s

विदेश जान छाडेर बाटो खन्दै

शशीधर भण्डारी

गाउँका धेरैजसो युवा सबै ठाकठोकेको जंगलमा छन् । विगत वर्षमा कामका लागि भारत पुग्ने युवा यसपटक सडक खन्न तल्लीन छन् । अन्य जस्तो बस वा ट्रक जान सक्ने सडक होइन, उनीहरू मोटरसाइकलसम्म पुग्ने साँघुरो बाटो खन्दै छन् ।

प्युठान नगरपालिका–५ चान्जामा बाइक लैजानका लागि सडक अत्यावश्यक रहेको स्थानीय धनकुमारी जिसीले बताइन् । ‘सधैँ देश(विदेश) जाने लङसरा(लोग्ने मान्छे) आजकाल गाउँमा बाटो लेन जंगलमा बसिर बाटो खन्डै हुनुहोन्छ,’ स्थानीय भाषामै उनले भनिन्,‘के गर्नु सबैको अब्बा छ, त्यही बाटो आन्छकी भन्ने आस लाएछ ।’
 
दसैँ–तिहारमा घर आएका गाउँका युवा अहिलेसम्म भारत फर्किएका छैनन् । जंगलमै क्याम्प बनाएर भए पनि बाटो निर्माण गर्ने र त्यसपछि मात्रै काममा फर्कने उनीहरूको योजना छ ।
 
नगरपालिकाको पदमार्ग, स्थानीयको सडक
 
चान्जावासीसम्म पुग्न सुविधासम्पन्न गोरेटो बाटोसमेत छैन । त्यसैले प्युठान नगरपालिकाले पदमार्गका लागि भन्दै बजेट विनियोजन गरेको थियो । प्युठान नगरपालिकाका जनप्रतिनिधि त्यतिवेला चान्जा पुगेका थिए, जतिवेला बाटोको अभावमा भित्ता छोप्दै हिँड्नुपर्ने अवस्था थियो ।
 
त्यसैले, नगरपालिकाले सुविधासम्पन्न पैदलमार्ग निर्माणका लागि १२ लाख रुपैयाँ बजेट छुट्यायो । स्थानीयले पैदलमार्ग मात्रै नभएर घरसम्म मोटरसाइल पुर्‍याउने गरी सडक खनिरहेका छन् । १३ कात्तिकदेखि बाटो खन्न स्थानीय चान्जा छाडेर जंगलमा आएका हुन् ।
 
अनिवार्य एक घर एकजना परिवारको सदस्य बाटो खन्न आउनुपर्ने नियम बनाएर निर्माण कार्य थालनी गरिएको जुम्रीकाँडा–लिस्ने–ठाकठोके–चान्जा पदमार्ग निर्माण उपभोक्ता समितिका अध्यक्ष किमबहादुर घर्तीमगरले बताए । ‘जिप पुग्न सडक नभए पनि मोटरसाइकलसम्म गुड्न मिल्ने बाटो बनाउन जुटेका छौँ,’ उनले भने ।
 
चिन्जामा २३ घरधुरी छन् । मेसिन, डोजर, स्काभेटरलगायत आधुनिक सामग्री प्रयोग गर्दा बजेट बढ्ने भएकाले गाउँका युवादेखि वृद्धसम्म बाटो खन्न जुटेका छन् । गैँती, झेम्पल, कोदाली, साप्लो लिएर खुससाथ सडक निर्माणमा आउने गरेको वडाध्यक्ष लक्ष्मण भण्डारीले बताए ।
 
‘चान्जाको खुसी मात्रै होइन, पैदलमार्गले जनयुद्ध कालको अवषेशका रूपमा रहेको लिस्ने स्तम्भ पनि सँगै जोडेको छ,’ भण्डारीले भने, ‘मेसिनलाई दिने खर्चसमेत आफैँ राख्ने भएपछि आफ्नो गाउँका लागि परेको बजेट आफ्नै आम्दानीको स्रोत बन्यो ।
 
हिँड्ने बाटो पनि बन्ने, पैसा पनि कमाइने, ऐतिहासिक लिस्नेलाई युद्ध पर्यटनका रूपमा पनि विकास गर्न सकिने भएपछि स्थानीय खुसी छन् ।’ स्थानीयले प्रतिदिन साढे ५ सय रुपैयाँ ज्यालामा काम गर्दै आएको उनले बताए ।
 
पर्यटक लैजाने लक्ष्य
 
स्थानीय कला र संस्कृति, वन्यजन्तु र वातावरणीय अध्ययनलगायत थुप्रै सम्भावना बोकेको चान्जा र लिस्नेमा पर्यटकीय क्षेत्रको विकास गर्ने उद्देश्यले पैदलमार्गका लागि बजेट विनियोजन गरिएको प्युठान नगरपालिकाका प्रमुख अर्जुनकुमार कक्षपतीले बताए । प्राविधिक मूल्यांकन गरी बजेट नपुगे थप बजेट विनियोजन गरेरै भए पनि चान्जावासीलाई पैदलमार्ग बनाइदिने उनले बताए ।
 
‘जुम्रीकाँडा ठुलोगाउँदेखि चान्जा करिब ६ किमिको दूरीमा पर्छ,’ कक्षपतीले भने । ‘मोटरबाटो तत्काल सम्भव नभएका कारण टड्कारो आवश्यकता पैदलमार्ग ठानेर यसमा बजेट विनियोजन गरेका छौँ ।’ अन्यत्र मोटरबाटो, पिच गर्न, सडक फराकिलो बनाउन माग गरिरहँदा २८ भदौमा चान्जामा पुगेको प्युठान नगरपालिकाले प्रथम नगर बैठक गर्दा चान्जावासीले पैदलमार्गको माग गरेका थिए । घना जंगलबीच रहेको यो बस्ती पर्यटकका लागि आकर्षक गन्तव्य बन्न सक्ने उनी बताउँछन् ।
 
Published on: 20 January 2018 | Naya Patrika

Back to list

;