s

विदेशस्थित संस्था र व्यक्तिबाट ४० करोड सहयोग

विनाशकारी भूकम्पपछि प्रभावित क्षेत्रमा बसोबास गरिरहेकाको उद्धार तथा राहतका लागि विभिन्न देशमा रहेका नेपाली नियोगको पहलमा त्यहाँका सम्बद्ध संघसंस्था तथा व्यक्तिबाट आर्थिक सहयोग आउने क्रम जारी छ । हालसम्म ४० लाख अमेरिकी डलर (४० करोड रुपैयाँ) बराबरको यस्तो सहयोग प्राप्त भइसकेको छ।

परराष्ट्र मन्त्रालयका अनुसार वैशाख ३१ सम्ममा उक्त परिमाण बराबरको आर्थिक सहयोग प्राप्त भएको हो । यसरी प्राप्त सहयोग सम्बन्धित नेपाली नियोगबाट सिधै प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा दाखिला हुनेछ । 

भारत नयाँदिल्लीस्थित अल्जेरियाली दूतावासबाट १० लाख डलर (१० करोड रुपैयाँ) बराबरको नगद सहयोग प्राप्त भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता ताराप्रसाद पोखरेलले जानकारी दिए । त्यसैगरी हङकङ र मकाउ सरकार तथा त्यहाँका विभिन्न संघसंस्थाबाट ५ करोड १४ लाख ५१ हजार ६ सय ३४ हङकङ डलर, १० लाख १२ हजार ८ सय २० अमेरिकी डलर र २ करोड मकाउ पटाका प्राप्त भएको छ ।

थाईल्यान्डको बैंककस्थित कम्बोडिया दूतावासबाट १ लाख डलर, जापान टोकियोस्थित विभिन्न संघसंस्था तथा व्यक्तिबाट ३ करोड ७४ लाख ३९ हजार ८१ जापानी येन प्राप्त भएको छ । कुवेतस्थित नेपाली राजदूत तथा कर्मचारी, कुवेतमा कार्यरत नेपाली तथा विभिन्न संघसंस्थाबाट ५० हजार ५ सय ९५ डलर आएको पोखरेलले बताए । ‘नगद सहयोग आउने क्रम जारी छ,’ पोखरेलले भने ।

त्यसैगरी बंगलादेशका विभिन्न संघ–संस्थाले ६७ लाख ५८ हजार १० बंगलादेशी टाका दिएका छन् ।  उता थाईल्यान्डबाट थाई राजदम्पतीदेखि व्यक्ति र विभिन्न संघसंस्थाको तर्फबाट साढे ५ करोड थाई भाट र २ लाख डलर छुट्टाछुट्टै सहयोग प्राप्त भएको परराष्ट्रले जनाएको छ । 

मन्त्रालयका अनुसार थाई राजदम्पतीबाट व्यक्तिगतरूपमा २ करोड थाई भाट प्राप्त भएको छ । त्यस्तै थाई सरकारबाट २ लाख अमेरिकी डलर, विभिन्न संघसंस्था तथा व्यक्तिबाट २ करोड ३९ लाख ८१ हजार ३ सय ५१ थाई भाट एवं बैंककको सेन्ट्रल वल्र्ड ग्रुप अफ थाईल्यान्ड र विभिन्न व्यक्तिबाट १ करोड १० लाख थाई भाट सहयोग आएको छ । 

बैंककस्थित लाओस दूतावासले १ लाख अमेरिकी डलर दिएको छ । दक्षिण अफ्रिकामा रहेका विभिन्न संघसंस्था र व्यक्तिबाट ५० हजार डलर, दक्षिण कोरियामा रहेका विभिन्न संस्था र व्यक्तिबाट ६ लाख ८७ हजार २ सय ४६ रुपैयाँ पनि प्राप्त भएको मन्त्रालयले जनाएको छ । 

त्यसैगरी चीनमा रहेको नेपाली समुदाय, चिनियाँ संघसंस्था, दातृनिकाय र नागरिकबाट ३ लाख ९९ हजार ८ सय २५ डलर, मलेसियास्थित विभिन्न च्यारिटी संस्थाबाट १ लाख मलेसियन रिंगिट तथा कतारमा रहेका विभिन्न संघसंस्था र नेपाली नागरिकबाट एकमुष्ठ ४३ हजार ८ सय ४० कतारी रियाल प्राप्त भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। 

गत वैशाख १२ मा आएको ७.६ म्याग्निच्युडको विनाशकारी भूकम्पले हालसम्म ८ हजार २ सयभन्दा बढीले ज्यान गुमाइसकेका छन् भने १७ हजारभन्दा बढी घाइते भएका छन् । त्यसको १८ औं दिन पुनः ६.८ म्याग्निच्युडको शक्तिशाली पराकम्पन गएपछि १ सय २५ जनाको मृत्यु भएको थियो भने २ हजारभन्दा बढी घाइते भएका थिए ।

मानवीय क्षतिसँगै ठूलो परिमाणमा भौतिक क्षति पनि भएको छ । विनाशकारी भूकम्पले २ लाख ५० हजार घर पूर्णरूपमा क्षति भएका छन् भने त्यति नै संख्याका घरमा आंशिक क्षति पुगेको छ । त्यसबाट ६ लाख मानिस विस्थापित भएका छन् । 

अर्थ मन्त्रालयले गरेको प्रारम्भिक अनुमानअनुसार विनाशकारी भूकम्पबाट मुलुकको अर्थतन्त्रमा ५ खर्ब रुपैयाँबराबरको क्षति पुगेको छ । त्यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तयार पारेको प्रारम्भिक अनुमानअनुसार विभिन्न सम्पदा स्थल, पदयात्रा मार्ग, होटल, रेस्टुरेन्टलगायत पर्यटन गन्तव्यमा पुगेको क्षति ५ अर्ब रुपैयाँबराबर रहेको छ । यसबाट पर्यटन उद्योगलाई कसरी अगाडि बढाउने भनेर मन्त्रालयले अल्पकालीन र दीर्घकालीन तरिका सार्वजनिक गरिसकेको छ।

Published on: 16 May 2015 | Nagarik

Back to list

;