s

विभागमा हाकिमहरुको नयाँ सेट

वैदेशिक रोजगार विभागमा महानिर्देशकदेखि निर्देशकहरुको सेट नै नयाँ हुने भएको छ । संयोग कस्तो परेको छ भने हाल श्रम तथा रोजगार मन्त्रालयका नाममा रहेको मन्त्रालय मन्त्रालयहरुको सम्भावित पुनःसंरचनामा उद्योग वाणिज्य, आपूर्ति तथा श्रम मन्त्रालय नामाकरण हुनेछ । संघीय प्रशासनिक पुनःसंरचना समितिले प्रदेशमा ७ र केन्द्रमा १५ मन्त्रालय प्रस्ताव गरेको छ । मन्त्रालयमा मन्त्री पनि नयाँ नियुक्त हुँदैछन् ।
 
मन्त्रालय अन्तरगतको सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक राजकुमार श्रेष्ठ वैदेशिक रोजगार विभागको महानिर्देशकको जिम्मेवारीबाट फिर्ता भएपछि मन्त्रालयका तत्कालीन प्रवक्ता एवं सहसचिव भुवनप्रसाद आचार्य गत फागुन १ गतेदेखि विभागको नयाँ महानिर्देशकको जिम्मेवारीमा गएका छन् ।
 
विभागका नयाँ महानिर्देशकले काम थाल्न शुरु गर्नासाथ विभागको उद्धार तथा राहत शाखाकी निर्देशक रमा भट्टराई बुधबार विभागबाट मन्त्रालय सरुवा भएकी छन् भने उनको स्थानमा ताहचलमा कार्यरत उपसचिव शशिकुमार लम्साल गएका छन् । लम्साल ताहचलमा कतार शाखा प्रमुख थिए । विभागको काठमाडौं कार्यालय ताहाचल र विभागमा लामो समय काम गरेकी निर्देशक भट्टराई वैदेशिक रोजगार भित्रका समस्या बुझ्ने र समाधान पहिल्याउने क्षमता राख्ने मध्ये पर्दथिन् ।
 
हाल विभागका सूचना अधिकारी समेत जिम्मेवारीमा रहेका निर्देशक मोहन अधिकारी पनि सरुवा मिलाई विभाग छोड्ने योजनामा रहेको स्रोतले बतायो । विभागबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोग काजमा गई पुनः विभाग आएका निर्देशक अधिकारीको विभाग बसाई धेरै लामो भइसकेको छैन । अधिकारी पनि वैदेशिक रोजगार क्षेत्रलाई बुझेका प्रशासक मानिन्छन् ।
 
विभागको उजुरी तथा अनुसन्धान शाखाका निर्देशक गत माघ २० गतेदेखि नै रिक्त रहेको छ । तत्कालीन निर्देशक गोविन्दप्रसाद उपाध्यय उमेर हदका कारण अवकाश लिई बिदा भएपछि करिव २० दिनदेखि विभागको उक्त निर्देशक पद रिक्त रहेको हो । नयाँ निर्देशक नहुँदा विभागमा पर्ने उजुरी फर्छौट्मा दबाब परेको अन्य कर्मचारीहरु बताइरहेका छन् ।
 
विभागको उजुरी तथा अनुसन्धान शाखा भएपनि उक्त शाखामा जाने उपसचिव महान्यायाधिवक्ता कार्यलयका उपसचिव हुन् । उपाध्यायले अवकास लिएपछि रिक्त रहेको निर्देशक पद पूर्ति गर्न तत्कालीन महानिर्देशक श्रेष्ठले महान्यायधिवक्ताको कार्यालयमा आग्रह गरेको भएपनि महान्यायधिवक्ता कार्यालयले नयाँ सरकार गठनपछि नयाँ महान्यायाधिवक्ता आउने र उनले नयाँ निर्देशक पठाउने जवाफ दिएको थियो ।
 
वर्तमान सरकारले नियुक्त गरेका महान्याधिवक्ता अग्नि खरेलले बुधबार पद वहाली गरेका छन् । उनको वहालीपछि नयाँ निर्देशक जाने आकलन गरिएको छ । विभागमा एक हप्ता अघि गएका महानिर्देशक आचार्य नयाँ आउने श्रममन्त्री पछि पनि कायमै रहन्छन् कि फेरिन्छन् ? त्यो भने स्पष्ट भएको छैन ।
 
Published on: 22 February 2018 | Madhyanha

Back to list

;