s

विदेश जाने कामदारको स्वास्थ्य परीक्षण शुल्क पाँच सय बढ्यो

विज्ञान अधिकारी

नेपाल वैदेशिक रोजगार व्यवसायी संघ र स्वास्थ्य व्यवसायी महासंघले विदेश जाने कामदारको स्वास्थ्य परीक्षण शुल्क पाँच सय रुपैयाँ बढाएका छन्। यो रकम बढेपछि विदेश जाने कामदारलाई अतिरिक्त भार बढाएका छन्।   वैदेशिक रोजगार विभागले स्वास्थ्य परीक्षण शुल्क बढाउँदा विदेश जाने कामदारलाई अतिरिक्त भार पर्ने भन्दै पुर्नविचारको लागि आग्रह गरेको थियो। यो आग्रहलाई वेवास्ता गर्दै संघ र महासंघवीच सोमबार भएको छलफलमा विदेश जाने कामदारको स्वास्थ्य परीक्षण शुल्क २५ सय पुर्‍याउने सहमति गरेका थिए।

बढाएको रकम भने संघ र महासंघको खातामा जानेछ। यो सहमति अनुसार पाँच सय रुपैयाँ मध्ये अढाई सय संघमा र अर्को अढाई सय महासंघको खातामा जानेछ। महासंघका अध्यक्ष प्रविन तिवारीले गुणस्तरीय सेवा दिन स्वास्थ्य परीक्षण शुल्क बढाइएको बताउँदै म्यानपावर व्यवसायीलाई कमिसन दिन बन्द गरिएको जानकारी दिए।

'हामीले स्वास्थ्य परीक्षण शुल्क गुणस्तरीय गर्न शुल्क बढाएका हौ,' उनले मंगलबार नागरिकसँग भने, 'यो शुल्क वृद्धिसँगै म्यानपावर व्यवसायीलाई कमिसन दिनेछैनौ र कुनै व्यवसायीले दिएको पाइएमा कारवाही गर्नेछौ।'

उनका अनुसार यसअघि एक जना कामदार स्वास्थ्य परीक्षणमा पठाउँदा एक हजार रुपैयाँ कमिसन म्यानपावर व्यवसायीले पाउँदै आएका थिए। कमिसन दिएर स्वास्थ्य परीक्षण गर्दा कागजात मात्रै दिने चलन थियो। कुनै परीक्षण विनै सरकारले मान्यता दिएको स्वास्थ्य संस्थाले कागजात बनाइदिएको भरमा नेपाली कामदार विदेश जाने गरेका थिए। यसरी विदेशिएका नेपाली स्वास्थ्य परीक्षण असफल भएर फर्किने गरेका थिए।

तिवारीले स्वास्थ्य शुल्कवृद्धि पछि पाँच सय रुपैयाँ आधा/ आधा लिने सहमति भएको जानकारी दिए।

'सहमति अनुसार अढाई सय संघ र अढाई सय महासंघमा जानेछ,' उनले भने, 'यसरी लिएको रकमले कामदारको हकहितमा काम गर्नेछ।' वैदेशिक रोजगार व्यवसायी संघका महासचिव कमल तामाङले संघले पाउने अढाई सय रुपैयाँको छुट्टै कल्याणकारी कोष बनाएर कामदारको हितमा प्रयोग गरिने जानकारी दिए।

'हामीले कल्याणकारी कोषको मस्यौंदा तयार गरिरहेका छौ। यो कोषमा स्वास्थ्य परीक्षणको रकम आउनेछ,' उनले भने, 'यसले वैदेशिक रोजगारीमा जनचेतना जगाउने कार्यक्रममा प्रयोग गर्नेछौ।' उनले महासंघले स्वास्थ्य परीक्षण शुल्क एक हजार बढाउने निर्णयलाई दबाब दिएर घटाएर पाँच सयमा झारिएको दावी गरे।

'महासंघले एकतर्फी रुपमा एक हजार स्वास्थ्य परीक्षणको शुल्क बढाउने निर्णय गरेको थियो। यसलाई हामीले दबाब दिएर घटाएका छौ,' तामाङले भने, 'कामदारको हितमै काम गरेका छौ।'

तर विभागका एक अधिकारीका अनुसार व्यवसायिक भागबण्डा गरेर विदेश जाने कामदारलाई भार पार्ने काम गरेका छन्।

'आफ्नो संघका रकम लैजान स्वास्थ्य परीक्षणको शुल्क बढाएका छन्। यो शुल्क बढाउनुको मुख्य उदेश्य आफ्नो संस्थामा रकम लैजानु मात्रै हो,' ती अधिकारीले भने, 'गरीब जनतालाई भार पार्ने काम अनुचित हो।'

यसअघि विदेश जाँदा कामदारले गर्ने स्वास्थ्य परीक्षण शुल्क दुई हजार रुपैयाँ मात्र थियो। महासंघले एक साताअघि एकतर्फी रुपमा स्वास्थ्य परीक्षण शुल्क बढाउने निर्णय गरेको थियो। महासंघले पुरुषका लागि २९ सय ४० र महिलाका लागि ३१ सय स्वास्थ्य परीक्षण शुल्क लिने निर्णय गरेपछि वैदेशिक रोजगार विभागले छलफलमा बोलाएको थियो।

Published on: 18 July 2012 | Nagarik

Back to list

;