s

विदेश जाने कामदार ४२ प्रतिशत घटे

विनाशकारी भूकम्प र लगातारका पराकम्पले खैलाबैला मच्चाएपछि फस्कु–२ दोलखाका बलराम भुजेल परदेशबाट घर फिरेका छन् । परिवार सकुशल भेटेका २९ वर्षीय भुजेललाई अहिले सबभन्दा ठूलो चिन्ता बासकै छ ।

राजधानीमा सवारीचालक रहेका उनी ३ वर्षअघि घर बनाएर कतार हानिएका थिए । कार्पेट पसलमा कार्यरत भुजेल दुई महिने छुट्टी मागेर अहिले घर आएका हुन् । ‘साढे २ लाख खर्च गरी घर बनाएपछि ऋण तिर्न नसकेर कतार गएँ, अहिले पालको बास छ,’ भुजेलले कान्तिपुरलाई भने, ‘बास बनाएर जान्छु भनेको छु तर कसरी बनाऊने ? गाउँमा सहयोग मागौं भने सबैको हालत उस्तै छ ।’

५ महिनाअघि मात्र छुट्टीमा घर आएका भुजेल ४ महिना बसेर कतार गएका थिए । अहिले दुईमहिने छुट्टी लिएर फेरि आएका छन् । ‘अब घर बनाउन न पैसा छ, न कामदार पाइन्छ,’ उनी भन्छन्, ‘सरकारले ऋण सहयोग गर्छ भन्ने सुनेको छु तर कति पाइन्छ, कसरी पाइन्छ थाहा छैन ।’ अहिले उनी, श्रीमती र स–साना छोरा–छोरीसहित पालमा छन् ।

सरकारले घर भत्केर, चर्केर बस्न नहुने परिवारलाई अस्थायी टहरा बनाउन १५ हजार रुपैयाँ सहायता गर्ने निर्णय गरेको छ । घर भत्केकालाई बनाउन २ लाख रुपैयाँ दिने भनेर संसद्मा संकल्प प्रस्ताव गरे पनि निर्णय भइसकेको छैन । भूकम्पप्रतिरोधी मादपण्डअनुसार घर बनाउन सरकारले उपत्यकाभित्र २५ लाख रुपैयाँ र उपत्यकाबाहिर १५ लाख रुपैयाँ २ प्रतिशत ब्याजमा सहुलियत उपलब्ध गराउने भनेको छ ।

वैशाख १२ को भूकम्पपछि भुजेलसँगै कार्यरत काका टीकाबहादुर र उनकै गाउँका अरू साउदी अरेबिया, कतारबाट घर फिरेका छन् । कतारबाटै फिरेका दोलखाको जिरी नगरपालिका–४ रातमाटे ताक्पाका ४० वर्षीय गणेश जिरेललाई पनि उही समस्या छ । कतारको डेरी फार्ममा कार्यरत जिरेल वैशाख १२ को विनाशकारी भूकम्प जानुभन्दा एक दिनअघि मात्र घर फिरेका थिए । ‘परिवार र बस्तुलाई केही भएन, अरू सबै लथालिंग छ,’ उनले सुनाए, ‘दुई महिनाको छुट्टीमा आएको थिएँ, अब बासको व्यवस्था गरेर जानुपर्ला ।’

८ वर्षको परदेश बसाइबाट उनले घर बनाए थिए र त्यही कमाइबाट परिवार चलाएका छन् । संयुक्त अरब इमिरेट्सको दुबईमा रहेका उनका जेठा छोरा डानियल पनि घर आउन हतारिएका छन् । ‘म आएँ चिन्ता लिनु पर्दैनभन्दा पनि ढाँटेका होलान् भनेर आउँछु भन्छ,’ जिरेलले सुनाए, ‘परदेश गएका धेरै छुट्टी मिलाएर आए, आउन नपाएकाहरू आत्तिएका छन् ।’

परदेशबाट घर फर्किन कतिले सहजै छुट्टी पाए पनि कतिले पाउन नसकेर नेपाली दूतावासलाई गुहारेका छन् । मलेसियास्थित दूतावासले कम्पनीहरूलाई सहज रूपमा घर पठाइदिन पत्राचारसमेत गरिसकेको छ । परदेशबाट कति परिवार र आफन्त गुमाएर फर्किएका छन् भने अधिकांशको घर, गोठ क्षति भएको पीडित बताउँछन् । रोजगारीका लागि परदेश जान स्वीकृत दिने निकाय वैदेशिक रोजगार विभागसँग फर्किनेहरूको कुनै तथ्यांक छैन । त्रिभुवन विमानस्थलका अनुसार नेपाली कामदारका प्रमुख गन्तव्य मलेसिया र खाडी रुटमा जानेभन्दा फर्किने नेपालीको संख्या बढी छ ।

मलेसियाबाट फिरेका ओखरपौवा–८ कागतीगाउँ, नुवाकोटका पुष्पराज बलामीको घर, गोठ क्षति भएको छ । उनलाई यसको निर्माण कसरी गर्ने भन्ने चिन्ता छ । ‘भूकम्पले सबै ध्वस्त भएको खबर सुनेपछि छोरा (पुष्पराज) आइहाल्यो,’ बुबा नरवीर भन्छन्, ‘१ लाख ८० हजार तिरेर गएको छोरो ऋण नतिर्दै फर्कियो, अब घर कसरी बनाउने, ऋण कसरी तिर्ने ?’ बलामी परिवारको पनि अहिले पालमा बास छ ।

५ वर्ष परदेशको बसाइपछि स्वदेशमै रम्ने भन्दै घर फिरेका पृथ्वीनारायण नगरपालिका– १०, तेह्रकिलोका जगतराम बर्देवाको समस्या पनि कम्ती छैन । बसचालक बर्देवा कतार बसाइ टुंग्याएर आएको दुई वर्षमा फेरि उतै हानिए र जागिर राम्रो नभएकाले डेढ महिनामै फर्किए । अहिले स्वदेशमै बस चलाउँछन् । ‘परदेशको कमाइले ३ लाख ८० हजार रुपैयाँ खर्चेको घर भूकम्पले खत्तमै बनायो,’ उनले सुनाए, ‘दु:ख–पीडा छ तर जसोतसो घर बनाएर स्वदेशमै बस्छु ।’

मृतकका परिवारलाई टिकट खर्च

भूकम्पबाट एकाघरका परिवारका सदस्य गुमाएर हवाई टिकट किन्न नसकी स्वदेश फर्किन नपाएका कामदारको खर्च वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले बेहोर्ने भएको छ । बोर्डले एकाघरका परिवारमा पति/पत्नी, छोरा–छोरी, आमा–बाबु तथा महिला कामदारको हकमा सासू–ससुरालाई पनि मानेको छ ।

मन्त्रिपरिषद्ले वैशाख २४ गते परिवार गुमाएका कामदारलाई स्वदेश फर्काउन सहयोग गर्ने निर्णय गरेअनुसार वैशाख २७ गतेको श्रम तथा रोजगार मन्त्रालयको निर्णय बोर्डले बेहोर्नेछ । टिकट रकम लिन कामदारले कतैबाट टिकट नपाएको नेपाली दूतावासबाट सिफारिस, मृत्यु दर्ता प्रमाण र नाता प्रमाणितको काजगात पेस गर्नुपर्ने बोर्डले विज्ञप्तिमार्फत जनाएको छ । करार अवधि सकेर फर्केनेलाई एकतर्फी हवाई टिकटको खर्च र पुन: रोजगारीमा जानेलाई फर्किने टिकट खर्च बोर्डले दिने भनेको छ ।

भूकम्प आएपछि वैदेशिक रोजगारमा जाने कामदारको संख्यामा ४२ प्रतिशतले कमी आएको वैदेशिक रोजगार विभागको तत्थ्यांकले देखाएको छ । ‘एकैचोटी यसरी हुनु भूकम्प नै कारण हो,’ विभागका प्रवक्ता बद्री कार्कीले कान्तिपुरलाई भने । ०७२ वैशाखमा कुल ३१ हजार ३ सय ७५ (पुरुष ३० हजार ५० र महिला १३ सय २५) ले वैदेशिक रोजगारमा जान अन्तिम स्वीकृत लिएका छन्, जबकि ०७१ को वैशाखमा कुल ५४ हजार १ सय ७३ ले अनुमति लिएका थिए । यसअघिका आँकडा हेर्दा विदेश जाने कामदार सधैं बढेको देखिन्छ ।

०७२ वैशाखसम्म वैदेशिक रोजगारमा जान ३८ लाख ८५ हजार ३ सय ८१ जनाले श्रम स्वीकृत लिएका छन् ।


Published on: 23 May 2015 | Kantipur

Back to list

;