s

विभिन्न बहानामा रकम असुल्दै म्यानपावर

दीपेन्द्र अधिकारी

केही महिनाअघि राप्ती गँड्यौलीकी कल्पना चेपाङ कुवेत जाने तयारीमा थिइन् । उनले नारायणगढकै एक म्यानपावरमा पासर्पोट र नागरिकता बुझाइन् । म्यानपावर सञ्चालकले उनीसँग प्रहरी रिपोर्ट बनाउन दुई हजार पाँच सय र मेडिकल रिपोर्टका लागि चार हजार ६ सय रुपैयाँ लिएका थिए ।आवश्यक कागजात बुझाइसक्दा पनि केही महिना झुलाएपछि कल्पना सहायताका लागि पिपुल फोरमको कार्यालय भरतपुरमा पुगिन् । वैदेशिक रोजगारीमा गएका र जाने तयारीमा रहेका, तर म्यानपावर र एजेन्टबाट पीडित बनेकाहरूका लागि निःशुल्क सहयोग गर्दै आएको यस संस्थाले सम्बन्धित म्यानपावरसँग सोधपुछ ग-यो । सोधपुछको तीन दिनभित्र कल्पनाका सबै कागजात र पैसा फिर्ता भएको कानुनी सहायता अधिकृत सूर्य बोहराले बताए ।

त्यस्तै, एक युवकले घरछेउकै चिनजानका दाइलाई साउदी अरब जान एक लाख ३० हजार रुपैयाँ बुझाए । राम्रो सेवासुविधा पाउने आशामा २२ वर्षको उमेरमा खाडी मुलुक गएका ती युवक तीन महिनामा घर फर्किए । कारण थियो– भनिएजस्तो सेवासुविधा त्यहाँ रहेनछ । फरक काम, कम तलबजस्ता समस्या झेल्नुपरेपछि ती युवक पिपुल फोरमको कार्यालयमा सहायताका लागि आइपुगे ।
 
फ्री भिसा र फ्री टिकट भनिए पनि एक लाख ३० हजार बुझाएर अरब पुगेको तीन महिनामै असन्तुष्र्ट भई नेपाल फर्केका ती युवकका लागि यस कार्यालयले न्यायको पहल ग-यो । अन्ततः कार्यालय युवालाई ९० हजार रुपैयाँ फर्काउन सफल भयो ।
 
कार्यालयका अनुसार सन् २०१६/०१७ मा वैदेशिक रोजगारीमा ठगिएका सम्बन्धमा नौ सय ४० उजुरी परेका छन् । जसमा तीन सय ४१ महिला पीडित भएको र पाँच सय ९९ पुरुष पीडित भएको उजुरी रहेका छन् ।सन् २०१८ मा मात्रै एक सयको हाराहारीमा ठगीका उजुरी परेको कानुनी सहायता अधिकृत बोहराले जानकारी दिए ।
 
‘वैदेशिक रोजगारीमा जानेहरू कोही न कोही कतै न कतै ठगिएका हुन्छन्,’ बोहराले भने, ‘कतिपयले अति पीडा भएपछि न्यायका लागि यहाँसम्म आउने गर्छन्, कतिपय गाउँघरमै चुप लागेर बस्ने गर्छन् ।’
 
विभिन्न रिपोर्ट बनाउने, भिसा छिटो झर्ने, राम्रो काम पाउने, ओभरटाइम काम गर्न पाउने बहानामा म्यानपावर सञ्चालक र एजेन्टहरूले वैदेशिक रोजगारीमा जानेहरूलाई ठगिरहेका हुन्छन् । हाल सरकारले अधिकतम १० हजार रुपैयाँसम्म सेवाशुल्क लिन मिल्ने भने पनि म्यानपावर सञ्चालकले औसत एक लाखको हाराहारीमा रकम लिइरहेका छन् ।
 
Published on: 25 May 2018 | Naya Patrika

Back to list

;