s

विदेशबाट फर्किएर व्यावसायिक भैंसीपालन

साउदी अरबमा ८ वर्ष बसेर फर्किएका यहाँका ४३ वर्षीय विशाल केसीले व्यावसायिक भैंसीपालन थालेका छन् । दूध र मासुका लागि उपयोगी हुने भएकाले ४० लाख रुपैयाँ लगानी गरेर भैंसीपालन थालेको केसीले बताए । दुई वर्षअघि ५ वटा भैंसीबाट व्यवसाय सुरु गरेका थिए । यतिखेर उनको गोठमा १९ पाडापाडीसहित ४३ वटा भैंसी छन् ।

दुई साताअघि मात्र उनले ६ लाख ५० हजार रुपैयाँमा १० वटा भैंसी बिक्री गरेको बताए । साउदी अरबमा पनि मासिक ४०/४५ हजार रुपैयाँको जागिर खाँदै आएका उनी स्वदेशमा केही गर्ने मनसाय लिएर फर्केको बताए । 'विदेशमा गरेको श्रम आफ्नै घरपरिवारमा खर्च गरे धेरै कमाउन सकिन्छ भन्ने सोचेर फर्किएँ,' उनले भने, 'सुरुमा गाई पालेको थिएँ । भैंसीबाट दूध र मासु गरी दोहोरो फाइदा लिन सकिने देखेर यता लागेको हुँ ।'

शुक्लागण्डकी १६ घारीतालबेसीका उनले करिब ७ लाख रुपैयाँ खर्चिएर व्यवस्थित गोठसमेत बनाएका छन् । गोठ बनाउन पशु सेवा कार्यालयले प्रोत्साहनस्वरूप ७५ हजार रुपैयाँ दिएको उनले बताए । १ सय ६० रोपनी क्षेत्रफलमध्ये करिब १ सय रोपनीमा उक्त कार्यालयको सहयोगमा उन्नत घाँस लगाएको उनले जानकारी दिए । दैनिक करिब १ सय ५० लिटर दूध पोखरा रामबजारबाट बिक्री गर्दै आएका छन् ।

दूध बिक्रीबाट दैनिक करिब ९ हजार रुपैयाँ हात पर्ने उनले जानकारी दिए । भैंसीका अलावा उनले दुई रोपनी पोखरीमा माछासमेत पालेका छन् । 'स्वादिलो हुने भएपछि भैंसीको दूधको मागअनुसार पुर्‍याउन हम्मेहम्मे परेको छ,' उनले भने, 'अझै भैंसीको संख्या थप्ने योजनामा छु ।'

उनका गोठमा ४० हजारदेखि १ लाख ५० हजार रुपैयासम्म भैंसी छन् । तिनले दैनिक ६ देखि १२ लिटरसम्म दूध दिने गरेको उनले जानकारी दिए । उनको गोठमा निलराफी जातको पाकिस्तानी भैंसी र पाडापाडीसमेत छन् । भैंसीको स्याहार गर्नका लागि मासिक ६ हजार रुपैयाँदेखि १० हजार रुपैयाँसम्म तिर्नेगरी ५ जना कामदारसमेत राखेको उनले बताए ।

Published on: 14 December 2014 | Kantipur

Back to list

;