s

विदेश गएका श्रमिकमा मिर्गौलाको जोखिम अधिक

वैदेशिक रोजगारीमा गएका नेपाली श्रमिकमा मिर्गौलासम्बन्धी समस्या अधिक हुने गरेको पाइएको छ । नेपाली आप्रवासीहरूमा मिर्गाैला रोगसम्बन्धी अध्ययन नतिजा २०२३ सार्वजनिक गर्दै बेलायतस्थित वर्नमथ विश्वविद्यालयले यस्तो नतिजा प्रकाशन गरेको हो ।

बेलायतस्थित वर्नमथ विश्वविद्यालयको नेतृत्वमा धनुषाको लक्ष्मीनियाँ गाउँपालिका र छिरेश्वरनाथ नगरपालिकामा गरेको अध्ययनले खाडी मुलुक र मलेसियामा कार्यरत नेपालीमा मिर्गौलासम्बन्धी रोग लाग्ने खतरा देखाएको हो । विश्वविद्यालयले आइओएम, मधेश प्रदेश सरकार र ग्रिनतारा नेपालसँगको साझेदारीमा गत मार्च, अप्रिल र मे महिनामा अध्ययन गरेको विश्वविद्यालयका प्रा.डा. निर्मल अर्यालले जानकारी दिए । अध्ययनमा एक वर्षभित्र खाडीका ६ मुलुक कतार, साउदी अरब, कुबेत, ओमान, युएई, बहराइन र मलेसियामा काम गरी फर्किएका सात सय १८ जना पुरुष श्रमिकसँग कुराकानी गरिएको छ । साथै, स्थानीय नौ हजार तीन सय ७९ पुरुष र तीन सय ४१ महिलाबीच तुलना गरिएको छ ।

फर्केका श्रमिक उच्च रक्तचाप, मधुमेह र मोटोपनाबाट ग्रसित

वर्नमथ विश्वविद्यालयले गरेको अध्ययनअनुसार वैदेशिक रोजगारीबाट फर्केका श्रमिकमा उच्च रक्तताप, मधुमेह तथा मोटोपनाको समस्या अधिक भएको पाइएको छ । विश्वविद्यालयले वैदेशिक रोजगारीमा नगएका स्थानीय, पूर्ववैदेशिक रोजगार श्रमिक र वैदेशिक रोजगारीबाट फर्केको एक वर्ष पनि नभएका मानिसलाई अध्ययनमा समेटेको थियो । अध्ययनले तुलनात्मक रूपमा वैदेशिक रोजगारीबाट फर्केका मानिसमा उच्च रक्तचाप, मधुमेह र मोटोपनाको समस्या बढी देखाएको छ । त्यस्तै, कहिल्यै रोजगारीमा नगएका मानिसको तुलनामा वैदेशिक रोजगारीमा गएर फर्केको श्रमिकमा पनि बढी यस्तो समस्या देखिएको विश्वविद्यालयका प्रा.डा. अर्यालले बताए ।

अध्ययनले खाडी मुलुक र मलेसियाबाट फर्किएका र स्थानीयको तुलनामा उच्च रक्तचाप आप्रवासीमा ३८ प्रतिशत, गैरआप्रवासीमा १९.४ प्रतिशत पाइएको छ । त्यस्तै, मधुमेह आप्रवासीमा ७.४ प्रतिशत, गैरआप्रवासी ४.७ प्रतिशत र मोटोपन आप्रवासी ६७.४ प्रतिशत, गैरआप्रवासी ४९ प्रतिशतको पाइएको छ । यसले आप्रवासी श्रमिकमा उच्च रक्तचाप, मधुमेह र मोटोपनाको जोखिम निकै बढी रहेको देखिएको छ । त्यस्तै, गैरआप्रवासी पुरुषहरूमा मात्रै उच्च रक्तचाप, मधुमेह र बढी तौल वा मोटोपन क्रमशः २१.८, ५९.२, ३९.४ प्रतिशतमा देखिएको छ । रक्सी सेवन, धूमपान, सुर्ती सेवन भने गैरआप्रवासीहरू पुरुषहरूमा बढी देखिएको अध्ययनले देखाएको छ ।

दैनिक १० घन्टा काम गर्छन् नेपाली श्रमिक

वर्नमथ विश्वविद्यालयले गरेको अध्ययनअनुसार वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकले दैनिक ११ घन्टाभन्दा बढी काम गर्छन् । अधिकांश सेक्युरिटी गार्डमा काम गर्ने श्रमिक लगातार ११ घन्टाभन्दा बढी समय खट्ने गरेको उनीहरूले बताएका छन् । एकैपटक लामो समय ड्युटी गर्दा श्रमिकमा बढी स्वास्थ्य समस्या देखिने अध्ययनको अनुमान छ ।
अध्ययनले खाडीमुलुक र मलेसियामा कार्यरत नेपालीहरूको कार्य–अवस्थासम्बन्धी जानकारी पनि लिएको थियो ।

अध्ययनमा सहभागी करिब २० प्रतिशत कतार, साउदी अरब र मलेसियाका श्रमिकहरू दुईतिहाइभन्दा बढी निर्माण र उद्योग क्षेत्रमा थिए । नेपाली श्रमिकले ३० प्रतिशतले औसतमा महिनाको एक दिन पनि बिदा नलिएको पाइयो । यस्तै, २५.८ प्रतिशतले शारीरिक रूपले भारी र लगभग आधा सहभागीले गर्मीमा काम गर्नुपरेको बताएका थिए । करिब ९७ प्रतिशत आप्रवासी सहभागीले काम गर्ने ठाउँमा पिउने पानी, शौचालयको सुलभ सुविधा रहेको बताए ।

अध्ययन नतिजामा विदेशमा लामो समय काम गरेका र विशेषतः सुरक्षागार्ड र सवारीचालकमा मिर्गौला रोगको समस्या बढी देखिएको छ । यस्तै, बाहिर काम गर्ने, गर्मीमा काम गर्ने र धुलोको सामना गर्नुपर्नेमा पनि मिर्गौला रोगको जोखिम बढी देखिएको छ ।

Published on: 17 October 2023 | Naya Patrika

Link

Back to list

;