s

विदेश जान्छु भन्दै गएको छोरा लास बनेर फर्कियो

अछाम : घरमा आमा अचेत अवस्थामा छिन्। छोरा वीरेन्द्रको मृत्यु खबर सुनेदेखि आमा दुर्गा होसमा छैनन्। छोराको वियोगमा आँसु रित्तिसके। बेहोसीमा समेत बर्बराउँछिन्। रुदै मुर्छा पर्छिन्।

मुर्छित दुर्गालाई पानी छम्केर आफन्तहरू होसमा ल्याउँछन्। पुष १३ गते वीरेन्द्रको मृत्युको खबरले गाउँ नै शोकमा छ। त्यो दिनदेखि घरको आँगन भरि मानिसहरूको भीडभाड छ। छोरा वीरेन्द्रलाई जिउँदै देख्ने आस दुर्गाको अझै मरेको छैन।

आमा दुर्गाले मृत्युको खबर सुनेकी मात्र थिइन्। छोराको शव देख्न पाएकी थिइनन्। मंगलबार दुर्गाको त्यो झिनो आस मरेको छ। दुर्गाले छोराको शव मंगलबार ल्याउने खबर पाएकी थिइन्। मंगलबार एक बजेर ४० मिनेटमा हेलिकोप्टरमा एउटा बाकसमा छोराको शव घरमा पुग्यो। दसैं तिहार सकेर विदेश जाँदा एयरपोर्टमा बिदाइ गर्न आउनुपर्छ आमा भन्दै काठमाडौं गएको छोराको शव पुग्यो।

काठमाडौंबाट छोराको पार्थिव शरीर लिएर विवस अवस्थामा बुवा टेकबहादुर पनि फर्किए। श्रीमती दुर्गालाई देख्ने बित्तिकै टेकबहादुर भक्कानिए। दुर्गा छोराको शवको बाकस देख्ना साथ हातखुट्टा बर्जादै कराउँदै रुन थालिन्।

रुदाँरुदाँ सुकेको स्वरले छोरालाई बोलाउँछिन् दुर्गा। उनले छोरा भनेर बोलाएको कहिल्यै नसुन्ने गरेर गएका छन्। विदेश जाने सपना लिएर हँसिलो अनुहारका साथ गएको छोरा अब सदाका लागि अस्ताएको छ।

आजै अन्त्यष्टी गरिने मृतकका आफन्त गणेश शाहले बताए। उनले भने,‘कुनै पनि अभिभावकले सन्तानको मृत्युको खबर सुन्न नपरोस्। यो जस्तो पीडादायिक क्षण कुनै पनि हुनै सक्दैन बुवाआमाका लागि। गाउँमा सन्नाटा छाएको छ, आमाको होस नै छैन। आफन्तहरूसँग सान्त्वना दिने शब्द नै छैन।’

गाउँमा सबैसँग मिल्ने सरल र सहज स्वभाव वीरेन्द्र रहेको चौरपाटी गाउँपालिका-१ का लालबहादुर साउदले बताए। उनले भने,‘नाताले भाइ पर्छ वीरेन्द्र। उसको असल स्वभाव थियो। भलिबल खेलाडी नै थिए। भलिबल निकै राम्रो खेल्थे। यस्तो असल मान्छेको निकै दुःखद मृत्यु भयो। विदेश जाने कुराले गाउँका अभिभावक अब तर्सिन थालेका छन्।’

नेपाली सेनाको हेलिकोप्टर मार्फत सुजनको शव दैलेख र वीरेन्द्रको शव अछामको चौरपाटी पुर्‍याइएको छ। वीरेन्द्रले सिउडी माविमा कक्षा १२ सम्मको पढाइपछि छिमेकी जिल्ला डडेलधुरा गएर भेटेरिनरी जेटिए पढेका थिए। देशमै रोजगारको अवस्था नदेखेपछि उनी विदेश जाने सपना लिएर काठमाडौं गएका थिए।

वीरेन्द्र पानीजहाज बनाउने कामका लागि कोरिया जान लागेका थिए। भाषा परीक्षामा नाम ननिस्किएका कारण उनले कोरिया जाने अर्को अवसर खोज्नुपर्ने थियो। त्यही बेला कोरियाले उत्पादनमूलक कामका लागि अर्को भाषा परीक्षा सञ्चालन गर्ने भयो।

तर, त्यसमा वीरेन्द्र जस्ता पानी जहाज बनाउने कामका लागि परीक्षा दिएर फेल भएकाहरूले फारम नै भर्न नपाउने भए। शुक्रबार कोरियाली भाषा परीक्षाको फारम भर्न पाउनुपर्ने माग गर्दै रोजगार अनुमति प्रणाली (ईपीएस)को ग्वार्कोस्थित कार्यालय बाहिर युवाहरूले प्रदर्शन गरेका थिए।

वीरेन्द्र प्रहरीको गोली लागेर मारिए भने अर्का युवक सुजन रावत पनि प्रहरीको बल प्रयोगबाट मारिए। सरकारले मृतकका परिवारसँग चार बुँदे सहमति गरेको छ। मृतकका परिवारका सदस्यलाई रोजगार दिने, १० लाखसँगै थप राहत उपलब्ध गराउन सहजीकरण गर्ने, सहिद घोषणाका लागि पहल गर्ने सहमति पछि दुवै जनाको शव गृह जिल्ला पुर्‍याइएको हो।

Published on: 3 January 2024 | Annapurna Post

Link

Back to list

;