझा गाविस वार्ड नम्बर ७ का शत्रुधन महतो । उनी ठगी धन्दामा धनपति महतोलगायत नामबाट चिनिने गरेको पीडितको भनाइ छ । अञ्जुले दलाललाई कागजपत्र बुझाइन, अनि नबिल बैंकको खातामा तीन लाख रुपैयाँ जम्मा पनि गरिदिइन् । लगत्तै तीन लाख ८० हजार रुपैयाँ थपिदिएको उनी बताउँछिन् ।
 
केही दिनपछि भिसा आएको खबर दिइयो । पैसा धनपतिको अकाउन्टमा नहाली ह्यान्डक्यास दिन आग्रह गरियो । अञ्जु अमितसँग दिल्ली गइन, १७ लाख रुपैयाँ धनपतिको हातमा राखिदिइन् । उनहरूलाई दिल्लीको होटलमा बसालियो । दलाल महतोले बारम्बार भिसा आउँदैछ भन्दै नाटक गर्न थाल्यो । होटेलमा बसेको पनि सात महिना पुग्न थाल्यो, साथमा भएको पैसा पनि सकियो । होटेलवाला किचकिच गर्न थाल्यो । धनपति पनि उनीहरूबाट ‘कन्ट्याक्ट लेस' हुन थाल्यो । केटी भएकाले अपहरण गरेर कोठीमा बेचिदिने भन्दै धम्काउन थाल्यो ।
 
‘दिल्लीस्थित नेपाली एम्बेसीमा पनि उसकै मान्छे रहेछन्, हामीले एम्बेसीमा गरेको उजुरी धनपतिले थाहा पाइहाल्थ्यो' शुक्रबार बुद्धनगरस्थित वैदेशिक रोजगार विभागमा भेटिएकी अञ्जुले भनिन्, ‘उसले उजुरी गरेको थाहा पाएपछि झनै धम्काउँथ्यो, केटी भएकाले बेचिदिनेजस्ता धम्की दिन्थ्यो ।' दलालले २४ लाख खाइदियो, अस्ट्रेलिया जाने सपना बुनेर दिल्ली पुगेकी उनी सात महिनापछि गलाको सिक्रीसम्म बेचेर होटेलको पैसा तिरी फागुनमा घर फर्किनु पर्‍यो ।
 
ललितपुर चापागाउँका विकास बजगाईंको चिनजानको साथीबाटै २०७२ भदौमा धनपति र विराटनगरको विजय सिंहसँग कमल पोखरीको कृष्ण पाउरोटीमा भेट भयो । उनका अनुसार विजय र महोत्तरीका रामचन्द्र राय धनपतिका सहयोगी थिए । भर्खरै भूकम्प गएको थियो । क्यानडाले भूकम्प पीडितलाई क्यानडा लैजाने घोषणा गरेको थियो । यही मौका छोपेर उनीहरूले विकासलाई दिल्ली हुँदै क्यानडा पठाइदिने बताए । धनपतिले क्यानडा १६/१७ लाखमा पठाइदिने, मासिक तीन लाख कमाउने गरी सेटल गरिदिन्छु भनेको थियो ।
 
भदौ २० गते सँगै दिल्ली जाने भनेपछि उनले प्लेन टिकट काटे । तर, धनपतिले तपाईं पहिला जानुस, म पछि आउँछु भने । २०७२ कै दसैंसम्म क्यानडा उडाउने आश्वासन दिइसकेका थिए । दलालले आज उडाउला छैन, भोलि उडाउला छैन । विभिन्न बहाना बनाएर एक वर्ष दिल्लीमा राखियो । एक वर्षपछि ग्लोबल भीएफएक्समा भिसा स्टाम्प लगाएर कोलकाताबाट हङकङ उडायो । तर, उनी हङकङमा प्रहरी फन्दामा परे । बल्ल थाहा भयो, नक्कली कागजात बनाएर पठाएको रहेछ । यो डकुमेन्टमा क्यानडा जान सक्दैनस् भनेपछि उनी हङकङबाट फिर्ता भए । ‘मैले चार लाख अकान्टबाट जम्मा गरिदिएको थिएँ, बाँकी २० लाख हेन्ड क्यास दिएको हुँ', उनले भने, ‘भिसा, टिकटलगायत डकुमेन्ट देखाएपछि विश्वासमा परेछु ।'
 
सोलुखुम्बुका पाँच जना शेर्पा र दोलखाका साजन खड्काको पनि धनपतिले बुद्धि भुटिदिए । एक महिनाभित्र वर्किङ भिसामा दिल्ली हुँदै कोरिया पठाइदिने भनेर उनले प्रतिव्यक्ति नौ लाख रुपैयाँको दरले पैसा लिए । तर, एक महिनामा भिसा आएन । सबैको मनमा शंका उब्जियो । धनपति पनि सम्पर्क विहिन भए । उनीहरूले दिल्लीमा उनलाई पच्छाउन थाले । ‘एक महिना दिल्लीमा भिसाकै लागि बसियो, एक महिना उनलाई पच्छाएर गतिविधि नियाल्ने काम भयो' पीडित पेम्बा शेर्पाले अन्नपूर्णसँग भने, ‘फोन नउठाउने, स्वीच अफ गरेर बस्न थालेपछि शंका यथार्थ भइदियो ।'
 
टोलीले धनपति बस्ने ठाउँ पत्ता लगाइसकेको थियो । यही मे ११ तारेखदेखि धनपति पूरै बेपत्ता भए । यसअघि पीडित गोपाल लिम्बुले प्रहरीमा उजुरी गरेपछि पक्राउ पूर्जी जारी भइसकेको रहेछ । उनीहरूले पक्राउ पूर्जी १२ तारिखमा फेसबुकमार्फत भेट्टाउन सफल भए । तीन दिनदेखि गाडी स्टान्ड बाई राखेका थिए, मे १५ मा दिल्लीको पहाडगन्जस्थित न्यु फ्रेन्च कोलोनीका गेटैमा रहेको कफी सपबाट समातेर धनपतिलाई काठमाडौं ल्याएको शेर्पाले बताए ।
 
धनपतिलाई नेपालगन्ज हुँदै काठमाडौं ल्याएर महानगरीय प्रहरी प्रभाग हनुमान ढोकामा बुझाइयो । हनुमान ढोकाले शुक्रबार बुद्धनगरस्थित वैदेशिक रोजगार विभागमा पेस गरेको छ । ‘समातेर नेपाल ल्याउन त्यति सहज भएन, बिचबिचमा उसले भारतीय प्रहरीमा अपहरणको केश लगाउन कोशिष गथ्र्यो, हामीले पक्राउ पूर्जी र उसको असली नागरिकता देखाउँदै नेपालसम्म ल्यायौं' शेर्पाले भने, ‘नेपालगन्ज प्रहरीले सहयोग गरेपछि ठगलाई काठमाडौं ल्याउन धेरै सहज भयो ।' सोलुका फूर्वा, छिरी, पेम्बा, आङ फूरी, फूर्वा शेर्पा र दोलखाका साजन खड्काले धनपतिलाई समातेर ल्याएका हुन् ।
 
लामो समयदेखि ठगी धन्दामा संलग्न धनपतिले तीन दर्जनभन्दा बढीलाई ठगिसकेको पीडित विकास बजगाईं बताउँछन् । शुक्रबार विभागको कार्यालयमा मात्रै दुई दर्जन पीडित युवायुवती जम्मा भएका थिए । कोरिया, जापान, युरोप, अमेरिका, अस्ट्रेलिया, मकाउलगायत मुलुकमा भिजिट र वर्किङ भिसामा पठाउने भन्दै शत्रुधन (नाम परिवर्तन गरी धनपतिले) ले धेरैसँग मोटो रकम असुलेको पीडितले अन्नपूर्णसँग गुनासो पोखे ।
 
धनपतिलाई नेपालबाट विजय सिंह र रामचन्द्र रायले सहयोग गरिरहेको पीडितको गुनासो छ । अरु थुप्रै व्यक्ति धनपतिसँग ठगी धन्दामा सहभागी भएको बजगाईं बताउँछन् । धनपति प्रहरी कष्टडामा आइसके पनि विजय र रामचन्द्र भने अहिले फरार छन् । कमलपोखरीमा रहेको टीएमए ट्राभल्समार्फत दुई जनाले नेपालमा युवा जम्मा गरेर इन्डियामा पठाउने गर्दै आएको पीडित बताउँछन् । इन्डियाको काम धनपतिले सम्हाल्दै आएका थिए ।
 
को-को ठगिए ?
अर्घाखाँची सन्धिखर्कका निर्मल विश्वकर्माले न्युजिल्यान्ड जाने सपना बोकेर नौ लाख रुपैयाँ डुबाए । ‘मैले यो काम छोड्दैछु, तपाईंका अरु साथी पनि छन् भने ८/९ महिनाभित्र ल्याउनुस्, सबैलाई पठाइदिन्छु भनेर विश्वासमा ल्यायो', उनी भन्छन्, ।
 
झापा अर्जुनधारा गाविसका नेत्र कडरियाले क्यानडा जान १५ लाख बुझाइसकेको बताउँछन् । यस्तै, झापा तोप्गाछीका छत्रबहादुर भट्टराईसँग धनपतिले १० लाखभन्दा बढी असुली सकेका छन् । नर्वे पठाइदिने भन्दै मोटो रकम लिएको उनको गुनासो छ । धरान, १५ का गोपाल घिमिरेको १८ लाख (इटाली), बागलुङकी अञ्जला राजभण्डारी १० लाख (पोर्चुगल), प्युठानका केशव सुनुवारको १० लाख (पोर्चुगल), लमही सुन्डवीका प्रवीन भुसालको १२ लाख (अस्ट्रेलिया) फसेको बताउँछन् ।
 
यसैगरी, दाङ लमहीका विष्णु सोनीको १० लाख (पोर्चुगल), दाङ लमहीकै बिक्रम कौशडियाको १५ लाख (अस्ट्रेलिया), गुल्मी रेसुङ्गा नगरपालिकाका गोपाल विष्टको नौ लाख (न्युजिल्यान्ड), बुटवलका दलवीर यादवको १५ लाख (अस्ट्रेलिया) रुपैयाँ फसेको सम्बन्धित पीडितको गुनासो छ ।
 
सोलुखुम्बु जिल्लाका काजी शेर्पा र दाबाब शेर्पा अजरबैजानमा अलपत्र अवस्थामा छन् । उनीहरूलाई जर्जिया पठाइदिन्छु भनेर अजरबैजानमा लगेर अलपत्र पारेको पीडित बजगाईंले जानकारी दिए । धनपतिले उनीहरूबाट ६/६ लाख रुपैयाँ असुलेका छन् । शेर्पाद्वयको उद्दार गर्नुपर्ने अवस्था रहेको उनले बताए । मकाउमा पठाउँछु भन्दै पैसा लिएर फरार भएपछि ६/७ जना युवाले हनुमान ढोका र वैदेशिक रोजगार विभागमा उजुरी दिएको बजगाईं बताउँछन् ।
 
पीडितका अनुसार रामचन्द्र, विजय सिंहलगायत व्यक्तिले नेपालमा मानिसको बुद्धि भुटेर दिल्ली पुर्‍याउने काम गर्थे । दिल्लीमा एक वर्षभन्दा बढी समयसम्म झुलाएर राख्ने काम हुन्थ्यो । अन्तमा पीडित कराउन थालेमा धनपतिले धम्काउने काम गर्थे । धनपतिको दिल्लीमा भिसा लगाउने अफिस भीएफएक्स ग्लोबल, एयरपोर्ट, होटेललगायत जताततै सेटिङ मिलाएको पीडित बताउँछन् । ‘अहिलेसम्म धनपतिबाट ठगिएको भन्दै आउनेबाट तीन लाख रुपैयाँभन्दा बढी ठगी भएको अनुमान छ', बजगाईंले भने, ‘धनपतिबाट गठिएका पीडित थपिने क्रम जारी छ ।'
 
पीडितका अनुसार धनपतिले तत्कालीन राष्ट्रपती रामवरण यादवकी छोरीसँग राखी बाँध्ने गरेको बताउँथे । ‘मलाई राष्ट्रपतिको छोरी अनु राखी बाँधिदिने दिदी हुनुहुन्छ भन्थ्यो, फोन गरेको जस्तै गथ्र्यो', बजगाईंले भने, ‘यूएनको हेल्थ डिपार्टको आइडी कार्ड बनाएको रहेछ, यूएनमा काम गर्ने डाक्टर हुँ भन्थ्यो ।' उनका अनुसार प्रहरीले सोधीखोजी गर्दा डाक्टर नभएको पत्ता लाग्यो ।
 
धनपतिले अञ्जु डाँगीलाई अस्ट्रेलियामा आफ्नो रेस्टुरेन्ट भएको बताउँदै सुरुमै एक लाख ८० हजार तलब दिने आश्वासन दिएको थियो । बेल्जियममा पनि आफ्नै रेस्टुरेन्ट भएको धनपतिको जिकिर थियो । धनपतिले पीडितबाट मोटो रकम असुल गरे पनि सबैको प्रमाण पुग्दैन । सुरुवातमा केही रकम बैंकमार्फत लिएपछि धनपतिले ह्यान्ड क्यास माग्थे । ह्यान्डक्यास बिजय र रामचन्द्रले नेपालमा बुझ्ने गरेका थिए भने दिल्लीमा धनपति आफै बुझ्थे ।
 
‘नेपालमा रामचन्द्र र विजयले धनपतीको अकाउन्ट दिएर पैसा हाल्न लगाउँथे' बजगाईं भन्छन् । नबिल बैंकमा नेपाल ओरल हेल्थ केयर सेन्टर नाममा र धनपति महतो (डीआर) नाममा दुईवटा खाता थिए । जग्गा, जमिन बेचेर, ऋण खोजेर बुझाएको पैसा फसेपछि सबैजना चिन्तित छन् । ठग धनपतिलाई समातेर ल्याए पनि कारबाही हुनेमा पीडित विश्वस्त छैनन् । ‘धनपतिलाई धरौटीमा रिहा हुन्छ रे !, रिहा हुने वित्तिकै उ फरार भइहाल्छ' शेर्पाले गुनासो पोखे, ‘हामीले जोखिम मोलेर समातेर ल्यायौं, सरकारको चाल यस्तै छ, कारबाही हुनेमा विश्वस्त छैनौं ।'
 
Published on: 21 May 2017 | Annapurna Post

Back to list

;