s

विभागका कर्मचारी घुससहित पक्राउ

वैदेशिक रोजगार विभागका एक कर्मचारी घुससहित पक्राउ परेका छन् । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्णराज बिष्टले वैदेशिक रोजगार क्षेत्रका बेथिति समाप्त पार्ने भन्दै विभिन्न निर्णयहरु गरिरहेको बेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले विभागका शाखा अधिकृत रामप्रसाद ढुंगानालाई बिहीबार पक्राउ गरेको हो ।
 
ढुंगाना ५० हजार घुससहित पक्राउ परेका हुन् । पछिल्लो समय विभागबाट ढुंगानाले विभिन्न म्यानपावरलाई फोन गर्दै तपाईहरुको यो फाइल मिलेन, यो बिज्ञापन मिलेन भन्दै व्यवसायीहरुलाई अनावश्यक दुःख दिने गरेको एक व्यवसायीले बताए । पक्राउ परेका ढुंगानामाथि अनुसन्धान थालेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता रामेश्वर दंगालले जनाए ।
 
विहीबार दिउँसो कार्यालय बाहिर गएका अधिकृत ढुंगाना साँझ साढे चार बजेपछि विभागको बुद्धनगरस्थित कार्यालय प्रवेश गरेको केही क्षणमै अख्तियारको घेराबन्दीमा परेका थिए । विगत डेढ बर्षदेखि विभागको अनुगमन शाखामा कार्यरत रहेका अधिकृत ढुंगाना विभागले गर्ने अनुगमन लगायतका सूचना चुहाएर आर्थिक लाभ लिने गरेको कर्मचारीहरु बताउँछन् । विभागले गर्ने निर्णयको टिप्पणीसहित फोटो कपी गरेर उनले सम्बन्धित व्यक्तिलाई दिएर आर्थिक लाभ लिने गरेको समेत श्रोतले बतायो ।
 
Published on: 15 June 2018 | Madhyanha

Back to list

;