s

विदेश जाने कामदारको हितमा काम गरिने नवनियुक्त श्रममन्त्रीको प्रतिवद्धता

नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले संविधान प्रदत्त युवाको रोजगारीको अधिकारलाई सुरक्षित गर्न आफु केन्द्रित रहने बताएका छन् ।
 
प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार गरेको तेस्रो पटकको मन्त्रिपरिषद् विस्तारमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीको जिम्मेवारी एमाले युवा नेता बिष्टले पाएका हुन् । उनी पार्टी सचिव समेत हुन् ।
 
राष्ट्रपति कार्यालय शीतल निवासमा शुक्रबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको शपथ लिए लगत्तै सिंहदरवारस्थित मन्त्रालयको कार्यकक्षमा पद वहाली गरेका मन्त्री विष्टले वैदेशिक रोजगारलाई सुरक्षित र मर्यादित बनाउँदै परिवारमै बसेर श्रम गर्ने युवाको अधिकारलाई संरक्षण गर्ने बताए ।
 
मन्त्री विष्टले भने– ‘कामका लागि विदेश जाने नेपाली कामदारको हितका लागि सरकारले प्रभावकारी कदम चाल्नेछ, देशभित्रै रोजगारी सिर्जना गर्न कार्ययोजना बनाउने र श्रमिकको हक हितको लागि सामाजिक कल्याणको योजना पनि ल्याउन गृहकार्य गर्नेछु ।’
त्यसअघि मन्त्री बिष्टलाई मन्त्रालयका सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक राजकुमार श्रेष्ठ लगायत उच्च अधिकारीहरुले स्वागत गरेका थिए । तत्कालीन प्रधानमन्त्री माधबकुमार नेपाल नेतृत्वको सरकारमा उर्जामन्त्री रहेका विष्टले महशुल नतिर्ने सरकारी कार्यालयको बिजुलीको लाइन आफैले काटेर चर्चित बनेका थिए ।
 
Published on: 17 March 2018 | Madhyanha

Back to list

;