s

विभागको महानिर्देशक फेर्ने तयारी

श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगार विभागमा नयाँ महानिर्देशक पठाउने तयारी गरेको छ । श्रम तथा रोजगार मन्त्री फरमुल्लाह मन्सुर मन्त्रालयका सहसचिव एवं प्रवक्ता भूवनप्रसाद आचार्यलाई विभागको महानिर्देशक नियुक्त गर्न सहमत भएको बताइएको छ ।
 
विभागका तत्कालीन महानिर्देशक विश्वराज पाण्डे भ्रष्टाचारको अभियोगमा पक्राउ परेपछि करीब डेढ महिना अघि मन्त्रालय अन्तरगतको सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक राजकुमार श्रेष्ठलाई विभागको पनि महानिर्देशक भई काम गर्ने जिम्मा दिइ पठाइएको थियो । सामाजिक सुरक्षा कोषको कार्यकारी निर्देशकसंगै विभागको महानिर्देशकको जिम्मेवारी पाए पनि श्रेष्ठले प्रशासनिक तथा अनुगमन वाहेक उल्लेखनीय प्रशासनिक निर्णय गरेका थिएनन् । उनले तत्कालीन महानिर्देशक पाण्डेले धरौटी बुझाउन आदेश दिएको वाहेक नयाँ दर्ताका लागि आवेदन दिने म्यानपावर कम्पनीलाई दर्ता दिने र धरौटी माग्ने निर्णय नगरेको विभागका एक कर्मचारी बताएका छन् ।
 
एक उच्च सूत्रका अनुसार महानिर्देशक श्रेष्ठलाई मन्त्रालयबाट विभिन्न दबाब र हस्ताक्षेप आउन थालेको थियो । महानिर्देशक श्रेष्ठले मन्त्रालयसमक्ष आफूलाई दुईवटा निकायको जिम्मेवारी नदिई कुनै एउटाको पूर्ण जिम्मेवारी दिए काम गर्न सजिलो हुने अन्यथा विभागमा काम गर्न आफू इच्छुक नभएको भन्ने जनाउ दिएको मन्त्रालय स्रोतले बतायो । महानिर्देशक श्रेष्ठ खासगरी नयाँ म्यानपावरको ईजाजत दिन इच्छुक नदेखिएपछि सेवाग्राहीहरुको दबाब मन्त्री र सचिवसम्म पुगेको थियो । मन्त्रालयबाटै नयाँ म्यानपावर दर्ताबारे विशेष निर्णय र निर्देशन नभएको र आफू बदनाम हुने देखेपछि महानिर्देशक श्रेष्ठले नयाँ म्यानपावर दर्ता प्रक्रियालाई पन्छ्याउँदै लगेका थिए । तर, त्यो पनि लामो समय पन्छाइरहन सक्ने अवस्था थिएन । सम्भवतः महानिर्देशकले जिम्मेवारी पन्छाएको महशुस सचिव र मन्त्रीलाई भयो र महानिर्देशक फेर्ने तय भयो ।
 
बढी अनियमितता हुने सार्वजनिक कार्यालयका रुपमा चर्चित हुने विभागमा नयाँ महानिर्देशकको कार्यकुशलतालाई मन्त्रालयदेखि अख्तियारसम्मले अत्यन्तै नजकिबाट नियाल्ने अवस्था रहेको छ । विगतमा विभाग मातहतका कर्मचारी अख्तियारद्वारा पक्राउ पर्नु र पछिल्लो पटक महानिर्देशक नै भ्रष्टाचारको मामिलामा तानिनुले नयाँ महानिर्देशकले अपनाउने पारदर्शिता र कार्य कुशलतामा धेरैको चासो देखिएको छ ।
 
Published on: 12 February 2018 | Madhyanha

Back to list

;