s

विभागले छाडेका सिंह गौशालामा थुनिए

पीडितले रकम पाउने आशमा उजुरी फिर्ता लिएपछि बजाज ओभरसिजका म्यानेजर राम सिंहलाई वैदेशिक रोजगार विभागले छोडेको भएपनि पीडित युवाहरुको आग्रहमा गौशाला प्रहरीले सिंहलाई पुनः नियन्त्रणमा राखेको छ ।
 
आकर्षक तलबसहित कुवेत पठाउने भन्दै नेपाली युवासँग २० हजारदेखि १ लाख ६० हजार रुपैयाँसम्म असुलेर विदेश नपठाएपछि यस अघि खारेज भइसकेको म्यानपावर व्यवसायीका कथित म्यानेजर सिंहलाई युवाहरूकै पहलमा पक्राउ गरि वैदेशिक रोजगार विभाग ल्याउन लगाएका थिए । खारेज भइसकेको म्यानपावरका पूर्व सञ्चालक भने उमेश कटुवाल हुन् । उनी फरार भएका छन् । उक्त म्यानपावर खारेज हुनु अघि सो म्यानपावर जुनु राउतको नाममा रहेको थियो ।
 
करीव दुई सयको संख्यामा युवाहरू विभागको कार्यालय बुद्धनगर आएको भएपनि उजुरी भने दुई जनाले मात्र दिएका थिए । पीडितले उजुरी फिर्ता गरेपछि विभागले सिंहलाई छाडेको थियो । सिंहले म्यानपावरको कार्यालय गौशालामा नै राफसाप पार्ने भन्दै युवाहरुलाई आफ्नो कार्यालय बोलाएका थिए । साँझ अवेरसम्म पनि समस्या समाधानको टुंगो नलागेपछि पीडितहरुले शुक्रबार विहान आफूहरुको रोहबरमा छोड्ने भन्दै प्रहरीलाई जिम्मा लगाएको एक पीडितले बताए । ठगको छाला काड्छौं भन्दै दुई दिनसम्म विभाग घेरेका पीडितहरु ठग भनिएका सिंहकै पछि लागेका थिए । केही पिडितले भने सरकारी कार्यालयले नै न्याय नदिएको भन्दै आक्रोस पोख्दै आएका थिए ।
 
कुवेतको ग्लोबल एक्सन कम्पनीमा २ सय केडी करीब ५५ हजार नेपाली रुपैयाँ तलबसहित काममा पठाउनेभन्दै सिंहले ३ सय नेपाली युवाबाट पैसा असुलेको बताइएको छ । तर, सबै पीडितहरु विभाग आएका थिएनन् ।
 
Published on: 23 March 2018 | Madhyanha

Back to list

;