s

बिदामा फर्केकाको समेत श्रम स्वीकृति रोकियो

होम कार्की

संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले घरेलु कामदारसम्बन्धी निर्देशिका कार्यान्वयनमा प्रतिबन्ध लगाएपछि श्रम मन्त्रालयले सबै प्रकारका घरेलु कामदारको श्रम स्वीकृति रोकेको हो । खाडीमा कार्यरत घरेलु कामदार (हाउसमेड) लाई पुन: सोही ठाउँ फर्कन नपाउने गरी सरकारले पुन: श्रम स्वीकृति दिन प्रतिबन्ध लगाएको छ । यो निर्णयले बिदामा आएका कामदार कार्यस्थल फर्कनबाट वञ्चित भएका छन् । 

यो निर्णयले खाडीमा कार्यरत झन्डै एक लाख घरेलु कामदार प्रभावित बनेका छन् । भारतीय बाटो वा नेपालकै विमानस्थलमा सेटिङ गरी उनीहरू विभिन्न खाडी मुलुक पुगेका थिए । नेपाली दूतावासका अनुसार कुवेतमा २३ हजार, साउदी अरबमा ३५ हजार, ओमनमा ८ हजार, लेबनानमा ८ हजार, इराकमा २० हजार, यूएईमा १५ हजार, बहराइनमा १० हजार र कतारमा ३ हजार हाउसमेड कार्यरत रहेको अनुमान छ । वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डेले दूतावासको पत्र बोकेर आएका हाउसमेडको समेत श्रम स्वीकृति रोकिएको बताए । ‘खाडीमा घरेलु कामदार पठाउन रोकिएको छ,’ उनले भने, ‘पुन: श्रम स्वीकृतिमा जाने महिला कामदार पनि रोकिएका छन् ।’ विभागले श्रम स्वीकृति नलिई अवैध बाटो खाडी मुलुक गएका महिला कामदार बिदामा आएका बेला वैध बनाउन पुन: श्रम स्वीकृति दिने व्यवस्था थियो । पुन: सोही देश जानुपरे विभागले दूतावासको सिफारिस खोज्दै आएको थियो । पुन: श्रम स्वीकृति लिने प्रक्रियामा चलखेल गरी जाँदै नगएकाले पनि लिन थालेपछि विभागले बन्द गरेको हो । 

हाउसमेड महिलाले सरकारी निर्णयप्रति आपत्ति जनाउँदै घरेलु कामदार प्रतिबन्ध हटाउन माग गरेका छन् । सरकारले आफ्नो रोजगारी खोसेर परिवार पाल्ने दायित्वबाट वञ्चित गरेको उनीहरूले बताए । ‘घरेलु काममा आएका सबै पीडित भएका छैनन् । सबै घर उस्तै हुँदैन, जुन राम्रो छ, त्यही घरमा काम गर्ने हो,’ ओमनमा १८ वर्षदेखि कार्यरत झापाकी शारदा कार्कीले भनिन्, ‘यो प्रतिबन्धले हामीमाथि ठूलो अन्याय भएको छ । हाम्रो गरिखाने आधार खोसिएको छ ।’

Published on: 12 April 2017 | Kantipur

Back to list

;