s

बिदामा आएका कामदारलाई जहाज चार्टर्ड गरी कोरिया पठाइने

कोरोना संक्रमणको जोखिम घट्दै गएपछि बिदामा नेपाल आएका कामदारलाई जहाज चार्टर्ड गरेर कोरिया फर्काइने भएको छ । 

गैरआवासीय नेपाली संघले नेपाल वायुसेवा निगमको वाइडबडी जहाज चार्टर्ड गरी बिदामा आएका नेपाली कामदारलाई कोरिया पठाउने तयारी गरेको हो । संघका अध्यक्ष कुमार पन्तका अनुसार जहाज चार्टर्डका लागि कानुनी प्रक्रिया अगाडि बढाइसकिएको छ । 

पहिलो चरणमा १० लाख रुपैयाँ धरौटीसहित मंगलबार प्रारम्भिक सम्झौता भएको छ । विमान चार्टर्ड भाडा २ करोड रुपैयाँका लागि संघ ग्यारेन्टी बसिदिने भएको छ । प्रक्रिया पूरा भएपछि अर्को साताभित्रै कामदार कोरिया उडाइने संघले जनाएको छ । निगमका अनुसार जहाज १ लाख ९७ हजार डलरमा चार्टर्ड गरिएको हो । 

गत आइतबार बसेको मन्त्रिपरिषद् बैठकले पनि बिदामा आएका कामदार स्वेच्छाले आफ्नो काममा फर्किन सक्ने निर्णय गरेको थियो । कामदारहरूले आफ्नै खर्चमा फर्किन सक्ने श्रम मन्त्रालयका प्रवक्ता सुमन घिमिरेले बताए । फर्किन चाहने कामदारले नेपालमै स्वास्थ्य परीक्षण गर्नुपर्नेछ । त्यसपछि मात्रै कोरिया पठाइनेछ । त्यहाँ पनि स्वास्थ्य परीक्षण हुनेछ र १४ दिन क्वारेन्टाइनमा बस्नुपर्नेछ । 

वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालका अनुसार हाल बिदामा आएका २ सय ६६ कामदार सम्पर्कमा आएका छन् । यो संख्या बढ्ने क्रममा छ । संघका अनुसार कोरियाबाट बिदामा आउनेको संख्या १ हजार ३ जना रहेको छ ।

Published on: 29 April 2020 | Nayapatrika

Link

Back to list

;