s

विदेश जाँदा ठगिएका महिला अरुलाई जोगाउने अभियानमा

उमा पौडेल

म जस्तै अरु दिदीबहिनी नठगिउन भनेर वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन मैले पनि केही गर्न सक्छु कि भनेर यो काममा लागेकी हुँ’ यो भनाई नवलपरासी बर्दघाट नगरपालिका भानुनगरकी बिन्दु रोकाको हो ।

एजेन्टका चिल्ला कुरा पत्याएर अझै  पनि धेरै जना भारतको बाटो भएर जाँदा ठगिइरहेका छन् । बिन्दु अहिले यसरी जानु हुँदैन भनेर सूचना दिने काम गर्नुहुन्छ ।बिन्दु आफैं भुक्तभोगी हुनुहुन्छ । बिन्दुलाई रोजगारीको प्रलोभनमा पारेर १० वर्ष अघि गाउँकै लिला देवी र माया पुनले भारत पुर्‍याए ।
 
साउदी जाने भन्दै मुम्बई पुर्याए । त्यहाँ पुगेपछि त्यहीँ रहेका व्यक्तिलाई जिम्मा लगाए । १५ दिन कोठामा बस्दा बेचिने हो कि भन्ने कम्ती डर थिएन उहाँलाई । बिन्दुसँगै अरु १२ जना नेपाली महिला पनि थिए । तर दिनदिनै एक एक जना गरेर घटिरहेका थिए । उनीहरु दिन बिराएर उडिरहेका थिए । 
 
बिन्दु र उहाँका २ जना साथीको चाहिँ १६दिनमा उड्ने पालो आयो ।साउदी पुगेपछि ती दुई जना साथीलाई दोस्रो दिनमै लिएर गयो । तर, मालिक लिन नआएपछि बिन्दुले चाहिँ त्यहाँकै अफिसमै १ महिना बस्नु पर्यो । 
 
महिना दिनपछि रोकाले काम पाउनुभयो । उहाँलाई साहुको बच्चा मात्र हेर्ने जिम्मा दिइएको थियो । तर बच्चाको स्याहार सुसारसँगै त्यहीँ काम गर्ने फिलिपीनी सहकर्मीले अह्राएको घरको सबै काम गर्नुपथ्र्यो । 
 
‘उसैले काम गरिन भनेर मालिक्निीसँग सिकायत गर्थी । खाने सुत्नको ठेगान नै थिएन । अलिकति तलमाथि भयो भने सबैले साउदी भाषामा गाली गर्थे ।’ साउदीमा पाएको सास्ती सुनाउँदै बिन्दुले भन्नुभयो ‘ती कुरा अहिले सम्झिन पनि मन लाग्दैन’
 
तर बिन्दु अहिले त्यही पीडालाई शक्तिमा बदलेर अरुलाई ठगबाट जोगिने काइदा सिकाउँदै हुनुहुन्छ । अभियानमा लाग्नु भन्दा अघि पनि गाउँमा उहाँ आफूले भोगेका कुरा सुनाउँदै सचेत गराउनुहुन्थ्यो । तर कसैले पत्याउँदैनथे । 
 
अभियानमा सहभागी भएपछि भने उहाँका कुरा सुन्न थालेका छन् । उहाँ अहिले मेलापात, समूह बैठक हाटबजारमा सूचना दिँदै हिड्नुहुन्छ । ‘त्यतिबेला खुबी नभएर विदेश बस्न नसकेको भन्थे तर आजकाल सम्मान गरेर बोल्छन् अनि चासो दिएर कुरा सुन्छन पनि’ रोकाले भन्नुभयो । 
 
रोका जस्तै सूचना दिने अभियानमा साबिकको जहदा गाबिसकी चन्द्रकला राना पनि लागिरहनु भएको छ । उहाँ पनि विदेशबाट फर्किनुभएको हो । चन्द्रकला २१ बर्षकै उमेरमा कुवेत जानु भएको थियो । विदेश जाने भनेर ३ महिना ब्युटिपार्लरको तालिम लिनुभएको थियो चन्द्रकलाले । एजेण्टले उहाँलाई ब्युटिपार्लरकै काम भनेर कुवेत पुर्याए । तर त्यहाँ पुगेपछि घरको काम गर्नुपर्यो । 
 
एजेण्टकै भर परेर विदेशको बसाई कल्पना गरेको भन्दा निकै कष्टपूर्ण भयो । २ वर्ष ६ महिना बिताउँदा घरकै याद मात्रै आइरहन्थ्यो । ‘काम गर्ने समय यति भन्ने नै हुँदैनथ्यो । सबै काम छिटो सकाएर एकछिन आराम गर्न बस्यो, अरु त अरु भित्ता समेत पुछ्ने काम गर्न लगाउँथिन मेडमले’ रानाले भन्नुभयो । 
 
२ वर्षको भिसा सक्किएपछि साहुले १ वर्षको भिसा थपिदिएका पनि तर उहाँ ६ महिनामै नेपाल फर्किनुभयो । विदेशमा जति दुःख गरिन्छ त्यति नेपालमै गर्न सक्यो भने उता भन्दा यतै कमाउन सकिन्छ भन्ने रानाले विदेश जाने निर्णय गरिसकेका दिदीबहिनीहरुलाई सीप सिकेर कम्पनीमा काम गर्न जाँदा फाइदा हुने सूचना दिनु हुन्छ ।
 
कसैको लहलहैमा लागेर सीप नसिकी, काम नबुझी, सम्झौता पत्र नहेरी विदेश जाँदा आफैंलाई अप्ठेरो पर्ने राना बताउनुहुन्छ । ‘सुरुका दिनमा आवाज निकाल्न डर लाग्थ्यो नमस्कार गर्न हात उठाउने आँट पनि थिएन मनमा लागेको कुरा सोध्न सक्दिन थिएँ’ यो अप्ठेरोलाई छिचोल्दै चन्द्रकला अहिले सचेतनाका लागि ठाउँ ठाउँमा सडक नाटक गर्दैहिँड्नुहुन्छ । 
 
रोका र राना जस्तै सुनवल नगरपालिका स्वाठी हर्दियाचापीकी शोभा नेपाली पनि आफूले जानेका र भोगेका कुरा घर घरमा व्यक्ति व्यक्तिलाई सुनाउँदै हिड्नुहुन्छ । उहाँहरु वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन सूचना दिने काममा लागि रहनु भएको छ ।
 
‘समुदायमा मान्छेहरुले सम्मान गेर मेडम सूचना दिन आउनु भयो भन्दै मैले बताएका कुरा चासो दिएर सुन्ने गर्छन्’ स्वाठी हर्दियाचापीकी शोभा नेपाली भन्नुहुन्छ ।घरको समस्या र  छोराहरु पाल्ने जिम्मेवारीले शोभालाई साउदी जान बाध्य बनायो । स्थानीय महिला एजेन्ट र उसको साथी मिलेर भारतको बाटो हँुदै साउदी पठाएका थिए । 
 
तर उहाँ २ वर्ष ८ महिना पछि घर फर्किंदा न त श्रीमानको साथ थियो, न पैसा नै । छोराहरुले पनि आमा भनेर नै चिनेनन् । त्यही भएर शोभा अहिले आफ्नो भोगाई सुनाउँदै वैदेशिक रोजगारीमा जाने महिलाले नेपालको बाटो प्रयोग गर्नुपर्ने र परिवार व्यवस्थापन कसरी गर्ने भन्ने कुरा सिकाउनुहुन्छ । 
 
सरकारले खाडीका देशमा घरेलु काममा जान रोक लगाएपछि भारतको बाटो हुँदै जानेको सङ्ख्या बढेको छ । जुन कुरा पासपोर्ट बनाउने र श्रम स्वीकृति लिनेको तथ्याङ्क तुलना गर्दा प्रष्ट हुन्छ । अवैधानिक तरिका अपनाएर वैदेशिक रोजगारीमा जाँदा महिलालाई मात्रै होइन पुरुषलाई पनि जोखिम बढी हुन्छ । 
 
यसरी नै समस्यामा परेका व्यक्ति र परिवार धेरै छन् । त्यसैले वैदेशिक रोजगारीका कारण सिर्जना भएका समस्यालाई कम गराउन र रोजगारीलाई सुरक्षित बनाउने विषयमा समयमै सरोकारवाको ध्यान जानुपर्छ भन्छन स्वयमसेवकका रुपमा काम गरिरहेका महिला ।
 
यस्तो काममा वैदेशिक रोजगारीमा गएर अनुभव लिएका कामदारलाई प्रत्येक स्थानीय तहको प्रत्येक वडामा परिचालन गर्न सके प्रभावकारी हुने उनीहरुको भनाई छ । 
 
Published on: 5 March 2018 | Ujyaaloonline

Back to list

;