s

विभागको महानिर्देशकमा आचार्य

श्रम तथा रोजगार मन्त्रालयले मन्त्रालयका सहसचिव एवं प्रवक्ता भुवनप्रसाद आचार्यलाई विभागको महानिर्देशक नियुक्त गरेको छ । नवनियुक्त महानिर्देशक आचार्यले सोमबार नै बुद्धनगरस्थिगत विभागको कार्यकक्षमा पदवहाली गरे । मध्यान्ह राष्ट्रिय दैनिकले आफ्नो सोमबारको अंकमा विभागमा महानिर्देशक फेर्ने तयारी भएको समाचार सार्वजनिक गरेको थियो ।
 
नवनियुक्त महानिर्देशक आचार्यलाई विभागका निर्देशकद्वय रमा भट्टराई तथा मोहन अधिकारी लगायत विभागका कर्मचारीले स्वागत गरे । विभागमा नयाँ महानिर्देशक पठाउने विषयमा श्रम तथा रोजगार मन्त्री फरमुल्लाह मन्सुरले आइतबार नै सहमति दिएका थिए ।
 
महानिर्देशकको जिम्मेवारी सम्हालेपछि महानिर्देशक आचार्यले विभागलाई ऐन कानुन अनुसार मर्यादित एवं पारदर्शी रुपमा प्रशासनिक नेतृत्व प्रदान गर्ने बताए । विभागमा रहेका उजुरी फस्र्योट सम्बन्धमा छलफल गर्न आफ्नो प्रतिनिधिमण्डल सहित पुगेका नेपाल वैदेशिक रोजगार व्यवसायी संघका कार्यवाहक अध्यक्ष रामप्रसाद भान्तनाले पनि कार्यकाल सफलताको कामना गर्दै संघका तर्फबाट समन्वय र सहकार्यका लागि तयार रहेको बताए ।
 
विभागका तत्कालीन महानिर्देशक विश्वराज पाण्डे भ्रष्टाचारको अभियोगमा पक्राउ परेपछि करीब डेढ महिनाअघि मन्त्रालय अन्तर्गतको सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक राजकुमार श्रेष्ठलाई विभागको पनि महानिर्देशक भई काम गर्ने जिम्मा दिई पठाइएको थियो ।
 
सामाजिक सुरक्षा कोषको कार्यकारी निर्देशकसँगै विभागको महानिर्देशकको जिम्मेवारी पाए पनि श्रेष्ठले दैनिक प्रशासन सञ्चालन तथा अभिमुखीकरण तालिम संस्थाहरुको अनुगमन गर्ने बाहेक उल्लेखनीय प्रशासनिक निर्णय गरेका थिएनन् । नवनियुक्त महानिर्देशक आचार्यले यस विषयमा बुझेपछि मात्र टिप्पणी गर्ने बताए ।
 
एक उच्च स्रोतका अनुसार महानिर्देशक श्रेष्ठलाई मन्त्रालयबाट विभिन्न दबाब र हस्ताक्षेप आउन थालेको थियो । महानिर्देशक श्रेष्ठले मन्त्रालयसमक्ष आफूलाई दुईवटा निकायको जिम्मेवारी नदिई कुनै एउटाको पूर्ण जिम्मेवारी दिए काम गर्न सजिलो हुने अन्यथा विभागमा काम गर्न आफू इच्छुक नभएको भन्ने जनाउ दिएको मन्त्रालय स्रोतले बतायो । महानिर्देशक श्रेष्ठ खासगरी नयाँ म्यानपावरको इजाजत दिन इच्छुक नदेखिएपछि सेवाग्राहीहरुको दबाब मन्त्री र सचिवसम्म पुगेको थियो । मन्त्रालयबाटै नयाँ म्यानपावर दर्ताबारे विशेष निर्णय र निर्देशन नभएको र आफू बदनाम हुने देखेपछि महानिर्देशक श्रेष्ठले नयाँ म्यानपावर दर्ता प्रक्रियालाई पन्छाउँदै लगेका थिए ।
 
बढी अनियमितता हुने सार्वजनिक कार्यालयका रुपमा चर्चित हुने विभागमा नयाँ महानिर्देशकको कार्यकुशलतालाई मन्त्रालयदेखि अख्तियारसम्मले अत्यन्तै नजकिबाट नियाल्ने गरेका छन् । पछिल्लो पटक महानिर्देशक नै भ्रष्टाचारको मामिलामा तानिनुले नयाँ महानिर्देशकले अपनाउने पारदर्शिता र कार्य कुशलतामा धेरैको चासो देखिएको छ ।
 
Published on: 13 February 2018 | Madhyanha

Back to list

;