s

विभागमा परेको उजुरी कर्मचारी र व्यवसायीको टाउकोदुखाइ

वैदेशिक रोजगार विभागमा परेका उजुरी कसरी फस्र्योट गर्ने भन्ने विषय अहिले विभाग र वैदेशिक रोजगार व्यवसायीको टाउको दुखाइको विषय बनेको छ । वैदेशिक रोजगार विभागमा संस्थागत र व्यक्तिगत गरी हालसम्म सयौं उजुरी रहेका छन् ।
 
विभागका महानिर्देशकको समेत जिम्मेवारी सम्हालेका राजकुमार श्रेष्ठले आफ्नो जिम्मेवारीको अन्तिम दिन सोमबार विभागमा बढ्दो उजुरी फस्र्योट गर्ने सम्बन्धमा छलफल गर्न नेपाल वैदेशिक रोजगार व्यवसायी संघलाई आमन्त्रण गरे तर त्यसअघि नै मन्त्रालयले उनको जिम्मेवारी हटाएका कारण उनी छलफलमा सहभागी भएनन् । विभागका महानिर्देशक परिवर्तन भए तर पनि उजुरी फस्र्योटको पेचिलो काम यथावत् रहेको छ ।
 
सोमबार विभागमा भएको छलफलमा समस्याको गहिराइ बुझ्ने प्रयास भए पनि समाधानको ठोस उपाय पत्ता लाग्न सकेन । व्यवसायीहरुका अनुसार विभागले आन्तरिक कार्यविधिका आधारमा गठन गरेको मेलमिलाप समिति, वैदेशिक रोजगारका पीडित कामदारहरुको उद्धार गर्ने नाममा सञ्चालित गैरसरकारी संस्था तथा विदेशस्थित विचौलिया विभागमा उजुरी बढाउने प्रमुख खलपात्रका रुपमा देखापरेका छन् ।
 
संघको तर्फबाट विभागमा उजुरी हेर्ने जिम्मा पाएका द्वितीय उपाध्यक्ष भूवनसिंह गुरुङ मेलमिलापको नाममा बाहिरी पक्ष प्रभावी भएका कारण विभागमा वर्षौंदेखिका उजुरी फस्र्योट हुन सकेका छैनन् । उनी भन्छन्, ‘पीडित कामदारको नाममा पीडित तथा परामर्श संघले विभागको महानिर्देशकलाई धम्क्याउने गरेको छ । नेपालका केही गैरसरकारी संस्थाले कामदारलाई उचालेर विभाग पठाएका छन् भने मलेसियामा कोपरासी नामको संस्था नै कम्पनीमा काम गरिरहेका कामदार अवैध बनाएर नेपाल पठाउन सक्रिय भएर लागेको अवस्था छ ।’
 
विभागकी निर्देशक रमा भट्टराईका अनुसार आफूखुशी कम्पनी छाडेर बसेका, ओभर स्टे भएका र परिवारको आग्रहमा नेपाल फर्काइएका तर नेपाल आउना साथ उजुरी परेका घटना धेरै छन् । रोजगारीका लागि साउदी अरब गएका कामदारहरुको समस्या बढेको छ । कच्चा तेलको अन्तराष्ट्रिय बजारमा आएको मन्दीले धेरै कम्पनीले समयमै तलब दिएका छैनन् । त्यस अतिरिक्त कम्पनी टुट्ने, कम्पनीको मुदीर भाग्ने आदि कारण कामदार अलपत्र परेर उद्धारको लागि उजुरी बढेका छन् । विभागका सूचना अधिकारी मोहन अधिकारीका अनुसार समस्या दुई प्रकारका छन् । संस्थागत रुपमा विदेशमा करार अनुसार तलब नपाउने, समयमा कामदारलाई रिसिभ नगर्ने, मेडिकल फेल हुने, कम्पनी भनेर सप्लाइमा पठाउने र दर्ता विनाका एजेन्टले ठग्ने जस्ता समस्या गम्भीर छन् ।
 
विभागका अनुसन्धान अधिकृत पूर्णबहादुर थापा भने कतिपय म्यानपावर कम्पनीका कारण उजुरी फस्र्योट हुन समय लागेको बताउँछन् । उनी भन्छन्, ‘अलपत्र परेका कामदारलाई जतिसक्दो चाँडो ल्याउने भनिन्छ । तर समय नतोकिंदा म्यानपावर कम्पनीले टेर्न छोडेका कारण समस्या छ ।’
 
थापाका अनुसार विभाग बोलाउँदा म्यानपावर कम्पनीका सञ्चालकले पोखरामा छु भनेर जवाफ दिने गरेका छन् तर म्यानपावरको काम कारबाही रोक्का गरे मेरा कम्पनीको काम किन रोकिस् भनेर पाखुरा सुर्कंदै टुप्लुक्क विभाग आउने गर्छन् । उनले भने, ‘इगल हन्टर भन्ने म्यानपावर कम्पनीले अफिसमा केटालाई पठाइदिनहोस् यही मिलाउँछु भन्यो, पठाउँदा उल्टै पीडितलाई कुटेर पठाएको छ । पीडितलाई म्यानपावर पठाएर कुटाएजस्तो भयो । म्यानपावरले रेस्पोन्स गर्दैनन् बिजुलीबजारबाट विभाग आउन ५ घण्टा लगाएका छन् । विभागको रेस्पोन्स नभए कारोबार रोक्का हुनेछ । थापाले रसिद मात्र नभई विभागले म्यानपावर कम्पनीलाई रकम पठाएको बैंक भौचरबाट पनि उजुरी लिन शुरु गरेको छ ।
 
तर, संघका पदाधिकारीहरु भने विभागले सानोतिनो उजुरीकै आधारमा कम्पनीको कारोबार रोक्का राख्ने र प्रमाणविना पनि उजुरी लिएर कम्पनीलाई तनाव दिने बताउछन् । संघका कार्यवाहक अध्यक्ष रामप्रसाद भान्तनाले मेलमिलापको कुरा सजिला तर विकृति बढेको भन्दै विभागले परिस्थिति नबुझी म्यानपावर कम्पनीको कारोबार रोक्का गर्दा समस्या परेको बताए । उनले भने, ‘स्थिति कस्तो हो हेर्नुपर्यो । कामदार अलपत्र पर्नुमा नेपाली दूतावासको भूमिका, कामदार स्वयंको भूमिका हेर्नुपर्नेमा त्यसो गरिएको छैन । साउदीमा कम्पनीमा काम एउटा पद अर्का गरी ब्लकमा डिमाण्ड र भिषा आएको छ । मेडिकल र ओरियन्टेशन सहित मलेसियामा बायोमेट्रिक र जिएस्सीले समस्यामा पारेको छ तर म्यानपावरलाई मात्र समाएर भएन ।’
 
संघका कानूनी सल्लाहकार शम्भु निरौलाले विभागको काम कारबाहीमा पारदर्शिताको आवश्यकता रहेको बताए । उनले भने, ‘साउदीमा समस्या छ, म्यानपावरको कारोबार रोक्का राखेर समस्या हल हुँदैन । मेडिकल फेल भएको अवस्थामा मेडिकललाई समाउनु पर्यो । जाहेरी पनि परिवार वाहेक बाहिरबाट र कानून विपरीत कागजको उजुरी लिनु भएन । व्यवसायीलाई वारेन्ट गर्नु भएन । अनुसन्धानमा अधिकृतले बिचौलिया चिन्न जरुरी भएको छ ।’
 
published on: 14 February 2018 | Madhyanha 

Back to list

;