s

विदेश जाने कामदारको नक्कली स्वास्थ्य परिक्षण गराउने गिरोह पक्राउ

बैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परिक्षण कागज मेनपावर कम्पनीले नै नक्कली बनाइदिने गरेको पाइएको छ । स्वास्थ्य परिक्षणका लागि कामदारबाट मोटो रकम असुलेर उनीहरुले नक्कली स्वास्थ्य परिक्षण गराएर बिदेश पठाइदिने गरेको पाइएको हो । केल्भिन ट्रार्भल्स एण्ड टुर प्रालीका नामबाट उनीहरुले नक्कली स्वास्थ्य परिक्षण र भिसा समेत नक्कली बनाएर सर्वसाधारणलाई ठग्ने गरेको पाइएको हो ।

डाक्टरको नक्कली नाम र छाप बनाएर नक्कली स्वास्थ्य परिक्षण कागज बनाएको भेटिएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले त्यस्तो काममा संलग्न ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ विराटनगरका जगत न्यौपाने, भोजपुर हेलउछाका उमेश कुमार बिष्ट र पाँचथर गोपेटारका शिबप्रसाद रेग्मी छन् ।

बैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परिक्षण नगरि विदेश जान वा पठाउन पाइदैन । एउटा कामदारले विदेश  जानु अघि स्वास्थ्य परिक्षण गराउूदा कम्तीमा २ हजार रुपैंया तिर्नपर्छ । नक्कली स्वास्थ्य परिक्षण गराएर विदेश पठाएका कामदार विदेशमा पुगेपछि स्वास्थ्य परिक्षणमा नै फेल भएर स्वदेश फर्किएका उदाहरणहरु प्रसस्त छन् । स्वास्थ्य परिक्षण फेल भएर विदेशबाट फर्किएपछि मेनपावरले कुनै जिम्मा नलिने गरेको पाइएको छ । यसले चर्को ब्याजमा ऋण काढेर विदेश जान लागेका कामदारहरु झन् मारमा परेका छन् ।

ब्युरोका डिएसपी जगदिश पोख्रेलका अनुसार यो गिरोहले बैदेशिक रोजगार कार्यालयमा सेटिङ मिलाएर लामो समय देखी  गैह्रकानुनी तरिकाबाट कामदारलाई विदेश पठाउूदै आएको थियो । बैदेशिक रोजगार बिभागमा काम गर्ने केहि कर्मचारीसंगको मिलेमतोमा यस्तो कार्य गर्दै आएको प्रहरीले जनाएको छ । बिभागका कर्मचारीको सलग्नताका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार यिनीहरु मध्येका अरुण र शिबले केल्भिन ट्राभल्स एण्ड टुर्समा बसेर स्वास्थ्य परिक्षणको नक्कली छापा बनाउने गरेका थिए ।

बैदेशिक रोजगारीमा जाने कामदारले बिमा पनि अनिवार्य गराउनुपर्ने हुन्छ । त्यस्तोमा यो गिरोहले नक्कली बिमाको कागज बनाएर कामदारबाट मोटो रकम ठगि गर्ने गरेको पाइएको छ ।  प्रहरीले उनीहरुको साथबाट १ सय ४१ वटा राहदानी बरामद गरेको छ ।

Published on: 21 September 2012 | Kantipur Daily

Back to list

;