s

‘बिदामा नेपाल आएका कामदार कोरिया जान सक्छन’

मुकुन्द गैरे

काठमाडौ, फागुन १४ गते । विदामा नेपाल गएका कोरियामा कार्यरत नेपालीले चीन र हङकङको बाटो बाहेक अन्य बाटोमा भएर कोरिया आउन सक्ने बताइएको छ ।

कोरियाली अध्यागमन कानुन सम्बन्धी जानकार किम ग्वांङ हो (बारान नोमुसा) ले कोरियाली सरकारले ईपिएस कामदार सम्बन्धी नयाँ नियम लागु नगरेकोले विदामा नेपाल गएका कामदार अन्यबाटो भएर कोरिया आउन सक्ने बताउनुभयो ।

बुधवार नेपाली राजदूतावास, सियोलको सहयोग र एनआरएनए कोरिया समन्वयमा दक्षिण कोरियामा कोरोना भाईरसको पछिल्लो अवस्था र आवश्यक सावधानी सम्बन्धी बिशेष छलफल कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनु भएको हो ।

एनआरएनए कोरियाको आधिकारी फेसबुमा लाइभ गरिएको सो छलफलमा उहाँले कोरियाली रोजगारदाताहरूलाई कामदार चाहिएकोले कोरोनाको बढी संक्रमण भएको ठाउँबाट अर्को संक्रमण कम भएको ठाउँमा गएर पनि नेपालीले काम गर्न सक्ने जानकारी दिनुभयो ।

कोरियामा काम गर्दै आएका विदेशी कामदारको भिसाको म्याद सकिएको हकमा रोजगारदाताको आवश्यकता ठानेमा ५० दिन भिसा थप्ने प्रावधान भएको पनि रहेको उहाँले स्पष्ट पार्नुभयो ।

सो अवसरमा दक्षिण कोरियाको लागि कार्यवहाक नेपाली राजदूत रामसिंह थापाले कोरियामा रहेका नेपालीलाई स्वदेश पठाउने वा राख्ने कुरा कोरिया सरकारको निर्णय अनुसार हुने बताउनुभएको छ ।

कोरियाली सरकारले नेपालीलाई आफनो देश पठाउने विषयमा कुनै निर्णय नलिएको जानकारी दिनुभयो । कार्यवहाक राजदूत थापाले नेपाली नागरिक स्वदेश पठाउने अवस्था आए के गर्ने भन्ने विषयमा यहाँको कानुन बारे जानकारी लिइरहेको बताउनुभयो ।

कुनै पनि नेपाली नागरिकलाई संक्रमण देखा परे स्वदेश पठाउने बिषय पनि कोरियाली सरकारको निर्णय अनुसार हुने स्पष्ट पार्नुभयो ।
कोरियाली सरकारले कोरोना भाइरस संक्रमण कम गर्न सवै संयन्त्र परिचालन गरिएको जानकारी दिँदै एक हप्ता भित्र संक्रमण कम गर्ने हिसावले काम भईरहेको समेत बताउनुभयो ।

कोरियामा रहेका नेपाली नागरिकको सम्बन्धमा नेपाल सरकारले जस्तै कोरियाली सरकारले पनि आफना नागरिकलाई जतिकै ख्याल राखेको समेत उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “कोरियाली सरकार र कोरियामा रहेको नेपाली राजदुतावासले संक्रमण फैलन नदिन नेपालीहरुलाई सचेत रहन विभिन्न कार्यक्रम गरिरहेको छ ।”

“कोरोना भाईरस कोरियाको मात्र समस्या होइन विश्वव्यापी समस्या हो यसलाई नियन्त्रण गर्न यहाँको सरकार यसमा केन्द्रित छ नेपालीलाई अहिले नै स्वदेश पर्काउने अवस्था आउँदैन”, राजदूत थापाको भनाइ थियो ।

कोरियाको थेगुको अस्पतालमा कार्यरत नेपाली डाक्टर डा. राजेशचन्द्र जोशीले बढी उमेर भएका मानिसलाई संक्रमण सर्ने बढी खतरा भएकोले होसियार हुन जरुरी रहेको जानकारी दिनुभयो । कोरियामा रहेका नेपाली कामदारलाई कसैलाई संक्रमणको पुष्टी नभएको जानकारी समेत दिनुभयो । संक्रमण हुनबाट बच्न इम्यूनिटी पावर बढाउने खालका खानेकुरा खान र मास्क प्रयोग गर्न समेत सल्लाह दिनुभयो ।

Published on: 27 February 2020 | Gorkhapatra

Link

Back to list

;