s

विदेश जाने बढेपछि स्कूलै खाली हुन थाले

युवा संख्या पातलिँदै गइरहेको तराईको ग्रामीण क्षेत्रमा उमेरै नपुगेका किशोरसमेत उमेर थपेर नागरिकता लिँदैछन्। जिल्ला प्रशासन कार्यालयले धनुषाको पूर्वी क्षेत्रमा आयोजित एकीकृत घुम्ती सेवा शिविरमार्फत सोमबार र मंगलबार गरी दुई दिनमा वितरण गरेको दुई सय पाँच नागरिकतामा विद्यालय पढ्ने उमेरका किशोर धेर देखिए।

सात कक्षादेखि दस कक्षासम्मका किशोरको ताँती नै लागेको थियो, नागरिकता रुजु गर्ने अधिकृतका अगाडि। अभिभावकसहित घुम्ती शिविर पुगेकामध्ये करिब ९९ प्रतिशत किशोरले विदेश जानकै लागि नागरिकता चाहिएको प्रतिक्रिया दिए।

विसरभोरा-३ का राजे दास तत्मा भर्खर पाएको नागरिकता लिएर घुम्ती शिविरमै पुगेको निर्वाचन आयोगको मतदाता नामावलीमा नाम चढाउँदै थिए। नागरिकतामा १८ वर्ष उमेर लेखाएका उनको कागजी प्रक्रियामा उमेर बढाइएको आमा उर्मिलादेवी र बाबु परमेश्वरले स्विकारे। 'बाबु, तिमी कति कक्षामा पढ्छौ?' निर्वाचन अधिकृत जानकी कर्णले सोधेपछि छोराले मुख खोल्न नपाउँदै सँगै रहेका आमाबाबुले एकै स्वरमा भने, 'ऊ पढ्दैन हजुर, के गर्ने विदेश पठाउनलाई नागरिकता बनाइदियौं, छाड्दिनुस् हामी गरिब मान्छे!'

शिविरमै भेटिएका मावि शिक्षक रामनरेश यादवका अनुसार ग्रामीण क्षेत्रका उच्च माविमा छात्रको तुलनामा छात्रा संख्या दोब्बर पुगिरहेको बताउँछन्। बीचैमा विद्यालय छाडेर विदेशिने किशोर जमातमा चलेको होडले उच्च माविमा छात्र संख्या न्युन हुँदै गएको यादवको बुझाइ छ।

२०६८ मंसिर २५ देखि धनुषा जिल्ला प्रशासन कार्यालयले वितरण सुरु भएको मेसिन रिडेबल पासपोर्ट (एमआरपी) लिनेको संख्या एक वर्षभित्र साढे पाँच हजार पुगेको छ। तीमध्ये ९५ देखि ९८ प्रतिशत एमआरपी वैदेशिक रोजगारीका लागि प्रयोग भएको दाबी जिल्ला प्रशासन कार्यालयका शाखा अधिकृत श्रवणकुमार साहको छ।

एक गैरसरकारी संस्थाको सर्वेक्षण अनुसार नेपालकै सबैभन्दा धेर मानिस धनुषाबाट विदेशिन्छन्। सर्वेक्षण अनुसार विदेशिनेको संख्या आधारमा दोस्रो झापा र तेस्रो जिल्ला महोत्तरी हो।

जिल्ला प्रशासन कार्यालयको तथ्यांक अनुसार धनुसाबाट रोजगारीको सिलसिलामा विदेश गएकाको संख्या ७६ हजार नाघेको छ। मलेसिया, कुवेत, दुबई, कतार र साउदीलाई यहाँका युवाले रोजगारीका लागि मुख्य गन्तव्य ठान्छन्।

Published on: 12 December 2012 | Nagarik

Back to list

;