s

'विदेश जाँदा स्वास्थ्य खराब भयो अनि धेरै पछि परेँ'

धनुषाको बटेश्वर गाउँपालिका—१ चित्रपुरका अरूण महतो एकाबिहानै ठेक्कामा लिन खेतको खोजी गर्दै हिँडेका रहेछन्। धान फल्ने खेत खोज्दै हिँडेका उनी कहिलेकाहीँ मजदुरी पनि गर्छन्। दुई पटक वैदेशिक रोजगारबाट फर्किएका अरूण पछिल्लो समय खेतीपाती तल्लीन छन्।

उनीसँगको कुराकानी :

के गर्नुहुन्छ?

खेती किसानी गर्छु।

कस्तो चलेको तपाईंको खेती ?

अहिले पूरा खेतीपाती छ। गहुँ काटेर छोडदिएको छु। अरू सालजस्तो यसपालि गहुँ पनि उब्जिएन। जबकि पानी, खाद्य सबै राम्रै दिएको थिएँ। ६ कठ्ठा खेतमा गहुँ लगाएको थिएँ। जम्मा १५ कठ्ठा खेत छ। तीन कठ्ठामा उखु लागाएको छु। त्यो पनि पनी नपुगेर सुकिरहेको छ। मकै, घाँस सबै रोपेको छु। हाम्रो गाउँमा धान उब्जिँदैन। त्यसैले धान उब्जिने एक बिघाजति खेत ठेक्कामा लिन खोज्न हिँडेको। खेतीले अरू केही प्रगति गर्न नसके पनि पेट भर्न त भर्न सकिन्छ। भोकै बस्न पर्दैन। कहिलेकाहीँ घरबनाउने ठाउँमा मजदुरी पनि गर्छु।

के गर्दा रमाइलो लाग्छ/ मज्जा आउँछ तपाईंलाई ?

मलाई सधैं घरिपरिवार, गाउँमा बसेर सबैसँग बसेर गफ गर्नमा धेरै मज्जा आउँछ। फिल्म हेर्ने वा अरू कुरा गरेर मनोरञ्जन गर्न खासै मनपर्दैन।

खानामा के मनपर्छ?

दालभात तरकारी। यही खाना सबैभन्दा धेरै मनपर्छ। माछामासु पूर्ति हुने अवस्था पनि छैन र त्यो खाना राम्रो पनि होइन। फेरि नेटमा मैले सुइ लगाएर मासुको तौल बढाउने गरेको सुनेको छु। त्यसले त खराबी मात्रै गर्छ। यहाँ धर्तीमा उब्जाउने चिज मात्रै शुद्ध र ताजा छन्। माछामासुको भरै छैन।

कति छोराछोरी छन्?

दुई छोरा, एक छोरी छन्।

कत्तिको सुख पाउनुभएको छ छोराछोरीबाट?

अहिले सबै सानै छन् । जेठी छोरी ९ कक्षामा पढ्छिन्। छोरा माइला दुई कक्षामा पढ्छन्। उनलाई बोर्डिङमा राखेको छु।

परिवारमा को-को छन्? कत्तिको मेलमिलाप हुन्छ?

आमा बुवा, श्रीमती छोराछोरी छन्। सबैसँग राम्रै मेलमिलाप छ।

स्वास्थ्य कस्तो छ?

अहिले राम्रै छ। ९ वर्ष पहिले विदेश जाँदा स्वास्थ्य खराब भयो। अनि म धेरै पछि परेँ। विदेशबाट यत्तिकै बिरामी परेर फर्केँ। तीन कठ्ठा खेतै बेच्नुपर्यो।

उपचार गर्न?

तीन लाख रूपैयाँ जान लाग्यो। फर्किँदा डेढ लाख खर्च भयो। अनि उपचार र दबाइमा खर्च भयो। विदेशमा कमाउन सकिनँ। काम त दिएकै थियो कम्पनीले तर स्वास्थ्यले नै साथ दिएन। अहिले बालबच्चा ठूला भइसके अब छोडेर पनि जान मिलेन। पैसा त दिन सक्छु तर उनीहरूको आवश्यकता, माया सबै विदेश पसेर पूरा गर्न सकिँदैन। अभिभावक त चाहिन्छ भनेर यतै बसेको छु।

निद्रा कत्तिको आउँछ तपाईंलाई ?

खाना खाने बित्तिकै मलाई ठीक समयमै निद्रा पर्छ।

पछिल्लो समय कहिले र किन खुसी हुनभुभएको थियो, सम्झना छ?

म किसान हो। खेतमा राम्रो फसल उब्जियो भने खुसी हुन्छु। नष्ट हुँदा धेरै दु:खी हुन्छु। गत भदौमा तरकारी उब्जाएको थिएँ। कात्तिक महिनामा काउली धेरै उब्जियो। बच्चालाई पढाउन,परिवार चलाउन केही गाह्रो भएन। दसै रूपैयाँ किलो बेच्दा पनि राम्रो पैसा भयो। दुई वर्षदेखि समयमा पानी नपरेर किसानलाई समस्यै भएको छ।

सबैभन्दा धेरै चित्त कहिले दुख्यो, के कारणले?

चित्त त दुखिरहन्छ। झन् अहिले रौदी (खडेरी) परेको बेला किसानलाई बहुत दुःख भएको छ। नेताहरूले पनि आफ्ना मान्छेलाई मात्र सुविधा दिन्छन् त्यसले पनि मन पिरोल्छ। जतिबेला विदेशबाट फर्केर आएँ म लाचार भइसकेको थिएँ। त्यति बेला म सबैभन्दा धेरै दु:खी भएको थिएँ। त्यस्ता दिन अरू त कति आए गए। यत्रो मिहिनेत गरेर उब्जाएको बाली पनि निलगाईले खाइदिन्छ त्यो बेला पनि दु:ख लाग्छ।

तपाईंको मन केही कुराले पिरोलिरहेको छ कि ? वा केही आशा गरिरहनु भएकाे छ कि?

विदेशमा हरेक किसिमका सुविधा हुन्छन्। किसानलाई सबैभन्दा धेरै मान्छन्। तर यहाँ केही छैन। त्यो सुविधा नेपालमा पनि भइदिए हुन्थ्यो लाग्छ। तरकारी बेच्न जाँदा कुनै रेटै हुन्न। मनपर्दी हुन्छ। त्यो सिस्टममा आइदिए हुन्थ्यो भन्ने लाग्छ। सिँचाइ, बिउबिजन, किटनासक, मलखाद समयमा पाए हुन्थ्यो।

तपाईंको गाउँ टोल कस्तो लाग्छ ?

धेरै राम्रो छ। खानेपानीको सुविधा छ। पिच भएको सडक छ। सबैकुरा राम्रो लाग्छ मलाई।

देशको राजनीति चाहिँ कस्तो लाग्छ तपाईंलाई?

खराबै लाग्छ। त्यस्तो राम्रो केही गरेको देख्दिनँ। जनतालाई सुख-सुविधा हुने काम गरेका छैनन्।

तपाईंलाई कत्तिको चासो छ राजनीतिमा?

मलाई चासो छैन।

देशको नेतामा को-को मनपर्छ?

बालेन मनपर्छ।

कसलाई संसदको चुनावमा भोट दिनुभएको थियो?

एमालेका रघुवीर महासेठलाई।

फेरि चुनाव हुँदा कसलाई भोट दिने सोच्नुभएको छ?

त्यो त जसले राम्रो काम गर्छ उसलाई दिने हो। अहिले नै भन्न सकिन्न।

सरकारले के-के काम गरिदिए हुन्थ्यो लाग्छ ?

ठाउँ-ठाउँमा सिँचाइको व्यवस्था गरिदिनुपर्छ। सरकारी विद्यालयमा सुधार ल्याउनुपर्छ। रोजगारीको व्यवस्था गरिदिनुपर्छ, विदेशबाट फर्केर आएकाहरूलाई काम दिनुपर्छ।

Published on: 3 May 2024 | Setopati

Link

Back to list

;