s

विदेश जान छाडेर ड्र्यागन फ्रुट खेती

पाल्पा, साउन ३१ गते । गाउँका धेरै युवा २०/२५ हजार रुपियाँ कमाउनका लागि विदेशको भूमिमा पुगेका छन् । विदेश पुगेका कतिपय साथीभाइले २० हजार रुपियाँ कमाउन नसकेर रित्तो हात फर्किएका छन् तर माथागढी–१, फेदीका २७ वर्षीय मनु आलेले भने विदेश जान छाडेर स्वदेशमै राम्रो कमाइ गर्नुभएको छ । युट्युब हेरेर ड्र्यागन फ्रुट खेती गर्नुभएका आलेले वर्षमा पाँच लाख आम्दानी गर्न सफल हुनुभएको छ ।

ड्र्यागन फ्रुटको बारेमा युट्युबबाटै जानकारी लिएर अहिले पाँच सय बिरुवा लगाएको उहाँले बताउनुभयो । तीन वर्षअघिदेखि युट्युब हेरेर आफू ड्र्यागन खेतीमा सफल भएको उहाँले बताउनुभयो । आफू विदेश जान छाडेर यसको खेतीमा लागेको उहाँले सुनाउनुभयो । गाउँका अन्य साथीभाई विदेशमा पुगे पनि आफूलाई घरमै बसेर विदेशमा भन्दा धेरै कमाइ गरेको उहाँ बताउनुहुन्छ ।

उहाँले भन्नुभयो, “आफ्नो जग्गा भएपछि ड्र्यागन खेतीका बारेमा युट्युबबाटै बुझेर काम सुरु गरेँ, अहिले राम्रो कमाइ भएको छ ।” आलेले ड्र्यागन खेतीका लागि पोल, बिरुवा, मल तथा सिँचाइ सुविधाका लागि पहिलो वर्षदेखि हालसम्म चार लाख लगानी गर्नुभएको छ । विदेशमा भन्दा राम्रो कमाइ भएपछि स्वदेशमै परिवारसँग रमाएको उहाँले बताउनुभयो ।

गत वर्ष साढे तीन लाख रुपियाँको फल बिक्री गरको र यो वर्ष पाँच लाखको ड्र्यागन फ्रुटको दाना बिक्री गर्ने लक्ष्य उहाँको छ । यस वर्ष हालसम्म तीन सय किलो ड्र्यागन फ्रुटको दाना बजारमा बिक्री गरिसकेको आलेले बताउनुभयो । बजारमा यसको बिक्रीका लागि अहिलेसम्म कुनै समस्या छैन ।

सेतो दाना भएको ड्र्यागन फुट प्रतिकिलो छ सय रुपियाँ र रातो दाना भएको प्रतिकिलो साढे सात सय रुपियाँमा बिक्री भइरहेको छ ।

पाल्पामा आफूले पहिलो पटक यसको खेती गरेको आलेले दाबी गर्नुभयो । उहाँले थप्नुभयो, “मैले पहिलो पटक यसको खेती गर्दा कसैले पनि गरेको थाहा पाएका थिएनन् । अहिले दुई/तीन स्थानमा खेती गरेको थाहा पाएको छु ।”

वर्षमा पाँच/छ लट यसको फल निकाल्न सकिने मनुका बुवा सोमबहादुरले बताउनुभयो । ड्रयागन खेतीका लागि छोरालाई आफूले सघाउने बुवा सोमबहादुरले बताउनुभयो ।

आलेको फार्ममा अहिले १२५ वटा पोलमा पाँच सयभन्दा बढी बिरुवा छन् । ड्र्यागन फ्रुटले जेठ–असारदेखि असोज–कात्तिकसम्म फल दिने गरेको छ । तराईका जिल्लामा फलेको फलभन्दा यहाँ उत्पादन गरेको फल स्वादिलो र रसिलो हुने गरेको उहाँले बताउनुभयो ।

Published on: 16 August 2023 | Gorkhapatra

Link

Back to list

;