s

विदेश जाने कामदारको स्वास्थ्य परीक्षण गर्न ठूला अस्पतालहरुको 'मोह,' कुन छनौट भए कुन भएनन्

वैदेशिक रोजगारीका लागि कामदारको स्वास्थ्य परीक्षण गर्न ठूला अस्पतालहरुले 'मोह' देखाएका छन् । पछिल्लो समय श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सुचीकृतका लागि गरेको आब्हानमा नेपालका ठुला अस्पतालहरुले समेत त्यसमा चासो देखाएका थिए ।

नेपाल मेडिसिटी, भेनस, ब्लु क्रस, अन्नपुर्ण ब्युरो, मनमोहन मेमोरियल, अल्का अस्पताल,ग्रिन सिटी अस्पताल, ओम अस्पताल, नोवेल अस्पताल, क्रिष्ट अस्पताल लगायतका अस्पतालले कामदारको स्वास्थ्य परीक्षण गर्नका लागि श्रम मन्त्रालयमा आवेदन दिएका थिए। आवेदन दिएका १ सय २६ वटा स्वास्स्थ्य संस्थाबाट श्रम मन्त्रालयले सुचीकृतका लागि ५१ वटाको नाम सोमबार सार्वजनिक गरेका छन् । 

५१ बटा स्वास्थ्य संस्थाको सुचीमा कतार जाने कामदारका लागि खोलिएको स्टेम्ज हेल्थ केयर सेन्टर प्रालिका नाम पनि समावेश छ। अब विदेश जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने संस्थाहरु २ सय २६ वटा २ सय ७७ पुगेको छ। यी २ सय ७७ वटा स्वास्थ्य संस्थाले नेपाल सरकारले खुल्ला गरेको १ सय ८ देशमा जाने कामदारको लागि स्वास्थ्य परीक्षण गर्ने हो । तर नेपालको हकमा भने त्यो लागु नहुने निश्चित भएको छ। किनभने अहिले मलेसियाका लागि ३७ वटा, कतारका लागि एउटा, साउदी, बहराइन लगायतका देशका लागि १२ वटा छुट्टै स्वास्थ्य संस्था तोकिएका छन् ।

पछिल्लो समय श्रम मन्त्रालयले ५१ वटा स्वास्थ्य संस्था सुचीकृत गरेको सुचना निकाल्नुलाई म्यानपावर ब्यवसायीहरुले मलेसिया खुलाउनको लागि गरिएको वहाना भनि संज्ञा दिएका छन् । 'कामदार छनौट गर्ने संस्थाहरु चयन भइरहेको भन्दै मन्त्रालयले मलेसिया बन्द गराइ रहन खेलिएको खेल हो,' एक व्यवसायीले सेतोपाटीलाई भने, 'यो श्रम मन्त्रीको सस्तो प्रचारवाजी मात्र हो।' 'अहिले भएका २ सय २६ वटा स्वास्थ्य संस्थाको गुणस्तर र अनुगमन सरकारले गर्न सकिरहेको छैन, 'अर्का म्यानपावर व्यवसायीले भने, 'संख्यामात्र बढाएर मात्र हुने केही होइन।' यता गत कात्तिक १२ गते मलेसियासँग श्रम सम्झौता भएपनि कामदार पठाउन सकिएको छैन् । मलेसियाका लागि स्वास्थ्य परीक्षण गर्ने संस्था चयन भइरहेको श्रम मन्त्रालयले जनाएको छ। स्वास्थ्य संस्था चयनका लागि उपत्यकाबाहिर १ र उपत्यकाभित्र २ टोलीले मिलेर अनुमगन गरिरहेको छ।

Published on: 10 June 2019 | Setopati

Back to list

;