s

विभागमा झण्डै आधा अर्ब दाबीका ठगी उजुरी कायमै

रेशमराज पौडेल
 
वैदेशिक रोजगार विभागमा हाल ४४ करोड रुपैयाँभन्दा बढी वैदेशिक रोजगार ठगीको उजुरी देखिएको छ । विभागले माघ मसान्तसम्म तयार पारेको विवरण अनुसार संस्थागत अर्थात् म्यानपावर र व्यक्तिगततर्फ गरी ४ सय ७२ वटा उजुरीमा उक्त विगो दाबी देखिएको हो ।
 
जसमा व्यक्तिगत ठगीतर्फ ३२ करोडभन्दा बढी र संस्थागत अर्थात् म्यानपावर कम्पनीतर्फ करीब १२ करोड रुपैयाँको बीगो फछौंट हुन बाँकी छ । दुबैतर्फ गरी ५७ करोड ९४ लाख ३९ हजार रुपैयाँको उजुरी परेकोमा माघ मसान्तसम्म १३ करोड ६६ लाख २९ हजार ६ सय ९१ रुपैयाँ फर्छौट भई ४४ करोड २८ रुपैयाँ बराबरको बीगो फर्छौट हुन बाँकी देखिएको हो । गत वर्षसम्म २ हजार २ सयको संख्यामा झण्डै ५८ करोड रुपैयाँसम्म उजुरी पुगेको थियो ।
 
हाल संस्थागत अर्थात् म्यानपावर कम्पनीको तुलनामा व्यक्तिगत उजुरी ह्वात्तै बढेका छन् । माघमा संस्थागततर्फ ४१ वटा उजुरी पर्दा व्यक्तिगततर्फ दोब्बर भन्दाबढी ९७ वटा उजुरी परेका थिए । दावी गरिएको विगो चारगुणा बढी देखिएको छ ।
 
माघ मसान्तसम्म म्यानपावर कम्पनीविरुद्ध ५ सय ८६ र व्यक्तिगत ठगीतर्फ ६ सय २८ उजुरी परेका छन् । यी उजुरी विगत वर्षदेखि फर्छौट् हुन नसकी लगत सर्दै आएका हुन् । संस्थागततर्फ हालसम्म १५ करोड ५५ लाख ५३ हजार बीगो दाबी गरिएकोमा  ३ करोड ३९ लाख  ७४ हजार फर्छौट भएको छ भने व्यक्तिगततर्फ ६ सय २८ उजुरीमा ४२ करोड ३८ लाख ८६ हजार बराबर बीगो दाबी गर्दै उजुरी परेकोमा १० करोड २६ लाख  ५५ हजार रुपैयाँ फर्छौट भएको छ ।
 
माघ महिनामा संस्थागत तर्फ ४१ र व्यक्तिगत तर्फ ९७ गरी १ सय ३८ वटा उजुरीमा ११ करोड ५९ लाख ४१ हजार रुपैयाँ बीगो दाबी गरिएको छ । संस्थागत तर्फका ४१ वटा उजुरीमा ४४ लाख १३ हजार बीगो दाबी गरिएको छ । बाँकी ८ करोड ८६ लाख ७८ हजार व्यक्तिगत उजुरीका हुन् । विभागले माघ महिनामा संस्थागततर्फ ४४ लाख १३ हजार रुपैयाँ असुल उपर गराइदिएको छ भने व्यक्तिगततर्फ २ करोड ५ लाख ७६ हजार रुपैयाँ असुलउपर गराइदिएको छ ।
 
फर्छौट भएका उजुरीमा धेरै पुराना उजुरी पनि छन् । माघ महिनामा विभागले कामदारको रकम नतिर्ने २१ जना विरुद्ध ३ करोड ३८ लाख ६६ हजार बीगो कायम गरी वैदेशिक रोजगार ऐन २०६४ अनुसार सजाय दाबी गर्दै वैदेशिक रोजगार न्यायाधीकरणमा वैदेशिक रोजगार ठगी मुद्दा दायर गरेको छ । त्यस अवधिमा विभागले कुनैपनि म्यानपावर कम्पनीलाई वैदेशिक रोजगार न्यायाधीकरणमा ठगी मुद्धा दायर गरेको छैन । उजुरी परेपछि म्यानपावर विभाग गई मिलापत्रका आधारमा कामदारको रकम फिर्ता गर्ने गरेका छन् ।
 
विभागले विगत केही समय यता उजुरी फर्छौट गराउने क्रमलाई तीव्रता दिएको बताएको छ ।  केही समय अघिदेखि विभागले सकेसम्म मेलमिलापको माध्यम अपनाई कामदारको फसेको रकम असुल उपर गराइदिने गरेको छ । त्यसरी रकम असुल उपर गराउँदा म्यानपावर कम्पनीमाथि अनावश्यक दबाब दिइने गरेको नेपाल वैदेशिक रोजगार व्यवसायी संघको गुनासो छ । विभागले माघ महिनामा विभिन्न म्यानपावर कम्पनीलाई २३ लाख ५० हजार रुपैयाँ जरीवाना गरेको छ । तर कुन–कुन म्यानपावर कम्पनीलाई जरीवाना गरिएको हो खुलाइएको छैन ।
 
हालसम्म व्यक्तिगत ठगीका १८ करोड ३७ लाख १२ हजार ४ सय ६५ रुपैयाँ बरावरको बीगो दाबीका १ सय २२ मुद्दा अदालतमा रहेका छन् । बढ्दो उजुरी विभाग र व्यवसायीबीच टाउको दुखाईको विषय बनीरहेको छ । यसै महिनाको शुरुमा विभागका तत्कालीन महानिर्देशक राजकुमार श्रेष्ठले आफ्नो जिम्मेवारीको अन्तिम दिन विभागमा बढ्दो उजुरी फर्छौट् गर्ने विषयमा नेपाल वैदेशिक रोजगार व्यवसायी संघलाई आमन्त्रण गरेर छलफल गराएका थिए । तर, उजुरी फर्छौट गर्ने विषयमा ठोस दृष्टिकोण बनेन ।
 
व्यवसायीहरुले लेनदेन कारोबारका विषय नमिलेपछि छिटो रकम उठाउन त्यसभित्र वैदेशिक रोजगार विषय घुसाएर विभागमा उजुरी गर्ने र वैदेशिक रोजगारमा गएको कामदारलाई अनेक प्रलोभन देखाएर विभागमा उजुरी गर्न लगाएका कारण उजुरीको संख्या बढी रहेको बताएका छन् ।
 
विभागले मेलमिलापका माध्यमबाट उजुरी फर्छौट गर्ने गरेको छ तर व्यवसयीहरुले भने विभागमा मेलमिलाप भए पैसा पाइन्छ भन्ने लोभमा समेत प्रमाण विना नै उजुरी हाल्ने गरेको बताएका छन् ।
 
त्यस्तै, कामदारलाई अमेरिका, क्यानडा र अष्टे«लिया पठाउने भनेर मोटो रकम लिएर ठग्ने प्रवृत्ति पनि देखिएको छ ।  विभागमा एकै व्यक्तिले ७२ लाख ठगिएको दाबी गर्दै उजुरी दिएको समेत देखिएको छ । कतिपय उजुरीमा विभागले सम्पति शुद्धीकरण विभागमा पत्र लेखी दाबी गरिएको रकमको श्रोत खोज्न आग्रह गर्न थालेको छ । नेपाल राष्ट्र बैकले दश लाखभन्दा बढीको काराबार चेकमार्फत् गर्नुपर्ने निर्देशन दिएको छ । तर, लाखौं ठगिएको दाबी गर्नेहरुले ठग्ने व्यक्तिलाई नगदै दिएको दाबी गर्ने गरेका छन् । नेपाली युवाहरुलाई विभिन्न मुलुक पठाउने म्यानपावर कम्पनी, एजेन्ट, कन्सलटेन्सी र व्यक्तिगत रुपमा रकम ठगी भएको दावी सहितका उजुरी विभागमा पर्ने गरेका छन् ।
 
Published on: 23 February 2018 | Madhyanha

Back to list

;