s

विदेश जानै नपाई भिसा सकिँदै

मुलुकका विभिन्न भागमा लगातार भइरहेको बन्दले वैदेशिक रोजगारीमा जाने कामदार राजधानी आउन नसक्दा उनीहरुको भिसाको समय सकिएको छ। विदेशी कम्पनीहरुबाट भिसा आए पनि तराई क्षेत्रमा दिनहुँ भइरहेको बन्दका कारण रोजगारीमा जाने युवा राजधानीमा आउन सकेका छैनन्। 

रुपन्देहीका राजेन्द्रप्रसाद काहार, रामबृज काहार, सिराहाका राजाराम महतो, सुर्खेतका नारायण देवकोटा र पूर्वका केशव कुमाल फ्युजन इन्टरनेसनलमार्फत मलेसिया जाँदै थिए।  

तर, भिसाको समयसम्म उनीहरु राजधानी आउन नसकेको कम्पनीका प्रबन्ध निर्देशक कुमुद खनालले बताए।

'लगातारको बन्दले कामदार आउन नसकेपछि पाँचजनाको भिसाको म्याद सकियो,' खनालले मंगलबार नागरिकसँग भने, 'उनीहरुमात्र होइन बन्दले विदेश जाने हजारौंकामदार समस्यामा परिसकेका छन्।' भिसाको म्याद ६० दिनको हुन्छ। यो म्याद सकिँदा म्यानपावर कम्पनीले एकजनाका लागि ११ हजार रुपैयाँ नोक्सान बेहोर्नुपर्छ।

'प्रति कामदार हामीलाई भिसा प्रक्रियाका लागि झन्डै ११ हजार रुपैयाँ लागेको थियो। हामीलाई यो रकम नोक्सानी भएको छ,' खनालले भने, 'तर कामदारलाई ठूलो मार परेको छ।' खनालका अनुसार कामदारले ऋण खाजेर ल्याएको रकम तोकिएको समयमा जान नपाउँदा ब्याज बढिरहन्छ। बन्दले कामदार आउन नसकेर भिसा मात्रै सकिने समस्यामात्रै भइरहेको छैन यसबाट कामदार छनोट गर्न विदेशबाट रोजगारदाता आउने क्रम पनि रोकिएको छ। एसओएस म्यानपावरका निर्देशक एंव संघका निर्वतमान अध्यक्ष सोमलाल बाटाजुले बन्दले कामदार आउन नसकेर भिसाको म्याद सकिने समस्या बढ्दै गएको बताए।

'भिसा लागे पनि अन्तिम समयमा आउने प्रवृतिले धेरैको म्याद सकिएका छन्,' उनले भने, 'यसले धेरै कम्पनीले नोक्सानी बेहोर्नुपरेको छ।' उनले भिसाको म्याद सकिने समस्यासँगै तोकिएको समयमा कामदार पठाउन नसक्दा नेपालको छवि नै बिग्रिने आशंका गरे।

'विदेशीले नेपाललाई विश्वास गरेर कामदारको माग गरेका हुन्। हामीले बन्दले पठाउन सकेनौं भन्दा त्यसको नकारात्मक असर गर्छ,' बाटाजुले भने, 'यसले वैदेशिक रोजगार पनि समस्यामा पर्नेछ।'

संघका अध्यक्ष बलबहादुर तामाङले जेठ २० गतेसम्म कामदार छनोटको अन्तवार्ता लिन रोकेको जानकारी दिए। 'नयाँ कामदार छनोट गर्न अन्तवार्ता लिने क्रम जेठ २० गतेसम्मलाई रोकेका छौं,' उनले भने, 'विदेशबाट कामदार छनोट गर्न आउनै नसक्ने अवस्था भएकाले रोकेका हौँ।'

उनले वैदेशिक रोजगारमा जाने व्यक्ति प्राय ग्रामीण क्षेत्रका हुने बताउँदै गाउँकै व्यक्ति आउन नसक्ने परिस्थिति आएकाले छनोट रोकेको जानकारी दिए। तामाङले बन्दले कामदार पठाउन नसकेर नेपालमा आएको माग अन्य मुलुकमा जानसक्ने बताए।

'विदेशमा भनेको समयमा कामदार पठाउन सकिएन भने उसले अरु मुलुकबाट कामदार लिन थाल्नेछ,' उनले भने, 'यसले स्वदेशमा रोजगार नपाएर विदेश जाने विकल्प पनि समाप्त हुन्छ।'

फ्युजन म्यानपावर सञ्चालक खनालका अनुसार बन्दले मलेसियाका दुईवटा कम्पनीका रोजगारदाता नेपाल आउन रोकिएका छन्। युरोप्लास्टिक र एसकेआई कर्पोरेसनका छनोटकर्ता नेपाल आउन लागेका थिए। खनालले युरोप्लास्टिकले तत्कालै डेढ सय र एसकेआईले ५० जना कामदार माग गरेको बताए।

'दुई कम्पनीले दुई सयजना कामदारको माग गरेको छ। तर मुलुकको परिस्थिति सहज नभएमा यो कोटा गुम्छ,' उनी भन्छन्। यी दुवै कम्पनीले नेपालीलाई मात्रै रोजगारी दिँदै आएको छ।

वैदेशिक रोजगार विभागका महानिर्देशक काशिराज दाहालले बन्दले पूर्व र अन्तिम स्वीकृतिमा आउने क्रम घटेको बताए। उनका अनुसार बन्द नहुँदा व्यक्तिगत रुपमा जान श्रम स्वीकृति नवीकरण गर्न दैनिक सरदर ८ सयको हाराहारीमा आउनेमा अहिले तीन सयमा झरेको छ । विभागमा जेठ १ गते ७ सय २७ जना श्रम स्वीकृति नवीकरण गर्न आएकोमा मंगलबार(जेठ ९)मा २ सय ६९ मात्रै आएका थिए।

विभागका तथ्यांकमा व्यक्तिगत रुपमा श्रमस्वीकृति लिन आउने युवा जेठ १ गते २ सय ९९ थिए। मंगलबार २३ जनामात्रै आए। म्यानपावरबाट अन्तिम स्वीकृतिका लागि जेठ २ मा ११ सय २८ आएका थिए। मंगलबार १ सय १४ जना आए। दाहालका अनुसार योबाहेक पूर्वस्विकृत लिन आउने संख्यामा पनि घटेर १५ सयको हाराहारीमा छ। बन्द नभएको समयमा पूर्वस्वीकृति लिन तीन हजारको हाराहारीमा म्यानपावरले माग ल्याउने गर्थे।

Published on: 23 May 2012 | Nagarik

Back to list

;